भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरेका छन् । उनीहरूबिच आर्थिक सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।
भारतीय अर्थमन्त्रीको निमन्त्रणामा तीनदिने भ्रमणमा डा. वाग्ले बिहीबार भारत गएका हुन्। विपतपछिको पुनर्निर्माणलगायत दुई देशबिचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
भ्रमणमा क्रममा डा. वाग्ले पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। यस्तै, उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।
भारत व्यापार संवर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्रीको सहभागिता हुनेछ । यसैगरी भारतीय उद्योग परिसंघले शनिबार आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा समेत प्रमुख अतिथिका रूपमा अर्थमन्त्रीको सहभागिता रहनेछ।
भ्रमण टोलीका सदस्यहरूमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, नेपाली राजदूतावास नयाँदिल्ली, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी, नेपाली राजदूतावास नयाँदिल्ली र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत रहेका छन्। अर्थमन्त्री डा. वाग्ले शनिबार साँझ ४ बजे नेपाल फिर्ता हुनेछन्।