पढाइ खर्च नदिएपछि बुबालाई बलात्कार मुद्दा‍‍...

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

दाङको दंगीशरण गाउँपालिका– ३, चितानपुरकी एक छोरीले बुबालाई लगाएको बलात्कारको मुद्दाको हालै अदालतले फैसला गरेको छ । उच्च अदालत तुलसीपुरको बुधबार उक्त फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको छ । सोही जसअनुसार सुरुमा एक १४ वर्षीया छोरीले बुबामाथि बलात्कारको मुद्दा लगाएकी छिन् । उनले अनुसन्धानका क्रममा प्रहरीसमक्ष बलात्कार भएकै बयान दिएकी छिन्  । तर, मुद्दा अदालतमा गएपछि भने बुबाले कपी, कलम नदिएपछि बलात्कारको मुद्दा लगाएको ती छोरीले बकपत्र गरेकी छिन् । उनले आफ्नो बुबा निर्दोष रहेकोसमेत बयान दिइन् ।

आफ्नो जन्म दिने आमाले दोस्रो विवाह गरेपछि आफ्ना बुबा, कान्छीआमा र भाइबहिनीहरूसँग बस्दै आएकी बालिका कक्षा १० मा  पढ्छिन्। उनले बुबाले अत्यधिक मदिरा सेवन गर्ने, निरन्तर झगडा गर्ने र पढाइ खर्च तथा दैनिक आवश्यकता पूरा नगर्ने बानीबाट आजित भएपछि यस्तो आरोप लगाएर जाहेरी दिएको बयान दिएकी  छिन् । 

०८१ कात्तिक २९ गते बेलुकी घरमा विवाद भएपछि बुबाको रक्सी खाने लत र व्यवहार सुधार्ने उद्देश्यले यसरी प्रहरीसमक्ष पुगेको उनले बताइन् । उद्यपि, प्रहरी कार्यालयमा उनले हाडनातामा जबर्जस्ती करणी उद्योगको अभियोगका रूपमा जाहेरी दरखास्त दिएकी थिइन् । जसमा ३६ वर्षीय बुबाले आफूलाई विगत ६/७ वर्षदेखि करणी गर्दै आएको र सोही दिन साँझ साढे ६ बजेतिर जबर्जस्ती करणीको प्रयास गरेको भनी उल्लेख गरेकी थिइन् ।

उनको शारीरिक परीक्षण प्रतिवेदनमा कुनै पनि घाउचोट वा चोटपटक नदेखिए तापनि सुरु अदालतको थुनछेक आदेशबाट बुबा ०८१ पुस ९ मा पुर्पक्षका लागि कारागार चलान भए । पछि अदालतमा उपस्थित भई पीडित बालिका तथा स्थानीय साक्षीहरूले बुबाले करणीको प्रयास नगरेको, ६–७ वर्षअघि बुबा भारतमा रहेको र केवल रक्सीको लत छुटाउन तथा पढाइ खर्च माग्न प्रहरीकहाँ जाँदा सो जाहेरी लेखिएको भनी बकपत्र गरे । 

त्यसपछि ०८२ जेठ २७ मा बुबालाई सफाइ दियो । त्यसपछि उच्च सरकारी वकिल कार्यालयमार्फत पुनः अदालतमा मुद्दा पुनरावेदन गरियो । बालिकाले बयान फेरे पनि आफ्नो बुबालाई अनाहकमा आरोप लगाउन नसक्ने भन्दै ‘होसटाइल’ बकपत्र गरेको भनी सरकारी पक्षले नै पुनरावेदन गरेको थियो । तर, उच्च अदालत तुलसीपुरले पनि सरकारी पक्षको शंकारहित प्रमाण जुटाउन नसकेको र शंकाको सुविधा अभियुक्तले पाउने फौजदारी न्यायको सिद्धान्तअनुसार सोही सफाइलाई सदर गरेर बुधबार पूर्ण सार्वजनिक गरेको हो । 

सुझावित समाचार