मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १४ बुधबार o७:२३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण तय गरेर फर्किँदै राजदूत श्रीवास्तव

बिहीबार दिल्ली जानुअघि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग बिदाइ भेट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार o७:२३:oo

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव कार्यकाल सकेर बिहीबार नयाँ दिल्ली फर्किँदै छन् । श्रीवास्तवले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री बालेन्द्र शाहसँग बेग्लाबेग्लै बिदाइ भेट गरेका छन् । उनले भारतीय विदेश सेवाबाटै बिहीबारदेखि अवकाश पाउँदै छन् ।

श्रीवास्तव प्रधानमन्त्री शाहको भारत भ्रमण टुंग्याएर फर्किन लागेका छन् । प्रधानमन्त्री शाहले मंसिर पहिलो साता भारत भ्रमण गर्ने तय भइसकेको छ । प्रधानमन्त्री शाह ७ र ८ मंसिरमा भारत जाने तय गरेर श्रीवास्तवको कार्यकाल सकिएको छ । ‘उहाँको पालामा प्रधानमन्त्रीको भ्रमण तय भयो । सम्भवतः चाँडै भारतबाट नयाँ राजदूत नेपालमा पुगिसक्नुहुनेछ र उहाँले प्रधानमन्त्रीको भ्रमण तयारीमा लाग्नुहुनेछ,’ एक कूटनीतिक स्रोतले नयाँदिल्लीबाट भन्यो । 

राजदूत श्रीवास्तवले ११ असार ०७९ मा राजदूतको कार्यभार सम्हालेका थिए । उनी चार वर्ष तीन महिना नेपाल रहे । उनले यसअघि भियतनामका लागि भारतीय राजदूतका रूपमा कार्य गरेका थिए । त्यसअघि उनले विभिन्न समयमा चीन,अमेरिका, कम्बोडियालगायतमा रहेका भारतीय दूतावासमा विभिन्न हैसियतमा काम गर्दै आएका थिए । उनी नेपाल आउनुअघि भारतीय विदेश मन्त्रालयको चीन मामिला हेर्ने महाशाखा प्रमुख थिए । सन् २०२० मा गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबिचको झडपपछि चीनसँग वार्ता गर्न उनी खटिएका थिए । श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्ध सुमधुर रहेको भन्दै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । श्रीवास्तवले प्रधानमन्त्री शाहसँग गरेको बिदाइ भेटको तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जाल एक्समा धन्यवाद दिएका छन् । 

भारतसँगको सम्बन्ध सधैँ सुमधुर : प्रधानमन्त्री
प्रधानमन्त्री बालेन्द्र शाहले भारत र नेपालको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहेको बताएका छन् । भोटोकोशीको बाढीपहिरो तथा विपत्को समयमा भारत सरकारले पुर्‍याएको सहयोगका लागि प्रधानमन्त्री शाहले भारतीय राजदूत श्रीवास्तवमार्फत भारतलाई विशेष धन्यवाद व्यक्त गरे । श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबिच अनेकौँ विकास परियोजना सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग पुर्‍याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद व्यक्त गरे ।

↑