उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ११ स्थित फिल्म हलनजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ भने ७० वर्षीया वृद्धा घाइते भएकी छिन्।
प्रहरीका अनुसार असोज २३ गते बिहान करिब १०:२५ बजे आँखा अस्पतालबाट मेनचोकतर्फ जाँदै गरेको पानी बोकेको को.प्र.०५–००१ च ०१९० नम्बरको पिकअप जिपमा सोही दिशाबाट आउँदै गरेको को.प्र.०५–००१ ह ०८७६ नम्बरको सिटी सफारी पछाडिबाट ठोक्किएको थियो।
दुर्घटनामा त्रियुगा नगरपालिका– ११ निवासी शिवकुमार सदाकी दुई वर्षीया छोरी रागिनी सदा गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा दिउँसो १२:५६ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ७० वर्षीया कन्नि सदा पनि घाइते भएकी छिन्। उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ।
घटनापछि प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा सिटी सफारीचालकले मादक पदार्थ सेवन गरेको र आवश्यक कागजातसमेत साथमा नराखेको खुलेको जनाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।