काठमाडौं/ सुरक्षासम्बन्धी गम्भीर सूचना चुहावट गरेको अभियोगमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशीराज दाहालमाथि जाँचबुझ समितिले छानबिन थालेको छ। सशस्त्र प्रहरीकै एआइजी अञ्जनीकुमार पोखरेलको जाँचबुझ समितिले मंगलबारदेखि छानबिन थालेको हो। समितिलाई प्रतिवेदन बुझाउन तीन दिनको समय दिइएको छ।
एक सदस्यीय जाँचबुझ समितिले सशस्त्र प्रहरीकै कानुन निर्देशनालयको सहयोगमा जाँचबुझ गर्न थालेको हो। स्रोतका अनुसार उनीविरुद्धका प्रमाण संलकन गरी स्पष्टीकरण सोध्ने, बयान लिनेदेखि कारबाहीको सिफारिस गर्न भनिएको छ।
एआइजी दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरानिकट बिचौलिया इनाम सापकोटालाई सुरक्षासम्बन्धी गोप्य विवरण उपलब्ध गराएको आरोप छ। सापकोटालाई हाल जिल्ला प्रहरी परिसर, काठमाडौंले थुनामा राखेर अनुसन्धान गरिरहेको छ। उनको मोबाइल एआइजी दाहालले पठाएका गम्भीर सूचनापछि गृह मन्त्रालयले सोमबार उनलाई निलम्बन गरी जाँचबुझ थालेको हो।
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि एआइजी दाहालले सापकोटामार्फत उनलाई सूचना दिएर पदीय आचरणविपरीतको गतिविधि गरेको आरोप छ। जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा उनलाई विभागीय कारबाही गर्ने कि फौजदारी अभियोगमा अनुसन्धान गर्ने तय हुने गृह मन्त्रालयका अधिकारी बताउँछन् ।
उता गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहावट गरेर देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकैलाई कठघरामा ल्याइने चेतावनी दिएका छन्।