वसन्तपुरस्थित हनुमानढोकापरिसरमा रहेको जलासन नारायणको मन्दिर र ऐतिहासिक तथा कलात्मक त्रिशूल चोक ०७२ देखि बन्द छ । बुढानीलकण्ठस्थित नारायणथानमा रहेको मन्दिरजत्तिकै महत्वपूर्ण मानिने सो मन्दिरपरिसरमा ११ वर्षदेखि प्रवेश रोक लगाइएको छ । जलासन मुद्रामा राखिएको मन्दिर र मूर्ति वर्षौँदेखि बन्द हुँदा ओझेलमा परेको छ । त्यस्तै, कैयौँ कलात्मक बुट्टाले कुँदिएको त्रिशूल चोक र तलेजु मन्दिर पनि सर्वसाधारणको लागि बन्द नै छ ।
भूकम्पपछि त्यहाँका ऐतिहासिक सामग्री चोरी हुन सक्ने भन्दै सुरक्षा संवेदनशीलता देखाएर यो स्थान पूर्ण रूपमा बन्द गरिएको थियो । त्यसअघि पनि नियमित खुला हुँदैनथ्यो । मन्दिर क्षेत्र खुला गर्न र सर्वसाधारणलाई प्रवेश दिन सम्पदाप्रेमी यादवलाल कायस्थले पटक–पटक पुरातत्व विभाग, पर्यटन मन्त्रालय र काठमाडौं महानगरपालिकाको समेत ध्यानाकर्षण गराएका छन् । तैपनि मन्दिर खुला गरिएको छैन । ‘त्यो मन्दिर ऐतिहासिक र अद्भुत मन्दिर हो, तर त्यहाँ सर्वसाधारण जानै पाउँदैनन् । यदि यो मन्दिर खुला हुन्थ्यो भने यहाँ पर्यटक बढ्ने, आम्दानी बढ्थ्यो, तर धेरै मानिसलाई त्यहाँको नारायण मन्दिर र भित्री चोकबारे थाहा छैन,’ कायस्थले भने, ‘सम्पदा क्षेत्रलाई लुकाएर होइन, उजागर गरेर संरक्षण र प्रवर्द्धन गर्न सकिन्छ, यसले पर्यटक आवागमनसमेत बढी हुन्छ ।’ उनले आफूले पटक–पटक मन्दिर र भित्री चोक खुला गर्न आवाज उठाउँदै आए पनि त्यसलाई बेवास्ता गरिएको गुनासो गरे ।
पुरातत्व विभागका प्रवक्ता तथा प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले नारायण मन्दिर र त्रिशूल चोक खुलाउने विषयमा छलफल भइरहेको बताए । ‘त्यो ऐतिहासिक ठाउँ सर्वसाधारणलाई पनि खुला गर्नुपर्छ भनेर छलफल भइरहेको छ, यसलाई कसरी खुला गर्न सकिन्छ भनेर समन्वय गरिरहेका छौँ, कतिपय कुरा धार्मिक मान्यताका कारण पनि केही कुरा सार्वजनिक नगर्ने कि भन्ने तर्कहरू पनि आइरहेका छन्,’ उनले भने, ‘यस क्षेत्रमा नेपाली सेनाको शार्दूलजंग गुल्म बस्छ, यो सांस्कृतिक सेना हो, उपत्यकाभित्र हुने पर्वहरूमा यही सेना प्रयोग हुन्छ, त्यसैले उक्त स्थानमा सेनालाई पनि बस्ने ठाउँ दिनुपर्ने अवस्था छ, अर्कातिर सम्पदा खुला गर्नुपर्ने अवस्था पनि छ ।’