विराटनगर । कोशी प्रदेश प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै प्रदेशभर सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रदेशका १४ वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ।
कोशी प्रदेश प्रहरीका अनुसार चाडपर्वको सुरक्षाका लागि आठ हजार १३३ जना प्रहरी परिचालन गरिएको छ। त्यस्तै, यात्रुको सहजताका लागि ७२ स्थानमा यात्रु सहायता कक्ष स्थापना, ४५३ वटा क्विक रेस्पोन्स टिम (क्युआरटी) तथा ५०३ वटा पिकेट टोली परिचालन गरिएको छ।
चाडपर्वका वेला मुख्य सहर, बजार, राजमार्ग, सीमावर्ती क्षेत्र, धार्मिक स्थल तथा आर्थिक कारोबार हुने स्थानमा प्रहरीको उपस्थिति बढाइएको प्रदेश प्रहरीले जनाएको छ।
चाडपर्वमा घर फर्किने यात्रु ठगीमा पर्ने, सार्वजनिक यातायातमा असहजता हुने तथा भिडभाडमा चोरी र पाकेटमारीका घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै १४ जिल्लाका ७२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो। ती कक्षबाट यात्रुलाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै गुनासो सुनुवाइ र यात्राका क्रममा देखिने समस्या समाधानमा सहजीकरण गरिनेछ।
त्यसैगरी, सीमावर्ती क्षेत्रमा हुने चोरी, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न ८३ वटा टोली परिचालन गरिएको छ। सीमा क्षेत्रमा कुकुरसहितको टोली परिचालन गर्नुका साथै सहरका विभिन्न स्थानमा सिसिटिभी र ड्रोनमार्फत निगरानी बढाइएको प्रहरीले जनाएको छ। पटका तथा अन्य विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रणमा समेत कडाइ गरिनेछ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा ४५३ वटा क्युआरटी र १५ वटा स्ट्राइकिङ टोली परिचालन गरिएको छ। बढी भिडभाड हुने चोक, बजार तथा सार्वजनिक स्थानमा सिसिटिभीमार्फत निगरानी बढाइएको छ भने आवश्यकताअनुसार ड्रोन क्यामेराको प्रयोग गरी सुरक्षा अवस्थाको अनुगमन गरिनेछ।
सवारी आवागमनलाई व्यवस्थित बनाउन तथा दुर्घटना न्यूनीकरण गर्न प्रदेशका १७९ स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ टोली र २२ स्थानमा राजमार्ग स्कर्टिङ टोली खटाइएको छ। गाउँ तथा सहरमा हुने चोरी नियन्त्रणका लागि ९८ वटा मोबाइल गस्ती टोलीसमेत परिचालन गरिनेछ।
यसैगरी, बजार, मेला, जात्रा तथा भिडभाड हुने क्षेत्रका लागि २१५ स्थानमा टोली परिचालन गर्ने योजना रहेको प्रहरीले जनाएको छ। धार्मिक तथा पर्यटकीय स्थल र शक्तिपीठहरूको सुरक्षाका लागि पनि विशेष टोली खटाइनेछ।
चाडपर्वका समयमा सार्वजनिक सम्पत्तिको संरक्षण तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न बैंक, वित्तीय संस्था र सुनचाँदी कारोबार हुने स्थानको सुरक्षामा नागरिक समाजसँग सहकार्य गरिने प्रहरीले जनाएको छ।
प्रदेश प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन नागरिकका गुनासा तत्काल सम्बोधन गर्ने, शंकास्पद गतिविधिमाथि निगरानी राख्ने तथा घटना भइसकेपछि मात्रै प्रतिक्रिया जनाउनेभन्दा घटना हुनुअघि नै रोकथाम गर्ने रणनीतिलाई प्राथमिकता दिएको छ।