नापजाँच सम्पन्न भएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका– १ का २५० स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १४ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

साबिक एकडारा गाविसका वडा नं. १, २, ३, ४ र ६ मा लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व प्राप्त गरेका हुन्। नापी कार्यालय महोत्तरीले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो।

उक्त क्षेत्रमा जग्गाको नापजाँच कार्य आर्थिक वर्ष ०६९/७० मै सम्पन्न भएको थियो। तर, नापजाँच तथा नक्सांकनको काम पूरा भए पनि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया अघि बढ्न नसक्दा लालपुर्जा वितरण लामो समयदेखि रोकिएको थियो। लामो समयदेखि अल्झिएको प्रक्रिया अघि बढेसँगै अहिले २५० परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका हुन्।

लालपुर्जा प्राप्त भएसँगै स्ववासी परिवारको जग्गामाथिको स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ। यसबाट उनीहरूलाई जग्गाको स्वामित्वसम्बन्धी कानुनी सुरक्षा प्राप्त हुनुका साथै आर्थिक गतिविधिमा समेत सहजता हुने अपेक्षा गरिएको छ।

जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुने र जग्गाको स्वामित्वसम्बन्धी विवाद निरुपण गर्नसमेत मद्दत पुग्नेछ। यसले स्थानीय बासिन्दाको सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्न तथा आर्थिक अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।


 

सुझावित समाचार