बर्दिया/ बालविवाह न्यूनीकरणका लागि अनेक प्रयास भए पनि बर्दियामा बालविवाह नरोकिएको पाइएको छ। कानुनले २० वर्षमुनिको विवाहलाई बालविवाह भनी प्रस्ट व्याख्या गरेको छ। स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक हेर्दा बालविवाह बढेको देखिन्छ। २० वर्ष नपुग्दै सुत्केरी हुने, गर्भवती जाँच गर्ने, परिवार नियोजनको साधन प्रयोग गर्ने र गर्भपतन गर्नेको संख्या हेर्दा बालिकाको संख्या बढेसँगै बर्दियामा बालविवाह बढेको देखिन्छ।
गाउँघरमा अझै पनि बालविवाह भइरहेको छ। कानुनमा २० वर्ष पूरा भएपछि मात्र विवाह दर्ता हुने कानुनी प्रावधान भएकोले स्थानीय तहको अभिलेखमा बालविवाह भएको देखिँदैन। तर, सुरक्षित मातृत्व सेवा लिन आउने बालिकाको संख्या हेर्दा बालविवाह भएको देखिन्छ। कानुनी प्रावधानले स्थानीय तहको अभिलेख बालविवाह भएको देखिँदैन। तर, स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा लिन आउने बालिकाको संख्या हेर्दा बालविवाह भइरहेको देखिन्छ।
स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांकअनुसार आर्थिक वर्ष ०८०/८१ मा २० वर्षभन्दा कम उमेरका ७७५ जनाले पहिलोपटक गर्भ जाँच गराएको, ४९८ जना सुत्केरी भएको, ३२१ जनाले परिवार नियोजनको साधन प्रयोग गरेको र ८२ जनाले गर्भपतन गराएको देखिन्छ। आर्थिक वर्ष ०८१/८२ मा ६६९ जनाले पहिलोपटक गर्भ जाँच गराएको, २८५ जना सुत्केरी भएको, २१२ जनाले परिवार नियोजनको साधन प्रयोग गरेको र ९० जनाले गर्भपतन गराएका छन्।
यसैगरी, आर्थिक वर्ष ०८२/८३ मा ७४५ जनाले पहिलोपटक गर्भ जाँच गराएको, ३२२ जना सुत्केरी भएको, २३० जनाले परिवार नियोजन साधन प्रयोग गरेको र ८४ जनाले गर्भपतन गराएका पब्लिक हेल्थ नर्सिङ अधिकृत पदमाकुमारी श्रेष्ठले जानकारी दिइन्।
स्वास्थ्य संस्थामा गएमा पहिलोपटक गर्भ जाँच गर्ने, सुत्केरी हुने, परिवार नियोजनको साधन प्रयोग गर्ने र गर्भपतन गर्ने बालिकाको संख्या हेर्दा बालविवाह बढेको देखिन्छ।
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृष्ण खनालले सानो उमेरमा विवाह गर्दा महिलाहरूमा विभिन्न स्वास्थ्य समस्याहरू देखिने गरेको बताए। उनले भने, ‘प्रजनन अंग परिपक्क नहुँदा गर्भमा रहेको बच्चाको विकास नहुने, बच्चा खेर जाने, आमालाई लामो समय व्यथा लाग्ने, फिस्टुला हुने, प्रसूति हुँदा रक्तश्राव अत्यधिक हुने, आमा र बच्चाको ज्यानसमेत जान सक्ने, अपरेसन गर्नुपर्ने र केहीमा मानसिक समस्या पनि देखिने हुन्छ।’
बर्दिया अस्पताल गुलरियाका मेडिकल रेकर्डर एवं सूचना अधिकारी केशव न्यौपानेले अस्पतालमा सुत्केरी हुन आउने बालिकाको उमेर हेर्दा १५ देखि १९ वर्ष हुने गरेको बताए। उनले भने, ‘कहिलेकाही सुत्केरी हुन आउने बालिका र उनको श्रीमान् उमेर हेर्दा २० वर्षभन्दा कम देखिन्छन्।’
अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत आर्थिक वर्ष ०८२/८३ मा ९६ जना, आर्थिक वर्ष ०८१/८२ मा ९१ जना र आर्थिक वर्ष ०८०/८१ मा ७० जना २० भन्दामुनिका बालिकाले सेवा लिएका छन्।