मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज २ शुक्रबार
  • Friday, 18 September, 2026
शुरोजंग पाण्डे काठमाडाैं
२o८३ असोज २ शुक्रबार o६:३१:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमालेमा पार्टी पुनर्गठनको किचलो जारी : ओली मार्गप्रशस्त नगर्ने, पौडेल-पोखरेल पछि नहट्ने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८३ असोज २ शुक्रबार o६:३१:oo

चुनावी हारको नैतिक जिम्मेवारी लिएर अध्यक्ष केपी ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने सुझाव आएको विषयलाई महासचिव शंकर पोखरेलले कार्यदलको मस्यौदा प्रतिवेदनमा उल्लेख गरेपछि एमालेमा निम्तिएको विवाद सल्टिन सकेको छैन । ओलीले नेतृत्व हस्तान्तरण र चुनावी हारको नैतिक जिम्मेवारी लिनुपर्ने विषय पूर्ण रूपमा हटाएर अगाडि बढ्ने प्रयास गरेका छन् भने महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले प्रतिवेदन कार्यान्वयनमै जोड दिएका छन् ।

बिहीबार भक्तपुर गुन्डुस्थित निवासमा ओलीले चुनावी समीक्षा र पार्टी पुनर्गठनका विषयमा सुझाव दिन गठित कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, सदस्यहरू उपाध्यक्ष पौडेल, महासचिव पोखरेलसहित नेताहरूसँग छलफल गरेका थिए । कार्यदलको प्रतिवेदन पार्टीको केन्द्रीय सचिवालयबाट पारित गरेर केन्द्रीय कमिटी बैठकमा लैजाने भन्दै आगामी आइतबार (४ असोज)मा सचिवालय बैठक बोलाउन महासचिव पोखरेललाई निर्देशन दिएका छन् ।

महासचिव पोखरेलले नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने भनेर प्रतिवेदनमा समेटेको विषयको काउन्टरमा कार्यदल संयोजक थापाले समानान्तर प्रतिवेदन बनाएका थिए । गत सोमबार काभ्रेको बलथलीमा कार्यदलको बैठक बसेको थियो । तर, बैठकमा सहमति ननिस्किएपछि ‘ओलीले राजीनामा दिनुपर्नेजस्ता भाषा सम्पादन गरेर दुवै प्रतिवेदनको सारांशका रूपमा एकीकृत प्रतिवेदन बनाउने’ जिम्मेवारी थापा, पौडेल र पोखरेल तीन नेतालाई तोकेको थियो । तर, जिम्मेवारीअनुसार बुधबार प्रतिवेदन टुंग्याएर बिहीबार कार्यदल बैठक बस्नुपर्ने पूर्वनिर्णयअनुसार काम नै अघि बढेन ।

थापाले अध्यक्ष ओलीलाई भेटेर मात्र प्रतिवेदनको भाषा सम्पादनसहितको काम गर्नुपर्ने अडान राखेपछि तीनै नेता बिहीबार गुन्डु पुगेका थिए । अध्यक्षसँग जोडिएका विषय भएकाले पनि नेताहरूले बसेर र सुझाव लिएर प्रतिवेदनलाई टुंग्याउने गरी छलफल गरेको सचिव पद्मा अर्यालले बताइन् ।

‘आन्तरिक तयारी नपुगेको र केही विषय अध्यक्षसँग जोडिएको हुनाले पनि नेताहरू उहाँलाई भेटेर प्रतिवेदन टुंग्याउन जानुभएको थियो, कुरकानीसँगै सबै कुरा स्पष्ट भएर समाधानतिर गएको छ,’ अर्यालले भनिन् ।

