मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १ बिहीबार
  • Thursday, 17 September, 2026
प्रेम गौतम काठमाडाैं
२o८३ असोज १ बिहीबार o७:५२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सारथिहरूले नै देउवाको साथ छाड्दै

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १ बिहीबार o७:५२:oo
  • १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा ८३ प्रतिशत ‘होल्ड’ गरेका निवर्तमान सभापति देउवासँग पदाधिकारीमा चौधरी मात्रै, शेखर कोइरालापक्षीय उपसभापति गुरुङ र सहमहामन्त्री पाण्डे तटस्थ, अरू सबै संस्थापनतिर

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका विश्वासपात्रले नै धमाधम उनको साथ छाड्दै गएका छन् । १४औँ महाधिवेशनमा देउवाको प्यानलबाट उपसभापति जितेका, गत जेन–जी आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्कादेखि प्रचार विभाग प्रमुख बनाएका मीन विश्वकर्मासमेतले उनको साथ छाडेका छन् ।

१६८ सदस्यीय निवर्तमान केन्द्रीय कार्यसमितिमा देउवा पक्षका ८३ प्रतिशत थिए । विशेष महाधिवेशनपछि केन्द्रीय कमिटीका १११ जना आफूहरूसँग रहेको दाबी देउवा पक्षको थियो । तर, देउवा पक्षमा रहेका नेताहरू धमाधम संस्थापन पक्षतिर खुल्दै गएका छन् । १४औँ महाधिवेशनबाट निर्वाचित देउवा पक्षका अधिकांश पदाधिकारी संस्थापनतिर लागेका छन् ।

कांग्रेसले १६–१९ असोजमा १५औँ महाधिवेशन गर्दै छ । देउवा पक्षले २१–२३ मंसिरमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ । तर, देउवा पक्षका नेताहरू भने धमाधम संस्थापनतिर खुल्दै छन् । महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालत गएका पूर्वउपसभापति खड्का पनि संस्थापनतिरै ढल्किएका छन् । तर, उनी अदालतमा निवेदन विचाराधीन रहेकाले महाधिवेशनमा भने सहभागी नहुने उनीपक्षीय नेताहरू दाबी गर्छन् । उनी पक्षका सबै नेताहरू संस्थापनतिर खुलिसकेका छन् ।

१५औँ महाधिवेशन नजिकिएसँगै संस्थापनतिर तत्कालीन पदाधिकारीको संख्या बढेको छ । जबकि, विशेष महाधिवेशनमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका साथै सहमहामन्त्री फर्मुल्लाह मन्सुर मात्रै थिए । १४औँ महाधिवेशनमा १३ पदाधिकारीमध्ये तत्कालीन संस्थापन पक्षबाट सभापतिमा देउवासहित आठजनाले जितेका थिए । उपसभापति खड्का, सहमहामन्त्रीहरू किशोरसिंह राठोर, भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय डिना, महेन्द्र यादव, फर्मुल्लाह मन्सुर र उमाकान्त चौधरी देउवा प्यानलबाट विजयी भएका थिए । कोषाध्यक्ष उमेश श्रेष्ठ पनि देउवा प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
डा. शेखर कोइरालाको प्यानलबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा तथा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे विजयी भएका थिए । महामन्त्री विश्वप्रकाश शर्मा प्रकाशमान सिंह नेतृत्वको प्यानलबाट निर्वाचित भएका थिए । 

गत महाधिवेशनमा आठ सहमहामन्त्रीमध्ये ६ जनाले देउवा पक्षबाट जितेका थिए । हाल आठ सहमहामन्त्रीमध्ये दुईजनाले मात्रै निर्णय गरिनसकेको नेताहरूले जानकारी गराएका छन् । आदिवासी जनजाति क्लस्टरबाट देउवा समूहबाट सहमहामन्त्रीमा निर्वाचित आङ्देम्बे हाल संस्थापन पक्षमा छन् । उनी प्रतिनिधिसभामा संसदीय दलको नेतासमेत छन् ।

महिला क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित डिना उपाध्यायले संस्थापनको महाधिवेशनमा भाग लिने भएकी छिन् । मुस्लिम क्लस्टरबाट सहमहामन्त्री बनेका मन्सुर विशेष महाधिवेशनमै सहभागी भएका थिए । विशेष महाधिवेशनको अगुवाइ गरेको भन्दै थापा र शर्मासहित मन्सुरलाई समेत तत्कालीन संस्थापन पक्षले साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको थियो । 

