भोटेकोशी बाढीबाट अभिभावक गुमाएका, विस्थापित भएका र पढाइबाट वञ्चित भएका ७० बालबालिकालाई काठमाडौंको डल्लु विजेश्वरीस्थित गीतामाता माविले पढाउन थालेको छ । उनीहरूलाई अन्य विद्यार्थीभन्दा फरक किसिमबाट मनोपरामर्शसहित पठनपाठनको बानी पार्न थालिएको विद्यालयका सहायक प्रधानाध्यापक रामप्रसाद देवकोटाले जानकारी दिए ।
देवकोटाका अनुसार बाढी प्रभावित सयभन्दा धेरै विद्यार्थी आएकामा कतिपय आउन छाडेका छन् । ७० विद्यार्थी बिहीबारसम्म विद्यालय आएकाको तथ्यांक हो । ‘बाढी प्रभावित क्षेत्रमा थुप्रै बालबालिका पढाइबाट वञ्चित हुनुभएको छ, हामीले स्कुलनजिकैको पहेँलो गुम्बामा बस्नुभएका विद्यार्थीलाई पढाउँछौँ । विगतमा त्रिशूली माविमा पढ्ने, तर बाढीपछि काठमाडौंमा आएका बालबालिका पनि यहाँ पढ्न आउँछन्, उनीहरूको मनस्थिति बुझेर पढाउँछौँ,’ उनले भने, ‘कतिपय बालबालिकाका अभिभावक हुनुहुन्न ।’
विद्यालयमा बाढी प्रभावित बालबालिकालाई मनोपरामर्श दिन दैनिक ३० भन्दा बढी मनोपरामर्शदाताहरू आउने गरेको सहायक प्रधानाध्यापक देवकोटा बताउँछन् । उनीहरूले प्रभावित बालबालिकालाई सम्झाउने र बुझाउने गर्छन् । विद्यालयमा पढाइने ७० जना बालबालिकालाई दिनभरि विद्यालयले स्कुलमा राखे पनि विद्यालय बिदा भएपछि भने उनीहरू होल्डिङ सेन्टर तथा आफन्तकहाँ जान्छन् ।
‘कतिपय बालबालिका परिवारसँग होल्डिङ सेन्टरमा बसेका छन्, कतिपय छिमेकी र आफन्तकहाँ बसेका छन्,’ देवकोटाले भने, ‘उनीहरूलाई सकेसम्म मनोपरामर्शबाट बलियो बनाउँदै पढाउन थालेका छौँ ।’ उनका अनुसार कतिपय बालबालिकामा तर्सिने र अभिभावकको खोजी गर्दै आत्तिने समस्या देखिएको छ ।
त्यस्तै, करुणा फाउन्डेसन र काठमाडौं महानगरको पहलमा उनीहरूलाई विभिन्न खेलकुदमा सहभागी गराउने, स्वास्थ्य जाँच गर्ने, मनोपरामर्श दिनेलगायतका कार्य पनि भइरहेको छ । हाल यस स्कुलमा पढ्न आउने ७० जनामध्ये २२ जना बालविकास तहमा पढ्छन् । उनीहरू दुई वर्षदेखि ६ वर्षसम्म उमेरका छन् ।
पहेँलो गुम्बाबाट विद्यालयसम्म बालबालिका पुर्याउन एलआरआई स्कुलले दियो बससेवा
पहेँलो गुम्बामा आश्रित भएर डल्लुस्थित गीतामाता विद्यालयमा पढ्न जान थालेका बालबालिकालाई कलंकीको लर्निङ रियलम इन्टरनेसनल (एलआरआई) स्कुलले बससेवा उपलब्ध गराएको छ । विद्यालय लैजान र गुम्बामा ल्याउन बसको व्यवस्था गरेको हो । त्यस्तै, कोसिस नेपाल नामक संस्थाले लुगा, जुत्ता, झोला उपलब्ध गराउने महानगरले जनाएको छ ।