बुढानीलकण्ठबाट २० केजीभन्दा धेरै सुन बरामद
प्रहरीले २० केजीभन्दा धेरै सुनसहित चिनियाँलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंको बुढानीलकण्ठबाट तस्करीको सुन बरामद गरेको हो।
तस्करी गर्ने दुई चिनियाँ नागरिक र उनका केही सहयोगीसमेत पक्राउ परेको स्रोत बताउँछ। ‘२० केजीआसपास सुन बरामद भएको छ, केही व्यक्ति नियन्त्रणमा छन्,’ कार्यालयका एक अधिकारीले भने। विभिन्न सामानभित्र लुकाएर ल्याएको सुन पगालेर ढिक्का बनाई उनीहरूले बेच्ने गरेको प्रहरी स्रोत बताउँछ।
कांग्रेस महाधिवेशन एक दिन लम्बियो, मतदान भोलि बिहानदेखि मात्रै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्ने समय पुनः सरेको छ। मतपत्र छपाइमा ढिलाइ हुँदा निर्धारित समयमा निर्वाचन प्रक्रिया सुरु गर्न नसकेको कांग्रेस निर्वाचन समितिले जनाएको छ।
असोज २३ गते बिहान ७ बजे ज्येष्ठ मतदाताबाट मतदान प्रारम्भ गरी दिउँसो ३ बजेसम्म मतदान सम्पन्न गर्ने कार्यक्रम तय भएको सूचनामा उल्लेख छ।
६ जिल्लाका २० पालिकालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा
सरकारले १० र ११ असोजको बाढीपहिरोबाट प्रभावित ६ जिल्लाका विभिन्न गाउँँलाई विपत् संकटग्रस्त घोषणा गरेको छ । २० पालिकालाई तीन महिनाका लागि विपत् संकटग्रस्त घोषणा गरिएको छ। कतिपय पूरै पालिका त केही पालिकाका केही वडालाई मात्र संकटग्रस्त घोषणा गरिएको छ ।
लुम्बिनीकी उपसभामुख खाँड राप्रपाको प्रदेश अध्यक्ष निर्वाचित
लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाँड केसी पदमा बहाल रहेकै अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित भएकी छिन्। उनी भर्खरै भएको प्रदेश अधिवेशनबाट तीन उम्मेदवारलाई पराजित गर्दै विजयी भएकी हुन्।
दाङको लमहीमा बुधबार भएको अधिवेशनबाट खाँड २६६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी ध्रुवबहादुर रायमाझीले १७५, जनक केसीले १३ र तोयानाथ लम्सालले २० मत ल्याएका निर्वाचन समितिका सदस्य कमल न्यौपानेले बताए।
खाँड उपसभामुख बहाल रहेकै अवस्थामा पार्टीको जिम्मेवारी लिएपछि कानुनी अभ्यास र नैतिकताको प्रश्न उठेको छ। नेपालको संसदीय अभ्यासमा उपसभामुख वा सभामुख निर्वाचित भएपछि सम्बन्धित दलको जिम्मेवारीबाट अलग हुने अभ्यास छ। यद्यपि, यो बाध्यकारी व्यवस्था नभएको खाँडको तर्क छ।
एन्फा अध्यक्ष र महासचिवसहित चारजनाविरुद्ध खेलमा मिलेमतो र ठगीसम्बन्धी मुद्दा दायर
अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष पंकजबिक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डेविरुद्ध ठगी र खेलमा मिलमेतोसम्बन्धी मुद्दा दायर भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को अनुसन्धानका आधारमा जिल्ला अदालत, ललितपुरमा बिहीबार मुद्दा दायर भएको हो।
चारमध्ये जोशी र पाण्डे पक्राउ परेका छन् । अध्यक्ष नेम्वाङ र महासचिव राई भने फरार छन्।
परीक्षाविनै जापान बस्नेलाई डोजरको लाइसेन्स, यातायातका हाकिम र प्रहरीसहित सातविरुद्ध मुद्दा
लिखित र ट्रायलविनै जापानमा रहेका व्यक्तिलाई सवारी लाइसेन्स दिएको आरोपमा अख्तियारले यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको छ।
यातायात कार्यालयका कर्मचारी र प्रहरीको मिलेमतोमा विदेशमा रहेका व्यक्तिलाई विनापरीक्षा लाइसेन्स दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।
श्रमिकलाई अनिवार्य ‘चाडपर्व खर्च’ उपलब्ध गराउन रोजगारदातालाई निर्देशन
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ।
विभागका उपमहानिर्देशक विपिन राजभण्डारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रम ऐन, २०७४ को दफा ३७ को व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। उक्त दफामा प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिकबराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।
चाडपर्व विशेष सुरक्षा योजना अन्तर्गत सशस्त्र प्रहरीद्वारा २८ हजारभन्दा बढी जनशक्ति परिचालन
सशस्त्र प्रहरी बल, नेपालले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ तयार गरी असोज २२ गतेबाट देशभर लागू गरेको छ । यसमा २८ हजार धेरै जनशक्तिलाई प्रविधिसहित परिचालन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी नेत्रबहादुर कार्कीले बताए ।
बजेट प्रस्तुत गर्न बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक शनिबारसम्म सारियो
बजेट प्रस्तुत गर्नका लागि आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक आगामी शनिबारसम्म सरेको छ। आज बिहान ८ बजेका लागि आह्वान गरिएको बैठक स्थगित गरेर शनिबार बिहान ८ बजे सारिएको हो। यसअघि बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि हिजो बेलुकी ५ बजे आह्वान गरिएको बैठक आजलाई सारिएको थियो।
यही २४ गते बिहान ८ बजे बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवराज बोगटीले जानकारी दिएका छन्। उक्त बैठकमा आर्थिक मामिलामन्त्री चक्र मल्लले बजेट पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि बजेट कटौती गर्ने बागमती सरकारको निर्णय
बागमती प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विपतबाट भएको क्षतिको व्यवस्थापन तथा राहत, पुनर्स्थापनाका लागि थप आर्थिक स्रोत व्यवस्थापन गर्न अन्य स्रोतबाट बजेट कटौती गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका आनुसार विपत् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक बजेट प्रदेशका विभिन्न मन्त्रालयहरूका प्रस्तावित बजेटहरूबाट केही रकम कटौती गरी विपत् व्यवस्थापनमा लगाउने निर्णय गरिएको छ।