जापानको नागोया र आइचीमा चलिरहेको २०औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत पुरुष क्रिकेटमा एसोसिएट राष्ट्रहरू वरीयताको मारमा परेका छन् । त्यहीँ नै आइसिसी टी–२० आई वरीयतामा शीर्ष १० भित्र रहेका राष्ट्रहरूले यसको फाइदा उठाइरहेका छन् । वर्षाका कारण मंगलबार नेपालले खेल्दै नखेली क्वार्टरफाइनलबाट बाहिरिएको छ ।
समूह चरणदेखि खेलहरू वर्षाले प्रभावित बनेका थिए । समूह चरणमा नेपालले एक मात्र खेल अफगानिस्तानविरुद्ध २० ओभर खेलेको थियो । नेपालले १२ वर्षपछि अफगानिस्तानसँग भेट हुँदा पाँच विकेटको सानदार जित निकाल्यो । त्यसपछि दोस्रो खेलमा नेपालले आयोजक जापानविरुद्ध खेल्यो । यो खेल पनि वर्षाले रद्द भयो । १५ ओभरमा छोट्याइएको प्रतिस्पर्धामा नेपालले १४९ रनको बलियो स्कोर खडा गरेको थियो । तर, दोस्रो इनिङ्समा भारी वर्षा भएपछि जापान र नेपालले अंक बाँड्यो ।
समूहमा शीर्ष स्थानमा रहँदै नेपालले क्वार्टरफाइनलमा श्रीलंकाको प्रतिद्वन्द्वी पायो । इतिहासमा नेपालले श्रीलंकाविरुद्ध दोस्रो भेटमा एकपटक पनि ब्याटिङ वा बलिङ गर्न अवसर पाएन । यसअघि सन् २०२४ को आइसिसी टी–२० विश्वकपमा नेपाल र श्रीलंका एकै समूहमा थिए । अमेरिकामा भएको विश्वकपमा यी दुई राष्ट्रबिचको खेल पनि वर्षाले बिथोलिएको थियो ।
नेपालको प्रतिद्वन्द्वी श्रीलंकाले वरीयताकै आधारमा एक बल पनि नखेली सिधै सेमिफाइनलमा पुगेको छ । एसियाडमा श्रीलंकाले आफ्नो ‘ए’ टोली पठाएको थियो । यसै टोलीविरुद्ध नेपालले यसै वर्ष भएको अभ्यास खेलमा सात विकेटले हराएको थियो ।
रिजर्भ डे नहुँदा उच्च वरीतयालाई फाइदा
एसियाली क्रिकेट काउन्सिल (एसिसी)ले एसियाडमा रिभर्ज डे राखेको छैन । रिजर्भ डे नहुँदा हेट टु हेट वा वरीयताअनुसार टोलीको छिनोफानो हुने गर्छ । तर, एसियाडमा हेड टु हेड नभई आइसिसी टी–२० वरीयताको आधारमा टोली घोषणा गरिएको छ । आइसिसीको वरीयतामा नेपाल १४औँ र श्रीलंका नवौँ स्थानमा रहेका छन् ।
जसको मारमा एसोसिएट राष्ट्र बनेका छन् । नेपाल मात्र नभएर क्वार्टरफाइनल स्थान बनाएका टेस्ट राष्ट्र अफगानिस्तान, मलेसिया र हङकङ पनि कम वरीयता पाएका कारण क्वार्टरफाइनलबाटै बाहिरिए ।
भारत र पाकिस्तानले एक बल पनि खेली सेमिफाइनल स्थान पक्का गरेका छन् । अहिले रमाइलो पक्ष के भने नागोयामा निरन्तर रूपमा वर्षा भइरहँदा यही
वरीयताकै आधारमा भारतले लगातार दोस्रोपटक एसियाडमा स्वर्णपदक जित्नेछ । भारतले शीर्ष र पाकिस्तानले दोस्रो वरीयता पाएका छन् ।
प्लेइङ कन्डिसन नियम
एसिसीले समूह चरणमा वर्षाका कारण खेल नहुँदा अंक बाँड्ने नियम बनाएको छ । नकआउट चरणमा भने नियम फरक छ । क्रिकेट ‘प्लेइङ कन्डिसन्स’को नियम १६.१०.२ (बी)अनुसार नकआउट खेलमा वर्षाका कारण पूर्ण रूपमा रद्द भएर कुनै नतिजा आउन नसकेमा उच्च वरीयतामा रहेको राष्ट्रलाई विजेता घोषणा गर्ने नियम एसिसीले बनाएको छ ।
आइसिसीले आयोजना गर्ने प्रतियोगिताहरूमा नकआउट खेल वर्षाले बिथोलिँदा ‘रिजर्भ डे’ राखिएको हुन्छ । ‘रिजर्भ डे’मा खेल हुँदा एकदिवसीयमा समान २० ओभर टी–२०आईमा समान पाँच ओभर खेलाउँछ । प्रतियोगिताको ढाँचाअनुसार भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशलाई उनीहरूको आइसिसी टी–२० आई वरीयताका आधारमा सिधै क्वार्टरफाइनलमा प्रवेश दिइएको हो ।
२०औँ एसियाडमा अफगानिस्तान, नेपाल, जापान, हङकङ, मलेसिया र ओमानले प्रारम्भिक चरण खेलेका थिए ।