तीर्थयात्री बोकेका दुई बस जो यात्रीसहित बाढीमा हराए
‘म सुत्नै सकिनँ आमा–बुबा ! मलाई तपाईंहरूविना बस्ने आदत कहिले पो थियो र ? म त्यो खुट्टा कहिले छुन सक्छु र बुबा–आमा अब । म टुहुरो भएँ । म साँच्चिकैको टुहुरो भएँ । मेरो सर्वस्व सकियो । घर छ त्यो घरमा बस्ने बा–आमा नै नभएपछि त्यो घर हुनु र नहुनुमा के अर्थ भयो र !’
भोटेकोशी नदीमा १० भदौमा आएको बाढीदेखि आफ्ना बुबा–आमाको हरहालत अज्ञात भएपछि चरम निराशाको अवस्थामा शनिबार राति साढे १० बजे धादिङको नीलकण्ठ नगरपालिका– ९, सालबोटेका पर्वत लम्सालले फेसबुकमा लेखेको स्टाटस हो यो ।
भोटेकोशी बाढीको घटनापछि नीलकण्ठका २९ जनाको अवस्था अज्ञात छ । न व्यक्ति भेटिन्छ, न लास । उनीहरू सवार बससम्मको पत्तो लाग्न सकेको छैन । जनैपूर्णिमामा गोसाईँकुण्ड दर्शन गर्न हिँडेको गाउँलेहरू बेखबर छन् । ‘गाउँ नै टुहुरो भयो,’ भावविह्वल हुँदै पर्वतले नयाँ पत्रिकासँग भने, ‘आँखामा आँसु नै सकियो ।’
नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्माका अनुसार स्थानीयहरू चढेको बस अहिलेसम्म भेटिएको छैन । केही काठमाडौं र चितवनसहित गोसाईँकुण्ड जाने र अन्य कामका लागि आफ्नो पालिकाका करिब ३५ जना हराएको उनले बताए । ‘वेत्रावती पुगेर खोजी गर्दा पनि केही पत्ता लाग्न सकेन,’ उनले भने, ‘अहिले शव पहिचान गर्ने प्रयास गरिरहेका छौँ ।’
१० भदौ बिहान सवा ६ बजेआसपासमा धादिङको नीलकण्ठ नगरपालिका– ३, पुछारबजारबाट २५ जनाजति स्थानीय गोसाईँकुण्ड दर्शनका लागि बा५ख १२५० को बसमा अघि बढेका थिए । बसमा रहेका अधिकांश गाउँले, आफन्ती र नातासम्बन्धका थिए । पर्वतका अनुसार बसमा ११ दम्पती मात्र थिए । तीर्थयात्राका लागि हिँडेको समूहमा अधिकांश घरमुली थिए ।
सम्पर्कविहीन हुनेमा नीलकण्ठ– १२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, शारदा लम्साल, प्रकाश लम्साल, इन्दिरा लम्साल छन् । त्यस्तै नीलकण्ठ– ९ का राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरि लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल, न्याउरी लम्साल सम्पर्कविहीन छन् । त्यस्तै सिद्धलेक– १ का घनश्याम भट्ट र कल्पना भट्ट, हरिप्रसाद सिलवाल, बिन्दा सिलवाल, नीलकण्ठ– ३ का सीता तिवारी र तुल्सी तिम्सिनासहित २९ जना सम्पर्कविहीन रहेको उपमेयर विश्वकर्माले बताए ।
यो घटनासँग सम्बद्ध र आफन्ती हराएकामा शोकमा परेका पर्वत लम्सालसँग नयाँ पत्रिकाले कुराकानी गरेको छ । घटनामा पर्वतका बुबा–आमादेखि ठुलोबुबा–ठुलीआमा, दिदी–भिनाजुसम्म सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुने अधिकांश उनका आफन्ती र नातेदार छन् । लम्साललाई यो घटना सपनाजस्तो लागेको छ । उनका अनुसार गोसाईँकुण्ड जाने योजना यात्राको दुई–तीन दिनअघि भएको थियो । नगरपालिकाको १२ वडाका गैरीटोल र ९ को सालबोटे अलग–अलग जाने योजना भएकामा ३ नम्बर वडासमेत भएर अन्तिममा सँगै जाने गरी यात्राको टुंगो लगाइएको थियो । सुरुमा रिजर्भ गरिएको गाडीसमेत रद्द गरेर संयुक्त रूपमा जाने गरी अर्को गाडी रिजर्भ गरिएको थियो ।
१२ नम्बर वडाका गाडीधनी छविलाल श्रेष्ठ आफैँले बा.५ख १२५० को गाडी चलाएका थिए । त्यो दिनको घटना पर्वतको आँखामा झलझली आइरहेको छ । ‘बुबाले भैँसी–गाईको भकारो सोहोर्नुभएको थियो । दुईवटा गाई र एउटा भैँसी दुहेर म डेरीतिर गएँ,’ उनी भन्छन्, ‘उहाँहरू तीर्थयात्राका लागि गाडीतिर लाग्नुभो ।’
गोसाईँकुण्ड जाने तय भएका मानिसहरू हाल्दै गाडी गैरीटोल, पशुपतिडाँडा हुँदै पुछारबजार पुग्यो । ‘बिहान करिब ६ः१५ तिर पुछारबजारबाट गाडी गोसाईँकुण्डका लागि हिँडेको हो,’ पर्वत भन्छन् । पुछारबजारबाट हिँड्दा बसमा ११ दम्पती, एकजना अधबैंसे महिला र ड्राइभरसहित कुल २४ जना रहेको उनको भनाइ छ ।
