मन्त्रीले ‘पाता कस्ने’ भनेपछि काठमाडौं उपत्यकामा बढ्यो ग्यास आपूर्ति

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

बुधबारको संसदीय समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ‘उद्योगीलाई पाता नकसेसम्म ग्यास आपूर्ति सहज नहुने’ भन्दै आक्रोश पोखेकी थिइन् । विगत ६ महिनादेखि विभिन्न कारणले उपत्यकामा ग्यास आपूर्ति सहज नभएपछि दिक्क बनेकी मन्त्री यादवले संसदीय समिति पुगेर भड्किलोअभिव्यक्ती दिएकी हुन् । तर, उनको यस्तो आक्रोशपूर्ण अभिव्यक्तिपछि भने आयल निगम र उद्योगीले उपत्यकामा आपूर्ति बढाउन सक्रियता बढाएका छन्।

संसदीय समितिमा मन्त्री यादवले उद्योगी र कर्मचारीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेपछि निगम व्यवस्थापन बुधबार दिनभर आपूर्ति बढाउन सक्रिय भएको एक अधिकारीले बताए । जसकारण बुधबार काठमाडौंमा एक सातायताकै सबैभन्दा बढी ४२ हजार ६०९ थान ग्यास सिलिन्डर आपूर्ति व्यवस्थापन भएको थियो ।

आयल निगमको एलपिजी विभागका अनुसार बिहीबार मध्याह्न १२ बजेसम्म पनि उपत्यकामा ३४ हजार ४१६ थान ग्यास आपूर्ति सुनिश्चित भइसकेको छ । उपत्यकामा बजारीकरण गरेका सबै ग्यास कम्पनीका सिलिन्डरहरू बुधबार डिलरमार्फत बिक्रीका लागि पुगिरहेको निगमले जनाएको छ ।

आयल निगमका अनुसार बिहीबार १९ कम्पनीका ग्यास सिलिन्डर वितरणका लागि डिलरकहाँ पुगेका छन् । जुन एक सातायताकै उच्च संख्या पनि हो । कृष्णभिरमा पहिरो गएयता दैनिक १३–१४ वटा कम्पनीले मात्र डिलरलाई ग्यास उपलब्ध गराइरहेका थिए ।

निगमको एलपिजी विभागको तथ्यांकअनुसार बिहीबार ‘ग्यास वान’ २८३, गीता ५९३,  एचपी दुई हजार २२७, श्रीमाया तीन हजार ४६,  मारुती १६५, एसटिसी दुई हजार ५६०, नमस्ते ६६७ र नेपाल ग्यास पाँच हजार ७८० थान सिलिन्डर उपभोक्तालाई बिक्रीका लागि डिलरकहाँ पठाइएको छ । त्यस्तै, सगर चार हजार ७८१, साईबाबा एक हजार ६३०, श्रीकृष्ण ९२४, सीता एक हजार ६०९, मनोज तीन सय, भानु ४५२, ओम ५५७, श्री ९६०, श्रीराम सात सय र सुगम ४७० थान ग्यास डिलरकहाँ पुगेको आयल निगमले जनाएको छ ।

यसबाहेक एभरेस्ट ब्रान्डको चार हजार ६९४ सिलिन्डरमा ग्यास भरेर बुधबार बिहान हेटौँडाबाट गाडीहरू काठमाडौं प्रस्थान गरेको निगमले जनाएको छ । त्यस्तै, सुगमको एक हजार ७२५ सिलिन्डरमा पनि ग्यास भरेर बिहानै हेटौँडाबाट ट्रकहरू काठमाडौं प्रस्थान गरेका छन् । सूर्या ब्रान्डको ९९३ थान सिलिन्डर पनि वीरगन्जस्थित उद्योगमा रिफिल भएर बिहानै काठमाडौंका लागि निस्किएको निगमले जनाएको छ ।

एक सातामा कहिले कति वितरण भयो ?

मन्त्रीले ग्यास वितरणको संख्या र प्रणालीमा चर्को असन्तुष्टि पोखेपछि बुधबार सबैभन्दा बढी ४२ हजार ८०९ थान ग्यास सिलिन्डर काठमाडौंमा वितरणको व्यवस्थापन भएको थियो । त्यस्तै, बिहीबार मध्याह्नसम्म ३४ हजार ४१६ थान ग्यास आपूर्ति सुनिश्चित भइसककेो छ । बिहीबार वितरण हुने ग्यासको संख्या अझै बढ्न सक्ने निगमले जनाएको छ ।

मंगलबार १९ हजार ५६२, सोमबार १७ हजार ९१९, आइतबार १३ हजार ६२७, शनिबार ६ हजार ८२४ र शुक्रबार ११ हजार १४८ थान ग्यास काठमाडौंमा वितरण भएको निगमले जनाएको छ ।

सुझावित समाचार