मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
कृष्ण रिजाल काठमाडाैं
२o८३ असोज १४ बुधबार o८:o४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३ : ब्रोकरलाई चार श्रेणीमा वर्गीकरण, कम्पनीको प्रमुख सेयरधनीको सीमा तोकिने 

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार o८:o४:oo

धितोपत्र ब्रोकरलाई चार श्रेणीमा वर्गीकरण गर्दै नियन्त्रण (सेयर स्वामित्व)को सीमासमेत तोकिने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायीको वित्तीय, संस्थागत, प्राविधिक तथा व्यावसायिक क्षमता थप सुदृढ गर्ने गरी यस्तो नीति लिने भएको हो ।

सेबोनले ब्रोकरको वर्गीकरण गर्ने, न्यूनतम चुक्ता पुँजी तोक्ने, मर्जरमा सहजीकरण गर्ने, कम्पनीमा एकै व्यक्ति वा समूहको नियन्त्रण (सेयर स्वामित्व) अधिक नहुने गरी सीमा तोक्ने, सञ्चालकको योग्यता तोक्ने, फरक–फरक व्यवसायका लागि छुट्टै अनुमति लिनुपर्नेलगायत व्यवस्थासहितको ‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ जारी गरेको हो । हालको सानो आकार, सीमित सेवा तथा व्यक्तिकेन्द्रित व्यवस्थापनमा आधारित धितोपत्र दलाल व्यवसायलाई क्रमशः सुधार तथा विकास गर्दै बलियो र आधुनिक बनाउन नयाँ नीति तर्जुमा गरिएको सेबोनले उल्लेख गरेको छ । 

अर्थ मन्त्रालयले घोषणा गरेको ‘पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को बुँदा नं ३ मा ‘धितोपत्र दलाल व्यवसायको संस्थागत सुधार तथा सुदृढीकरण नीति बोर्डले तत्काल सार्वजनिक गर्ने’ उल्लेख थियो । सोहीअनुरूप बोर्डले धितोपत्र दलाल व्यवसायलाई पर्याप्त पुँजी, व्यावसायिक व्यवस्थापन, आधुनिक प्रविधि, सबल जोखिम व्यवस्थापन तथा विविधीकृत धितोपत्रसम्बन्धी सेवा प्रदान गर्न सक्षम बजार मध्यस्थकर्ताका रूपमा विकास गर्ने उद्देश्यले सुदृढीकरण नीति लागू गरिएको बोर्डका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेले जानकारी दिए । धितोपत्र दलाल व्यवसायीलाई केवल धितोपत्रको खरिद–बिक्री आदेश कार्यान्वयन गर्ने संस्थाका रूपमा मात्र सीमित नराखी पूर्ण विकसित धितोपत्र बजार मध्यस्थकर्ताका रूपमा क्रमशः विकास गर्ने दृष्टिकोणसहित नयाँ नीति ल्याएको बोर्डले उल्लेख गरेको छ ।

नीतिले दलाल व्यवसायीको न्यूनतम चुक्ता पुँजीसँगै जोखिममा आधारित पुँजी पर्याप्तता कायम गर्नुपर्ने व्यवस्था गरेको छ । प्रविधि र साइबर सुरक्षातर्फ डिजिटल केवाइसी, मल्टी–फ्याक्टर अथेन्टिकेसन, अर्डर तथा जोखिम व्यवस्थापन प्रणाली, साइबर सुरक्षा संरचना, नियमित आइटी अडिट र पेनिट्रेसन–टेस्टिङलाई अनिवार्य बनाउने प्रस्ताव गरिएको छ । धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति तीन चरण ः संस्थागत सुदृढीकरण, बजार सेवा विस्तार र एकीकृत धितोपत्र मध्यस्थता प्रणालीको विकासअनुसार क्रमशः कार्यान्वयन गरिने उनले बताए । 

यसरी गरिँदै छ ब्रोकरको वर्गीकरण 
नीतिअनुसार धितोपत्र दलाल व्यवसायीलाई पुँजी, जोखिम बहन क्षमता, सेवा विविधीकरण र संस्थागत क्षमताका आधारमा चार श्रेणीमा वर्गीकरण गरिएको छ । 

श्रेणी ‘क’मा धितोपत्र व्यापारी (स्टक डिलर), ‘ख’मा पूर्ण सेवा धितोपत्र दलाल (फुल सर्भिस स्टक ब्रोकर), ‘ग’मा कारोबारमुखी धितोपत्र दलाल (ट्रेडिङ स्टक ब्रोकर) र ‘घ’मा विशिष्टीकृत धितोपत्र दलाल (स्पेसलाइज्ड स्टक ब्रोकर) रहने नीतिमा उल्लेख छ ।

‘क’ र ‘ख’ श्रेणीका धितोपत्र दलाल व्यवसायीको प्रवेश मापदण्डअन्तर्गत पर्याप्त चुक्ता पुँजी, निर्धारित नेटवर्थ तथा पुँजी पर्याप्तता, पर्याप्त तरल सम्पत्ति, योग्य सेयरधनी, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, स्वतन्त्र जोखिम तथा अनुपालना कार्य, पर्याप्त सूचना प्रविधि पूर्वाधार, साइबर सेक्युरिटी फ्रेमवर्क, विपत्पछिको व्यवसाय निरन्तरताको योजना र आन्तरिक नियन्त्रण प्रणाली अनिवार्य हुने नीतिमा उल्लेख छ ।

‘ग श्रेणीका धितोपत्र दलाल व्यवसायी मुख्यतः ग्राहकको आदेश कार्यान्वयनमा केन्द्रित हुनेछन् र यस संस्थाका लागि न्यूनतम चुक्ता पुँजी, नेटवर्थ, योग्य व्यवस्थापन, आधारभूत सुशासन, सूचना प्रविधि पूर्वाधार, ग्राहक संरक्षण, अनुपालना प्रणाली र आन्तरिक नियन्त्रण प्रणालीको व्यवस्था अनिवार्य गरिनेछ । अतिरिक्त स्वीकृति नलिई यो श्रेणीका व्यवसायीले उच्च जोखिमयुक्त वित्तीय गतिविधि सञ्चालन गर्न पाउनेछैनन्,’ नीतिमा उल्लेख छ ।

↑