२२ किलो सुनका मुख्य मालिक चीनमा, काठमाडौंको अवैध बजार खोज्दै प्रहरी

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण
२२ किलो सुनका मुख्य मालिक चीनमा, काठमाडौंको अवैध बजार खोज्दै प्रहरी

सुनसहित पक्राउ परेका चिनियाँहरु। तस्बिरः संजीत परियार/नयाँ पत्रिका

काठमाडौं । बिहीबार काठमाडौंको बुढानीलकण्ठ– २, भंगालबाट बरामद गरेको सुनका मुख्य मालिक चीनमा रहेको प्रहरीले जनाएको छ । मुख्य व्यक्ति सु कान भएको र उनले चीनबाटै काठमाडौंमा सुनको तस्करी गरी बिक्री गर्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए। 

भाडामा लिएको एक घरबाट प्रहरीले २१ किलो ७५० ग्राम ६८० मिलिग्राम तौलबराबरको सुन बरामद भएको हो । सो घरबाट प्रहरीले चिनियाँ नागरिकहरू २७ वर्षीय हान फी, ४७ वर्षीय झाउ लोङक्विन र ३७ वर्षीय वाङ जिआनझेनलाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सो घरबाट सुन प्रशोधन गर्ने सामग्रीसमेत बरामद भएको छ ।  null

प्रहरीका अनुसार सो घर मासिक तीन लाख ३० हजार भाडा दिने गरी गत साउन ८ गते चिनियाँ नागरिक वाङ जियाङछुले घरधनीसँग सम्झौता गरेका थिए । जसअनुसार उनले चार महिनाको अग्रिम भाडासमेत बुझाइसकेका थिए । 

घर भाडामा लिने वाङ चीन फर्किसकेका छन् । उनले घरको चाबी छु कानलाई दिएको र उनले हान फीलाई दिएर नेपाल पठाएको प्रहरी अनुसन्धानमा खुलेको छ । हान फीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तीनैजना चिनियाँ दुई साताअघि मात्र नेपाल आएका थिए । उनीहरू आउँदा सुन लुकाएर ल्याएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ। 

भाडामा लिएको घरलाई सुन प्रशोधनको कारखानाका रूपमा उनीहरूले प्रयोग गर्दै आएको एसएसपी खड्काले बताए । उनीहरूले लेसिलो सुन ल्याएर मेसिनमा सुकाउने र अर्काे मेसिनमा राखेर त्यसलाई टुक्रा बनाई बिक्री गर्दथे । चीनबाट उनीहरूले लेसाइलो सुन तस्करी गरी ल्याएको प्रहरी आशंका छ । तर, कसरी ल्याउँथे भन्नेमा प्रहरीले कुनै प्रमाण भेट्टाउन सकेको छैन । ‘सुन कसरी ल्याउँथे र कहाँ बिक्री गर्दथे भन्ने विषयमा अनुसन्धान जारी छ,’ उनी भन्छन्, ‘अनुसन्धानमा पक्राउ परेकाहरूले असहयोग गरेकाले पनि थप विवरण पत्ता लगाउन समस्या भएको हो ।’ 

प्रारम्भिक अनुसन्धानमा निकै संगठित तरिकाले यो काम गरेको प्रहरी निष्कर्ष छ । चीनमा रहेका छु कानले नै विच्याटमार्फत कारोबार चलाउँदै आएका थिए । कसलाई कहाँ लगेर सुन दिनेलगायतका काम उनले चीनबाटै लगाउने गरेको एसएसपी खड्का बताउँछन् । 
बरामदमध्ये दुई किलो सुन भने प्रहरीले गाडीबाट बरामद गरेको हो । घरबाट कतै लैजान लागेको अवस्थामा सो सुन बरामद भएको थियो । गेटमै गाडी रोकेर प्रहरीले खानतलासी गर्दा झन्डै २२ केजी सुन भेटिएको हो । बरामद सुनको मूल्य ५४ करोड ६० लाख रुपैयाँ छ । 
 

सुझावित समाचार