गुण्डुमा बलथली छलफलबाट निस्किएको निष्कर्ष र निर्णयअनुसार शुक्रबार प्रतिवेदन लेखेर शनिवार कार्यदल बैठकले पास गर्ने र आईतबार सचिवालय बैठकमा प्रस्तुत गर्ने सहमति भएको कार्यदल सदस्य लिलानाथ श्रेष्ठले बताए । ‘बलथली बैठकको निर्णयअनुसार उहाँहरूले लेखनको काम गरिरहनुभएको छ, शुक्रबार लेखिसकेर शनिबार कार्यदलबाट पास गर्ने र भोलिपल्ट बस्ने सचिवालय बैठकमा प्रस्तुत गर्ने समझदारी भएको छ’ श्रेष्ठले भने, ‘उहाँहरू निर्णयअनुसार प्रतिवेदन लेख्ने क्रममा अध्यक्षसँग पनि सल्लाह लिन जानुभएको थियो, सचिवालय बैठक बोलाउने मितिसमेत तय गरेर फर्किनुभयो ।’

छलफलमा अध्यक्ष ओलीले चुनावी पराजयको नैतिक जिम्मेवारीको प्रसंगहरू नै नराखी प्रतिवेदन लेखनका विषयमा सरोकार राखेका थिए । व्यक्ति केन्द्रीत विषय र प्रसंगहरू नराखी चुनावी समीक्षाका विषयहरू मात्र कार्यदलले प्रतिवेदन बनाउने बलथली बैठकले निष्कर्ष निकालेर नेताहरू उठेका थिए । तर, त्यसअनुसार प्रतिवेदन परिमार्जनबारे संयोजक थापाले नै आशंका राखेर समय गुजार्न खोजेको उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले निकस्थ नेताहरूलाई बताएका छन् । मत विभाजन नगरी प्रतिवेदन लेख्ने समझदारी भए पनि थापाले ओलीको निर्देशनअनुसार समय गुजारेर केन्द्रीय कमिटी बैठकमै टुंगो लगाउने र कार्यदललाई नै औचित्यहीन बनाउन खोजेको हुनसक्ने पोखरेलको आशंका छ । यस्तो भएमा केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीमा पनि जमेर ‘फेस’ गर्ने ‘मुड’ पोखरेलको छ । पोखरेलको प्रतिवेदनलाई उपाध्यक्ष पौडेलको पनि साथ छ ।

प्रचार विभाग प्रमुख निरज आचार्यले प्रतिवेदन टुंग्याउने विषयमा आन्तरिक छलफल जारी रहेकाले त्यही सिलसिलामै अध्यक्ष ओलीसहितका नेताहरूले गुण्डुमा परामर्श गरेको जानकारी दिए । ‘केन्द्रीय कमिटीअघि सचिवालय बस्ने र त्यहिँबाट प्रतिवेदन पारित गर्ने, एजेण्डाहरू निर्माण गर्ने विषयमै नेताहरूले छलफल गर्नुभएको छ,’ आचार्यले भने । 

संविधान दिवस भव्य रूपमा मनाउने तयारी
एमाले केन्द्रीय कार्यालयले संविधान दिवस भव्य र प्रभावकारी रूपमा मनाउनका लागि तयारी सुरु गरेको छ । बिहीबार महासचिव शंकर पोखरेलले आयोजना गरेको बैठकले नेपालको संविधान २०७२ को रक्षा र कार्यान्वयनको सन्देशसहित विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । बैठकले संविधान जारी भएको दिन ३ असोजमा बिहान ८:३० बजे पार्टी केन्द्रीय कार्यालय, च्यासल प्रांगणमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । कार्यक्रमलाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् ।

त्यस्तै, देशभर विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकले सबै प्रदेश, जिल्ला तथा पालिका कमिटीलाई स्थानीय विशेषता र आवश्यकताअनुसार प्रभावकारी तथा रचनात्मक कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ । ‘आ–आफ्नो क्षेत्र र स्तरमा संविधानको रक्षाको सन्देशसहित प्रभातफेरी, दीप प्रज्वलन, विचार गोष्ठी, सरसफाइ तथा अन्य रचनात्मक कार्यक्रम गरी संविधान दिवसलाई सफल बनाउन अनुरोध छ,’ पोखरेलले जारी गरेको सर्कुलरमा भनिएको छ ।