बसमा पर्याप्त मान्छे नभएकाले अतिरिक्त मान्छेसमेत हाल्ने सर्तमा रिजर्भ गरिएको गाडीले बाटोमा केही मान्छेसमेत हालेको हुन सक्ने पर्वत बताउँछन् । उनका अनुसार काठमाडौंबाट गाउँकै अरू चारजना पनि गोसाईँकुण्डका लागि हिँडेका थिए । बाटोमा भेटेर सँगै जाने गरी सल्लाहमै उनीहरू निस्किएका थिए । सबै भेटिएर अघि बढेको हुन सक्ने अनुमान उनको छ ।
पर्वतले बताएअनुसार बुधबार बिहान ९ः११ मा बस विदुर पुगेको थियो । त्यो बसमा सवार आफ्ना बुबासँग सौगात लम्सालले कुराकानी गरेको समय थियो । ‘त्यसपछि अलिअलि फोन लाग्दै थियो, तर बिस्तारै सबैको मोबाइल अफ हुँदै गयो,’ उनले भने, ‘राम लम्सालको आइफोनमा दिउँसो २ः१३ सम्म पनि फोन बजिरहेको थियो । त्यसपछि त्यो फोन पनि बज्न छाड्यो ।’ हालसम्म कसैको पनि पहिचान पत्ता नलागेको पर्वतले बताए ।
पालुङटारले सार्वजनिक गर्यो बेपत्ताको नामसहित फोटो
१० भदौ बिहान झिसमिसेमै गोरखाको पालुङटारबाट तीनवटा सवारी तीर्थयात्राका लागि गोसाईँकुण्डतर्फ अगाडि बढेका थिए । सबेरै ३ बजे बा.प्र.०६–००१ ख ०६६२ र बा.प्र.०६–००६ ख ८२३ नम्बरका माइक्रोबस र साढे ४ बजे ग.२ ख ११५२ नम्बरको बस रसुवातर्फ हिँडेका थिए । दुई दिनपछि जनैपूर्णिमालाई लक्षित गरेर नगरपालिका र केही वरपरका समेत गरेर कुल ७१ जना गोसाईँकुण्डतर्फ लागेका थिए । त्यसमध्ये एउटा माइक्रोमा १९, अर्कोमा १६ र बसमा ३६ जना यात्रु सवार थिए । तर, दैवैसंयोग एकै गाउँ–ठाउँबाट सँगै तीर्थयात्राका लागि गएकामध्ये बसमा सवार ३० जनाको कुनै खैखबर छैन । भोटेकोशी बाढीको चपेटामा फसेर उनीहरू सम्पर्कविहीन छन् । गाउँपालिकाले ती सम्पर्कविहीनको फोटोसहितको विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार सम्पर्कविहीन हुनेमा वडा नम्बर ५ का सागर देवकोटा, राममाया देवकोटा, पद्मकुमारी देवकोटा, तारा रानाभाट, रामहरि देवकोटा, कमला देवकोटा, सुजाता कौडाल, दुर्गादेवी देवकोटा, सपना देवकोटा, कृष्णकला देवकोटा, मायादेवी देवकोटा, नानुमाया थापा, दुर्गा देवकोटा, शारदा देवकोटा, मुक्ति अम्गाईं, मिठुमाया अम्गाईं, घनश्याम देवकोटा, सम्झना देवकोटा, मायादेवी खड्का, केदार पण्डित, सरिता अधिकारी पण्डित, मधुमाया पण्डित, कमला पण्डित, मुरारी खत्री, दिलबहादुर खत्री र गोमा पपने छन् । त्यस्तै, वडा नम्बर २ की सुष्मा न्यौपाने, वडा नम्बर ७ की सुमी कुमाल, नगरपालिकासँग जोडिएको तनहुँको भानु नगरपालिका– ८ की चिनीमाया खत्री र भानु नगरपालिका– २ की सुस्मिता कुँवर छन् ।
बसमा सवार रहेका सहचालकसहित ६ जनाले भने हामफालेर ज्यान जोगाउन सफल भए । उनीहरू गाउँ फर्किसकेका छन् । बससँगै तीर्थयात्राका लागि हिँडेका दुईवटा माइक्रो भने बाढीबाट उम्किन सफल भए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीका अनुसार एउटा माइक्रो बाढी आउनुअघि नै उम्केर अघि बढिसकेको थियो । अर्को एउटा माइक्रो बाढी आएको थाहा पाएपछि पछि फर्कियो । ती माइक्रोका अधिकांश गाउँ फर्किसकेका छन् । प्रमुख प्रशासकीय अधिकृत बिसीका अनुसार फूलबारी र वेत्रावतीको बिचबाट बस हराएको पत्ता लागेको छ ।
हालसम्म बसमा सवार भएकामध्ये चारजनाको शव भेटिएको छ । शव भेटिनेमा कमला देवकोटा, केदार पण्डित, यामबहादुर थापा र सुमी कुमाल छन् । यामबहादुर र सुमीको दाहसंस्कारसमेत भइसकेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसीले बताएअनुसार अहिले गाउँ शोकमा छ । ‘कतिपयको आमा–बुबा, दाजु–भाउजू बित्नुभो । कतिपयको घर नै शून्य भएको छ । परिवार र आफन्ती गुमाएकाहरू मानसिक रूपमा विक्षिप्त हुनुहुन्छ,’ उनले भने । उनका अनुसार तीन दम्पती नै गुमेका छन् ।
नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्मा भन्छन्– नीलकण्ठका स्थानीयहरू चढेको बस अहिलेसम्म भेटिएको छैन । वेत्रावती पुगेर खोजी गर्दा पनि केही पत्ता लाग्न सकेन । अहिले शव पहिचान गर्ने प्रयास गरिरहेका छौँ ।