नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्नुपर्ने भन्दै दुवै पक्षलाई महाधिवेशन प्रक्रिया रोक्न आग्रह गरेका छन्। कांग्रेस एकढिक्का भएर राष्ट्र निर्माणमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने भन्दै कोइरालाले संस्थापन र इतर पक्ष दुवैलाई महाधिवेशन प्रक्रिया रोक्न भनेका हुन्।
‘दुःखका साथ भन्नुपर्छ, यतिखेर नेपाली कांग्रेसको पटकथा कहाँबाट कसले कसरी लेखिरहेका छन् मलाई थाहा छैन। मलाई यसबाट पीडा छ र मेरो पीडासँग तमाम कार्यकर्ता साथीहरूको भावना जोडिएको छ, जो कांग्रेस एकढिक्का भएर राष्ट्र निर्माणमा यो पार्टीको नेतृत्वदायी भूमिका होस् भन्ने चाहन्छन्,’ कोइरालाले विज्ञप्तिमार्फत भनेका छन्।
कांग्रेसको घोषित दुई महाधिवेशनबाट राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पर्ने भन्दै उनले एउटा मध्यमार्गी बाटो खोज्नुपर्नेमा जोड दिएका छन्। आफ्नो प्रयत्न विगतमा र अहिले पनि यसैमा केन्द्रित रहेको उनले उल्लेख गरेका छन्।
कांग्रेस विभाजनबाट रोमाञ्चित हुन नसकेको भन्दै कोइरालाले भनेका छन्, ‘म को ठिक, को बेठिक भनेर वकालत कसरी गर्न सक्छु ? कांग्रेस हुँ भन्ने, तर आफ्नै साथीभाइमाथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महलमाथि म बस्न सक्दिनँ। कांग्रेसमा कोही हार्ने र कोही जित्ने अनि विजयी कांग्रेस हुँ भनेर कसरी उत्सव मनाउन सकिन्छ होला ? यो कांग्रेसको संस्कार र संस्कृतिभन्दा भिन्न कुरा हो, मेरो चेतनाको कांग्रेस पाठशाला पृथक् छ।’