नेपालमा मुटुरोगको अवस्था कस्तो छ ?
नेपालमा मुटुरोगको अवस्था बिस्तारै भयावह बन्दै गएको छ । यस वर्ष मंगलबार मनाइएको मुटु दिवसको मुख्य नारा ‘कुनै पनि धड्कनलाई नछुटाउmँ’ भन्ने रहेको छ । मुटुरोग भयावह बन्दै गएको हुनाले मुटुरोगको संकेत चिनेर समयमै उपचार गर्नुपर्छ । संसारमा नसर्ने रोगका कारण हुने मृत्युको मुख्य कारण मुटुरोग पनि हो । नेपालमा मुटुरोग लाग्नुका धेरै कारण जीवनशैलीसँग सम्बन्धित छन् । हाल चालको गडबडीबाट मुटु फेल हुने जोखिम नेपालमा बढिरहेको छ । यसको मुख्य कारण धूमपान र अस्वस्थ जीवनशैली नै हो । हामीकहाँ मुटुको रक्तनली बन्द हुने समस्या पनि बढिरहेको छ ।
हामीकहाँ मुटुरोग किन बढिरहेको होला ?
मुटुरोग हामीकहाँ मात्र होइन, संसारभर नै बढिरहेको छ । खासगरी सहरिया जीवनशैलीसँगै मानिसको शारीरिक सक्रियता कम हुँदै गएको छ । आजका व्यस्त मानिसलाई पैदल हिँड्ने, व्यायाम गर्ने फुर्सद कम हुँदै गएको छ । खानपिनमा पनि मानिस लापरबाह हुँदै गएका छन् । धूमपान, मदिरा सेवन आदि पनि बढिरहेकै छ । यी सबै कारणले मुटुरोग बढ्नमा सघाइरहेका छन् ।
हामीले कसरी बचाउन सक्छौँ त हाम्रो मुटुलाई ?
मुटुलाई बचाउन सर्वप्रथम हामीले मुटुरोगका संकेतबारे समयमै सचेत हुनुपर्छ । छाती भारीपन हुने र सास फेर्न कठिन हुने अवस्थामा विशेष ख्याल पुर्याउनुपर्छ । मुटुरोगको संकेत सबैले समयमै चिन्न सक्नुपर्छ । मुटुलाई बचाउन स्वास्थ्यका मापदण्ड इमानदारीपूर्वक पालना गर्नुपर्छ । साथै, हाम्रो आहारविहारसम्बन्धी व्यवहार राम्रो हुनुपर्छ । हामीले मुटुलाई स्वस्थ राख्न स्वस्थ, स्वच्छ र ताजा खानेकुरा खानुपर्छ । चिल्लोपिरो धेरै खानुहुँदैन । धेरै गुलियो र नुनिलो पनि नखानु राम्रो हुन्छ । खानपिनमा सुधार गर्नुका साथै दैनिक व्यायाम पनि गर्नुपर्छ । नियमित हिँड्ने बानीले पनि मुटुलाई स्वस्थ राख्न सघाउँछ । धूमपान र सुर्तीजन्य पदार्थको सेवनबाट टाढै बस्नुपर्छ ।