दुई दिनमा काठमाडौंका लागि ४६ ग्यास बुलेट भन्सार पास
वीरगन्ज भन्सारबाट बुधबार र बिहीबार गरी कुल ७४ वटा ग्यास बुलेट भन्सार जाँचपास भई नेपाल भित्रिएका छन्। त्यसमध्ये ४६ वटा ग्यास बुलेट काठमाडौं केन्द्रित उद्योगका छन्। यीमध्ये पनि सबैभन्दा धेरै श्री ब्रान्डका सिलिन्डरमा ग्यास भर्न ९ वटा र एभरेस्ट ब्रान्डका सिलिन्डरमा ग्यास भर्न ५ वटा बुलेट भित्रिएका छन्।
एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार बुधबार ३८ र बिहीबार ३६ वटा ग्यास बुलेट वीरगन्ज भन्सार जाँचपास भई नेपाल भित्रिएका हुन्। यीमध्ये अधिकांश काठमाडौं, ललितपुर, धादिङ, काभ्रे र चितवनमा रहेका उद्योगका लागि ग्यास लिएर आउने बुलेट हुन्। जसको प्रमुख बजार काठमाडौं उपत्यका हो।
बागमतीमा ओएन्डएम सर्वेक्षणको खाका स्वीकृत, १३४ दरबन्दी घट्ने
बागमती प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहत अघि बढाइएको संगठन तथा व्यवस्थापन ९ओएन्डएम० सर्वेक्षणको प्रारम्भिक खाका स्वीकृत गरेको छ। प्रस्तावित संरचनाअनुसार प्रदेशमातहतका कार्यालयको संख्या १८० कायम प्रस्ताव गरिएको छ भने हाल कायम चार हजार ८१४ दरबन्दी घटाएर चार हजार ६८० बनाइएको छ।
अध्यागमन कार्यालयका पाँच कर्मचारी विभाग तानिए
त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत पाँच कर्मचारीलाई अध्यागमन विभागले जिम्मेवारीबाट हटाएको छ। उनीहरूको गतिविधि शंकास्पद देखिएपछि विभागमा तानिएको स्रोत बताउँछ।
अधिकृतहरू भूपेन्द्र थापा, रूपेश विश्वकर्मा, लक्ष्मणसिंह राठौर, काशीप्रसाद पंगेनी र कम्प्युटर अपरेटर विजय यादवलाई जिम्मेवारीबाट हटाइएको हो। उनीहरू भिजिट भिसाको गिरोहसँग मिलेको आशंका गरिएको छ। उनीहरूमाथि छानबिन चलिरहेको विभागका एक अधिकारीले बताए।
भोलिदेखि एलपी ग्यास २०६० रुपैयाँमै बिक्री-वितरण हुने
भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा एलपी ग्यास पुरानै मूल्यमा बिक्री(वितरण हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले शुक्रबारदेखि आयल निगमले तोकेको प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ नबढाई बिक्री गर्न भनेको हो।
कृष्णभिरमा बाढीले सडक कटान गरेपछि उद्योगीहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषा पुगेर सिलिन्डर रिफिल गरी वैकल्पिक मार्गबाट ल्याएर बिक्री(वितरण गर्दै आइरहेका थिए।
भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज
नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तत्कालीन राहत प्याकेज घोषणा गरेको छ। बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाका कर्मचारी र कामदारहरू बेपत्ता छन्। प्राधिकरणअन्तर्गत मात्रै ४७ कर्मचारी र कामदार बेपत्ता छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता भएका कर्मचारी र कामदारहरूको आश्रित परिवारलाई बेपत्ता खोजी कार्य गर्न, आफ्नो कुल धर्मअनुसारको सामाजिक संस्कार गर्न र जीवनयापन गर्नको लागि राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताए।
एक क्विन्टल बढी गाँजा बरामद भएको एम्बुलेन्सको दर्ता सामाजिक संस्थाको नाममा
पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिराहाको सिराहा नगरपालिका– १ बाट एक क्विन्टल बढी प्रतिबन्धित गाँजा बरामद भएको एम्बुलेन्स धनुषास्थित एक सामाजिक संस्थाको रहेको खुलेको छ। चालक फरार भएपछि १०५ किलो गाँजा बरामद भएको एम्बुलेन्स धनुषाको नगराइन नगरपालिका देवडिहास्थित ‘माँ सहयोगी संस्था’को रहेको खुलेको प्रहरीले जनाएको छ।
डिल्लीबजारका नापी अधिकृत वली नौ लाख घुससहित पक्राउ
नापी कार्यालय डिल्लीबजारका नापी अधिकृत डिल्लीबहादुर वली नौ लाख घुससहित पक्राउ परेका छन्। नापी कार्यालयको ३ नम्बर नापी टोली माछापोखरीका टोली प्रमुख वलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पक्राउ गरेको हो।
वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिलपत्र भूमि प्रशासन कार्यालय मनमैजुमा पठाउनका लागि अनावश्यक सास्ती दिई घुस माग उजुरीपछि अख्तियारको टोली खटिएको थियो।
देउवालाई गगनको आग्रह– महाधिवेशन उद्घाटन गरिदिनुस्, सम्मानको विषय हुनेछ
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनको उद्घाटन गर्न आग्रह गरेका छन् । उनले असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशन उद्घाटन समारोहमा देउवाको उपस्थितिलाई पार्टीका लागि सम्मानको विषय हुने बताएका हुन्।
बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पूर्वसभापति देउवालाई उद्घाटन समारोहमा सहभागी हुन आग्रह गरेका हुन्। उनले देउवालाई सम्बोधन गर्दै भने, ‘अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ।’
प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्री डोङ जुनबिच शिष्टाचार भेट
छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गरेका छन्।
प्रधानसेनापति सिग्देलले बुधबार चिनियाँ रक्षामन्त्रीसँग भेटेका हुन्। भेटवार्ताको क्रममा आपसी हित एवं सैनिक सम्बन्धबारे छलफल भएको बताइएको छ।
सरकारी निर्णय प्रक्रियालाई डिजिटलाइज र छिटोछरितो बनाउन नयाँ नियमावली स्वीकृत
सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन ‘सरकारी निर्णय प्रक्रिया ९सरलीकरण तथा डिजिटल बनाउने०सम्बन्धी नियमावली, २०८३’ ल्याएको छ।
‘सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५’लाई खारेज गरी नियमावलीको रूपमा रूपान्तरण गरिएको हो। निर्देशिकाको तुलनामा नियमावलीको कानुनी हैसियत र बाध्यकारिता बढी हुने र समयअनुसार डिजिटलाइज्ड गरी प्रशासनिक ढिलासुस्ती अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अघि बढाएको प्रस्तावलाई बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो।