पोखरा बस दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

कास्की । शुक्रबार पोखरामा पाँचजनाको ज्यान जाने गरी भएको दुर्घटना सम्बन्धमा छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। दुर्घटनाको कारण पहिचान गर्न तथा आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय र सुझावसहित प्रतिवेदन पेस गर्ने गरी पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको हो।

महानगर प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यले महानगरपालिकाअन्तर्गतको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा समिति गठन गरेका हुन्। समितिका सदस्यहरूमा सरोज चालिसे (मेकानिकल इन्जिनियर), डोलराज पाण्डे (महानगर शिक्षा समिति सदस्य), पुरुषोत्तम थापा (नगर प्रहरी निरीक्षक) र अमृत भट्टराई (ट्राफिक सहायक निरीक्षक) रहेका छन्।

समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरूको विस्तृत अध्ययन तथा छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको नगरप्रमुख आचार्यले जानकारी दिए। साथै, विद्यालयका सवारीसाधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीका सम्बन्धमा आवश्यक सुझावसमेत समितिले पेस गर्नेछ।

विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएकाले यस्ता दुःखद घटना पुनः दोहोरिन नदिन विद्यालयका सवारीसाधनको नियमित जाँच, सुरक्षा मापदण्डको कडाइका साथ पालना र प्रभावकारी अनुगमन गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षणसमेत आचार्यले गराएका छन्।

पोखरा– २८, माझठानाबाट विद्यार्थी लिएर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको ग.२ख १४१७ नम्बरको बस ओख्लेमा सडकबाट २५० मिटर तल भिरमा खस्दा चार विद्यार्थी र एक स्थानीयको ज्यान गएको छ।

मृत्यु हुने विद्यार्थीमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, १५ वर्षीया सवेच्छा तिवारी र परिचय नखुलेकी अन्दाजी १५ वर्षीया एक किशोरी रहेका छन्। साथै, सोही बसमा सवार पोखरा– २८ निवासी ६५ वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। उनी उपचारका लागि अस्पताल जान लिफ्ट मागेर बसमा चढेका थिए।

दुर्घटनामा घाइते भएका १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पाँचजनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

उद्धारका क्रममा एकजना प्रहरीसमेत घाइते भएका छन्। घाइते भएका शिशुवामा कार्यरत ३१ वर्षीय प्रहरी जवान अर्जुन शाहीको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ।

सुझावित समाचार