जनसंख्या र भूगोलका हिसाबले नेपालभन्दा धेरै ठुलो भारतमा इन्डेन, भारत र एचपी गरेर तीनवटा कम्पनीका मात्रै ग्यास सिलिन्डर छन् । तर, नेपाली बजारमा भने अहिले ५८ ब्रान्डका ग्यास सिलिन्डर बिक्री भइरहेका छन् । यसरी उद्योगपिच्छे फरक ब्रान्डको सिलिन्डर हुँदा उपभोक्ताले सटही गरेर ग्यास प्रयोग गर्न कठिनाइ भोग्दै आएका छन् ।
आयल निगमको तथ्यांकअनुसार एउटै व्यावसायिक समूहले १० वटासम्म उद्योग चलाएका छन् । उद्योगीले प्रत्येक उद्योगका लागि फरक ब्रान्डका सिलिन्डर प्रचलनमा ल्याएका छन् । सबैभन्दा पुरानो ‘नेपाल ग्यास समूह’को स्वामित्वमा अहिले १० वटा उद्योग रहेको ग्यास उद्योग संघको तथ्यांक छ । यो समूहले काठमाडौंको बालाजुमा उद्योग राखेर ‘नेपाल’ ब्रान्डका सिलिन्डर बिक्री गर्दै आएको छ । त्यस्तै, सोही समहूले चितवनमा रहेको उद्योगबाट ‘नेपाल नारायणी’, धनुषामा रहेको उद्योगबाट ‘नेपाल गण्डकी’ र कर्णाली प्रदेशका लागि ‘नेपाल कर्णाली’ ब्रान्डको सिलिन्डरमा बिक्री गर्दै आएको छ । यो समूहको स्वामित्वमा एचपी, त्रिवेणी, राजधानी, आरती, गीता र गृहलक्ष्मी ब्रान्डमा ग्यास सिलिन्डर पनि छन् ।
त्यस्तै, एसजी ग्रुपमातहत पूर्वदेखि पश्चिमसम्म सातवटा ग्यास उद्योग छन् । यो समूहसँग एभरेस्ट, सुगम, कामख्या, प्रिमा, सहारा, त्रिशूल र साइपाल ग्यास उद्योग छन् । एउटै समूहमातहत उद्योग भए पनि फरक ब्रान्डमा ग्यास सिलिन्डर बजार पुगिरहेका छन् । त्यस्तै, कोशी समूहले कोशी, श्रीराम, जानकी र नोबेल गरी चार ब्रान्डका सिलिन्डर बजार पठाइरहेको छ ।
उद्योगी सुरेन्द्र पौडेलले श्री, बाबा र लुम्बिनी ब्रान्डमा ग्यास बिक्री गरिरहेका छन् । औद्योगिक घराना त्रिवेणी समूहले पनि सिद्धार्थ र गौरीशंकर दुई ब्रान्डका ग्यास बिक्री गर्दै आएको छ । सावरमल अग्रवालले सगर र चण्डेश्वरी तथा राजेन्द्र डल्लाकोटीले साइबाबा र श्रीकृष्ण ग्यासलाई अलग–अलग ब्रान्डमा बजारीकरण गरिरहेका छन् ।
यी सात समूहसँग मात्रै ३० ब्रान्डका ग्यास उद्योग छन् । एक समूहबराबर एउटा ब्रान्डको ग्यास कायम गर्ने हो भने हाल कायम उद्योगको संख्या ५८ बाट घटेर ३५ मा आइपुग्छ । आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एउटै समूहमा रहेका फरक ब्रान्डका सिलिन्डरलाई मर्ज गर्ने नीति चाँडै लागू गर्ने बताए । ‘बजारमा धेरै ब्रान्डका ग्यास सिलिन्डर भए भन्ने कुरामा हामी कन्भिन्स छौँ । त्यसैले, एउटै उद्योगी वा औद्योगिक घरानाको स्वामित्वमा रहेका धेरै ब्रान्डलाई एउटै कायम गरेर बजारमा पठाउने व्यवस्था लागू गर्छौँ,’ उनले भने, ‘केही समय आपूर्ति सहज गर्ने काममा खटिनेछौँ । त्यसपछि नीतिगत सुधारतर्फ काम हुन्छ ।’
थोरै ब्रान्डका ग्यास सिलिन्डर बजारमा आएपछि उपभोक्तालाई सटही गर्न सजिलो हुने उनको भनाइ छ । विगतमा एउटा उद्योग सञ्चालनको अनुमति दिँदा आफ्नै ब्रान्डमा ग्यास सिलिन्डर बजारमा ल्याउन दिने व्यवस्था भएको, तर आउँदा दिनमा सुधार गर्ने उनले बताए । आयल निगमको एलपिजी विभाग प्रमुखसमेत रहेका निर्देशक विनीतमणि उपाध्यायले पनि एउटै समूहसँग भएका धेरै ब्रान्डका ग्यास उद्योग मर्ज गर्न आवश्यक सहजीकरण गर्न सकिने बताए । एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले एउटै समूहसँग रहेका धेरै ब्रान्डलाई मर्ज गर्न सकिने, तर केही जटिलता रहेको बताए । ‘ग्यास उद्योग सञ्चालनको अनुमति लिँदा नै प्रत्येक उद्योगले आफ्नै ब्रान्डका सिलिन्डर हुने गरी कानुनी प्रबन्ध भएको छ,’ उनले भने, ‘प्रत्येक उद्योगसँग आफ्नै ट्रेडमार्क रहेकाले त्यसलाई संशोधन गर्नुपर्ने हुन्छ ।’ त्यस्तै, समूह एउटै भए पनि केही उद्योगका साझेदार फरक–फरक भएको खण्डमा पनि जटिलता उत्पन्न हुन सक्ने उनले बताए ।
उद्योगको क्षमता कति छ ?
