दुई सातादेखि अवरुद्ध सदन खुलाउन सभामुख देवराज घिमिरेले शीर्ष नेताको बैठक बोलाएका छन् । आइतबार दलका प्रमुख सचेतकसँगको छलफल निष्कर्षविहीन भएपछि सभामुख घिमिरेले सोमबार दिउँसो १२ बजे प्रमुख दलका शीर्ष नेतालाई छलफलमा बोलाएका हुन् ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेका कारण १० साउनदेखि सदन अवरुद्ध छ । अवरोधका कारण १५ साउनमा बस्दै नबसी सूचना टाँसेर स्थगित भएको बैठक सोमबार १ बजेका लागि तोकिएको छ । बैठकको पूर्वसन्ध्यामा अवरोध हटाउन सभामुख घिमिरेले शीर्ष नेतालाई छलफलका लागि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा बोलाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । ‘दल सचेतकहरूको सल्लाहमा सभामुखज्यूले शीर्ष तहमा सहमतिको प्रयास गर्नुभएको छ,’ उनले भने ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सचेतक तहबाट उच्चस्तरीय छानबिन बनाउने कुरा सम्भव नभएको बताए । ‘हाम्रो तहबाट सम्भव छैन । शीर्ष तहबाट नेताहरूले टुंगो लगाउनुपर्छ । यसमा सभामुखज्यूले नेतृत्व लिनुहोला,’ उनले भने ।
एमाले सचेतक महेश बर्ताैलाले उच्चस्तरीय समिति गठन नभएसम्म आफूहरूको अवरोध कायमै रहने बताए । ‘हामी संसद् अवरुद्ध गर्ने पक्षमा छैनौँ, संसद् चल्नुपर्छ । आकस्मिक समय चलाऔँ । देशभरिका माननीयज्यूले आफ्नो कुरा राख्नुहुन्छ ।
गृहमन्त्रीले यो विषयमा जानकारी दिन चाहनुहुन्छ भने हामी सुन्छौँ । यतिसम्म हामी अवरोध गर्दैनौँ । सरकार उच्चस्तरीय छानबिन बनाउने प्रतिबद्ध भएन भने बैठकमा उठेर आफ्नो विरोध जारी गर्छाैँ,’ उनले भने । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले छानबिन समिति बन्ने वा नबन्ने कुरामा सदनलाई बन्धक बनाउन नहुने बताए । सदनलाई गतिशील बनाउन आफूहरू जस्तोसुकै सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।