मधेशी क्लस्टरबाट निर्वाचित सहमहामन्त्रीमा महेन्द्र यादव पनि संस्थापनतिरै छन् । यादवले तत्कालीन महामन्त्री थापालाई काउन्टर दिने गरी नियमित महाधिवेशनको अर्को कार्यतालिका अघि सारेका थिए । थापाले गत फागुनको निर्वाचनपछि यादवले केन्द्रीय सदस्य मनोनीत गरेका थिए । 

दलित क्लस्टबाट सहमहामन्त्री निर्वाचित नेता शेखर कोइरालानिकट जीवन परियार पनि संस्थापनतिरै छन् । उनलाई पनि थापाले निर्वाचनपछि यादवसँगै केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । खसआर्यबाट सहमहामन्त्रीमा निर्वाचित किशोरसिंह राठोरले पनि देउवाको साथ छाडेका छन् । शेखर कोइराला प्यानलबाट पिछडिएको भूगोलबाट सहमहामन्त्री निर्वाचित बद्री पाण्डे हालसम्म तटस्थ छन् । देउवासँग १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीमा उमाकान्त चौधरी मात्रै छन् । उनी देउवा समूहबाट थारू क्लस्टरबाट निर्वाचित भएका थिए । उनी सिटौलानिकट हुन् । 

कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश सभापति देउवा पक्षकै थिए । हाल सुदूरपश्चिम सभापति वीरबहादुर बलायर मात्रै देउवासँग छन् ।

गत प्रतिनिधिसभाका प्रमुख सचेतक श्याम घिमिरे, सचेतक ईश्वरी न्यौपाने पनि संस्थापनतिर लागेका छन् । यस्तै, रामहरि खतिवडा, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, सीता गुरुङ, ललितजंग शाही, प्रदीप सुनुवार, भीम पराजुलीलगायत पनि संस्थापनतिर खुलेका छन् । विशेष महाधिवेशनको विपक्षमा रहेका ४० भन्दा बढी नेता ३ असोजको वडा अधिवेशनमा सहभागी हुने नेता श्याम घिमिरे दाबी गर्छन् । ‘कांग्रेस पार्टी र चारतारे झन्डा छाड्न सकिएन । हामी ३ असोजमा सुरु हुने वडा अधिवेशनमा सहभागी हुँदै छौँ । म पनि गृहजिल्ला सिन्धुली जाँदै छु,’ घिमिरेले भने, ‘अरू साथीहरू पनि छलफलमा हुनुहुन्छ ।’

१४औँ महाधिवेशनमा नेतृत्वका दाबेदार सबै बाहिरै
१४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा, निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालासहित प्रतिस्पर्धी विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ इतर पक्षमा छन् । १३औँ महाधिवेशनमा सभापतिमा उम्मेदवार बनेका कृष्णप्रसाद सिटौला पनि इतर पक्षमा छन् । त्यसका साथै पूर्वउपभापति सिंह, पूर्वमहामन्त्री सिटौला, डा. शशांक कोइराला, पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतलगायत नेताहरू इतर पक्षमा छन् । उनीहरू आगामी २१–२३ मंसिरमा छुट्टै महाधिवेशनको तयारीमा छन् । त्यसका लागि १५ असोजमा वडा अधिवेशनको गर्ने तयारी छ । तर, केन्द्रीय नेताहरूले नै धमाधम साथ छाडेकाले देउवा पक्ष दबाबमा परेको छ । ३–४ असोजसम्म केन्द्रीय नेताहरूको पोजिसन स्पष्ट हुने संस्थापन पक्षका नेताहरू बताउँछन् । केही सीमितबाहेक अधिकांश नेताहरू ३–४ असोजको वडा अधिवेशनमा सहभागी हुने दाबी संस्थापन पक्षको छ । उपसभापति धनराज गुरुङ र सहमहामन्त्री बद्री पाण्डे नेता शेखर कोइराला प्यानलका हुन् । कोइराला पनि तटस्थ छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक बिहीबार बस्दैछ । १४औं महाधिवेशनबाट आएका पदाधिकारी र केन्द्रीय सदस्यहरूको समायोजनपछि सभापति थापाले बिहीबार केन्द्रीय समिति बैटक बोलाएका हुन् । देउवा समूह छाडेर आएका नेताहरूसमेत बिहीबारको बैठकमा सहभागी हुने भएका छन् । बैठकले १५औं महाधिवेशनबारे केही निर्णय गर्ने भएको छ ।