संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदै कञ्चनपुरकी किशोरी स्वर्णिमा

शुक्रबार, २ असोज, २०८३
डिजिटल संस्करण

कञ्चनपुरकी एक किशोरी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने भएकी छिन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा कञ्चनपुर बेलौरीकी छात्रा स्वर्णिमा कँडेल सहभागी हुन लागेकी हुन्। बेलौरीको उग्रतारा बाल विद्यालयमा कक्षा १० मा अध्ययनरत स्वर्णिमा कँडेल युनिसेफ नेपालमार्फत महासभामा सहभागी हुन लागेकी हुन्। बाल संगठनका तर्फबाट महासभामा सहभागी हुने उनी पहिलो छात्रा भएको विद्यालयले जनाएको छ।

युनिसेफ नेपालकी अधिवक्ता तथा बाल अधिकार अभियन्तासमेत रहेकी कँडेल अमेरिकाको न्युयोर्कमा हुने महासभामा २२ सेप्टेम्बरदेखि सञ्चालन हुने कार्यक्रममा सहभागी हुनेछिन्। बाल अधिकारको प्रवर्द्धन, किशोरी सशक्तीकरण तथा युनिसेफका कार्यक्रम र पैरवीसम्बन्धी पहलमा सक्रिय सहभागिता र प्रतिबद्धताका आधारमा कँडेलले युनिसेफ नेपालको प्रतिनिधित्व गर्दै युवा अधिवक्ताका रूपमा महासभासँग सम्बन्धित कार्यक्रममा सहभागिता जनाउने अवसर पाएकी हुन्।

उग्रतारा बाल विद्यालयका प्रधानाध्यापक केशवसिंह विष्टले स्वर्णिमाको अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा सहभागिता विद्यालयका लागि अत्यन्त गर्वको विषय भएको बताए। उनका अनुसार स्वर्णिमाले विद्यालयको मात्र नभई समग्र देश, प्रदेश, जिल्ला तथा स्थानीय बेलौरीकै अन्तर्राष्ट्रिय मञ्चमा पहिचान बनाउन महत्त्वपूर्ण योगदान पुर्याउनेछिन्।

संयुक्त राष्ट्रसंघको सप्ताहका क्रममा उनले विश्वका विभिन्न देशका युवासँग छलफल तथा अन्तरक्रियामा सहभागी हुनुका साथै विभिन्न साइड इभेन्टमा आफ्ना अनुभव, विचार तथा दृष्टिकोण प्रस्तुत गर्ने अवसर पाउनेछिन्। साथै, बालबालिका तथा युवाका अधिकार, उनीहरूको कल्याण र किशोरी सशक्तीकरणका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो धारणा राख्ने अवसरसमेत पाउनेछिन्। प्रिन्सिपल विष्टका अनुसार अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुनुअघि उग्रतारा बाल विद्यालयले बिहीबार स्वर्णिमालाई सफल यात्राको कामनासहित बिदाइ गरेको थियो।

अन्तर्राष्ट्रिय समारोहमा बेलौरीकी छात्राले सहभागिता जनाउने भएपछि स्थानीय सरोकारवालासमेत खुसी भएका छन्। बेलौरी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख अम्बादत्त भट्टले स्वर्णिमाको उपलब्धि बेलौरीका लागि मात्र नभई समग्र नेपालकै गौरवको विषय भएको बताए। उनले भने, ‘कलिलो उमेरमै विश्वकै महत्त्वपूर्ण अन्तर्राष्ट्रिय संस्थाको मञ्चमा विभिन्न देशका प्रतिनिधि तथा व्यक्तित्वहरूसमक्ष आफ्ना विचार प्रस्तुत गर्ने अवसर प्राप्त गर्नु महत्त्वपूर्ण उपलब्धि हो।’

बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख विमला बजगाईंले संयुक्त राष्ट्रसंघजस्तो अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्धित कार्यक्रममा सहभागिता जनाउनु स्वर्णिमा, उनको परिवार, विद्यालय तथा बेलौरीका लागि गौरवको विषय भएको बताउँदै उनको सफल र उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरिन्।

स्वर्णिमा कँडेलले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पाउँदा निकै उत्साहित भएको बताइन्। उनले आफूले नेपालका बालबालिका, किशोरी तथा युवाका विषयवस्तु अन्तर्राष्ट्रिय मञ्चमा राख्ने बताइन्। सामान्य परिवारकी छोरी कँडेलले संयुक्त राष्ट्रसंघको महासभाजस्तो ठुलो अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुने अवसर पाएपछि उनको घरपरिवारसमेत हर्षित भएको छ।

सुझावित समाचार