एलपी ग्यास उद्योग संघका अनुसार ५८ उद्योगको सिलिन्डरमा ग्यास भर्ने क्षमता फरक–फरक छ । ‘धेरै उद्योगको क्षमता दैनिक ४५ सय सिलिन्डरमा रिफिलिङ गर्ने हो,’ उनले भने, ‘सीमित उद्योगले दैनिक १० हजारदेखि १२ हजार सिलिन्डरमा ग्यास भर्न सक्छन् ।’ संघको अनौपचारिक तथ्यांकअनुसार देशभरका उद्योगले पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक दुई लाख ७५ हजार खाली सिलिन्डरमा ग्यास भर्न सक्छन् । तर, अहिले काठमाडौंमा बजारीकरण गरिरहेका २४ उद्योगका प्लान्ट बन्द भएर तराईका १४ उद्योगमा ग्यास भर्नुपर्दा भने केही असहजता भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
काठमाडौंमा पठाउन चौबिसै घण्टा चलिरहन्छन् तराईका ग्यास उद्योग
हेटौंडा/ शनिबार साँझ ६ बजे हेटौँडा– ३, बासामाडीस्थित सहारा ग्यास उद्योगमा धमाधम ग्यास भर्ने काम भइरहेको थियो । उद्योगमा कार्यरत कर्मचारी खड्गबहादुर थापाका अनुसार काठमाडौंमा ग्यास आपूर्ति बढाउन ललितपुरको चल्नाखेलमा रहेको उद्योगबाट खाली सिलिन्डर ल्याउने र हेटौँडाको सहारा उद्योगमा भरेर पठाउने काम भइहरेको छ ।
‘कृष्णभिरको पहिरोले पृथ्वी राजमार्ग बन्द भएयता एभरेस्ट र सुगम ब्रान्डका सिलिन्डरमा ग्यास भरेर काठमाडौं पठाइरहेका छौँ,’ उनले भने, ‘२४ घण्टा उद्योग चलाइरहेका कारण कामदार र कर्मचारी बिरामी पर्न थालेका छन् ।’ उनका अनुसार बिहान ६ देखि दिउँसो १ बजेसम्म सहारा, दिउँसो १ बजेदेखि राति १० बजेसम्म एभरेस्ट र राति १० बजेदेखि बिहान ६ बजेसम्म सुगम ब्रान्डका सिलिन्डरमा ग्यास भर्ने काम भइरहेको छ । काठमाडौंमा ग्यास पठाउने काम दिनभर नै चलिरहने उनले बताए । उक्त उद्योगमा एकपटकमा १८ सिलिन्डर ग्यास भर्ने मेसिन रहेको र एउटा सिलिन्डर ७० सेकेन्डमा भरिने उनले जानकारी दिए ।
त्यस्तै, बहुअरी–४, बाराको ग्यास उद्योगमा लोकप्रिय र श्रीमाया ब्रान्डका सिलिन्डरमा ग्यास भर्ने काम भएको सञ्चालक निर्मल खत्रीले जानकारी दिए । ‘हाम्रो उद्योग दुई सिफ्टमा चलिरहेको छ,’ उनले भने, ‘बिहान ७ देखि दिउँसो ३ बजेसम्म र दिउँसो ३ देखि राति ११ बजेसम्म उद्योग नियमित रूपमा चलिरहेको छ । कहिलेकाहीँ राति १ बजेसम्म पनि ग्यास भर्ने काम भएको छ ।’ लोकप्रिय र श्रीमाया ब्रान्डका तीन हजार सिलिन्डरमा दैनिक ग्यास भरेर पठाइरहेको उनले जानकारी दिए ।
पर्साको सुपर ग्यास उद्योगले काठमाडौंका लागि हिमाल ब्रान्डका सिलिन्डरमा ग्यास भरिरहेको छ । उद्योगमा कार्यरत एक कर्मचारीका अनुसार दैनिक औसत कम्तीमा एक हजार हिमाल ब्रान्डका सिलिन्डरमा ग्यास भर्ने काम भइरहेको छ । पर्साको वीरगन्ज महानगरपालिका– २१, परवानीपुरमा रहेको मनोज ग्यास उद्योगले काठमाडौंका लागि एसटिसी र लोकप्रिय ब्रान्डका सिलिन्डरमा ग्यास भरेर पठाइरहेको उद्योग इन्चार्ज सञ्जयकुमार मिश्राले जानकारी दिए । ‘एसटिसी र लोकप्रियको मात्रै दैनिक औसतमा १८ सय सिलिन्डरमा ग्यास भरेर पठाइरहेका छौँ,’ उनले भने, ‘यसमा एसटिसीको १२–१३ सय सिलिन्डर हुन्छ ।’ त्यस्तै, जितपुर–सिमरा उपमहानगरपालिका– ५, बाराको अम्बर ग्यास उद्योगले एसटिसी र सिद्धार्थ ब्रान्डका सिलिन्डरमा ग्यास भरेर पठाउने गरेको छ ।
अम्बर ग्यास उद्योगको बिलिङ विभागमा कार्यरत पन्नालाल साहका अनुसार दैनिक करिब १२ सय सिलिन्डर ग्यास काठमाडौंका लागि भरेर पठाउने गरिएको छ । ‘हामीले शनिबारसमेत नभनी सबै दिन उद्योग चलाएर सिलिन्डरमा ग्यास भर्ने काम गरिरहेका छौँ,’ उनले भने ।