मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १ बिहीबार
  • Friday, 18 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १ बिहीबार o६:१३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘पासपोर्ट फ्री ट्राभल’को अवधारणा लागू गर्दै अध्यागमन

‘भिजिट भिसामा पुरानै मापदण्ड लागू गर्न दलालहरू सक्रिय’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १ बिहीबार o६:१३:oo

नेपाल घुम्न आउने पर्यटकले जहाँ जाँदा पनि अब सँगै पासपोर्ट बोक्न नपर्ने भएको छ । अध्यागमन सेवालाई प्रविधिमैत्री बनाउँदै सरकारले मोबाइल एपमै पासपोर्ट तथा भिसाको डिजिटल अभिलेखलाई नै मान्यता दिने भएको छ ।

अध्यागमन विभागको मोबाइल एपमै पासपोर्ट र भिसाको डिजिटल विवरण देखाए हुने गरी प्रणाली बनाएको हो । सोही एपमा आफ्नो विवरण राखेपछि पासपोर्टविनै देशभित्र विदेशी नागरिकले पनि यात्रा गर्न सक्ने विभागले जनाएको छ । यसले पर्यटकलाई सहज हुने विभागका निर्देशक टीकाराम ढकालले बताए ।

त्यसका लागि पर्यटकले ‘डिपार्टमेन्ट अफ इमिग्रेसन’ मोबाइल एपमा लगइन गरी आफ्नो पासपोर्टको विवरण राख्नुपर्ने हुन्छ । सोही एपमा देखाउने पासपोर्ट र भिसासम्बन्धी विवरणलाई नेपालमा सबै निकायले मान्यता दिनेछन् । यसले पर्यटकलाई पनि सहज हुने र डिजिटल ट्र्याकिङ गर्न सरकारलाई पनि सहज हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा विभागका निर्देशक ढकालले बताए । सुरुमा प्रवेश हुँदा अध्यागमनमा पासपोर्ट देखाएर मोबाइल एपमा लगइन गरेपछि पर्यटकले पासपोर्ट बोक्नुपर्ने छैन ।

हाल हिमाल आरोहणमा जाँदा पनि सँगै पासपोर्ट लिएर जानुपर्ने हुन्छ । पर्यटकलाई नै सहज बनाउने गरी यो व्यवस्था गरिएको विभागले जनाएको छ । कतिपय स्थानमा इन्टरनेट नचलेमा भने अन्य परिचयपत्रलाई पनि मान्यता दिने तयारी छ । यससम्बन्धी सम्पूर्ण प्राविधिक तयारी पूरा गरी विभागले स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाएको छ । मन्त्रालयबाट स्वीकृत भएलगत्तै यसलाई कार्यान्वयन गरिने प्रवक्ता ढकालले बताए ।

सेवालाई प्रविधिमैत्री बनाउँदै लैजाने क्रममा विभागले ई–भिसा जारी गर्ने अन्तिम तयारी गरेको छ । १५ भदौदेखि नै इ–भिसा जारी गर्ने तयारी रहेकामा १० भदौको भोटेकोशी बाढीका कारण सरेको छ ।

त्यस्तै, विदेश भ्रमणको विवरण आफ्नो नागरिक एपमै हेर्न सकिने व्यवस्था पनि हाल विभागले गरेको छ । आफ्नो विदेश यात्रासम्बन्धी प्रमाणित विवरण माग्दै सर्वसाधारणले विभागमा दिने निवेदनमा अब नागरिक एपबाटै यससम्बन्धी विवरण लिन सक्ने व्यवस्था गरिएको छ । अध्यागमन सेवालाई प्रविधिमैत्री र फेसलेस बनाउँदै लैजाने रणनीतिअर्न्तगत सेवालाई सरलीकृत गर्दै लगिएको विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँछन् ।

‘भिजिट भिसामा पुरानै मापदण्ड लागू गर्न दलालहरू सक्रिय’ 
भिजिट भिसामा पुरानै प्रावधान फर्काउन केही दलाल सक्रिय हुन थालेको विभागले जनाएको छ । गत वर्ष कात्तिकदेखि कागजपत्र पुगेका कुनै पनि नागरिकलाई विदेश भ्रमणमा नरोक्ने गरी सरकारले मापदण्ड लागू गरेको थियो । त्यो प्रावधानले विदेशमा महिलाहरू बेचिएको भाष्य बनाएर दलाल समूह पुरानै प्रावधान लागू गराउन सक्रिय हुन थालेको विभागका महानिर्देशक तिवारीले बताए । ‘नेपाली नागरिक विदेश जान योग्य छस्/छैनस् भनेर सब्जेब्टिभ आधारमा जाँच्ने र फर्काउने, भाष्य नागरिकहरू बेचिन्छन् भनेर बनाउने यो दलालहरूको इकोलोजीले जे बनाउन खोजेको छ, त्यसमा कतै न कतै यस्ता भ्याइसहरू आउन थालेको देख्छु,’ पत्रकार सम्मेलनमा उनले भने । तथ्यांक प्रस्तुत गर्दै उनले विगतमा भन्दा अहिले भिजिट भिसामा जाने महिलाहरूको संख्या कम भएको बताए ।

गत वर्ष भिजिट भिसाको संगठित असुलीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विस्तृत अनुसन्धान भएपछि सरकारले पुरानो मापदण्ड खारेज गरेर शंकाको आधारमा कसैलाई नरोक्ने निर्णय गरेको थियो । जसले गर्दा भिजिट भिसामा हुँदै आएको ट्राभल एजेन्सीदेखि अध्यागमनसम्मको सेटिङ भत्किएको छ । पुरानै समूह फेरि सक्रिय भएर भिजिट भिसामा विदेश जानेहरूलाई रोक्नुपर्छ भनेर लागेको विभागका अधिकारी बताउँछन् ।