किशोरावस्थामा प्रवेश गरेपछि बालबालिकामा विभिन्न परिवर्तन देखिन्छन् । धेरैले यो समयमा अत्यधिक चिन्ता लिने गर्छन् । करिअर बनाउनुपर्ने, साथीभाइ छाड्नुपर्ने, परिवार र आफ्नो भविष्यको बारेमा सोच्नुपर्नेलगायत दायित्वबोध गर्न थाल्छन् ।
यो समयमा छिटो–छिटो शारीरिक तथा भावनात्मक विकास हुन्छ । बाल्यावस्था भर्खरै गएको र परिपक्व पनि भइनसकेको अवस्थामा आउने परिवर्तनहरूसँग जुध्न नसक्दा कतिपय डिप्रेसनको सिकार हुन्छन् । कतिपय किशोर–किशोरीले जीवनमा देखिएको परिवर्तनको दबाब थेग्न नसक्दा आत्महत्या गर्ने गरेको पाइन्छ । कतिपय लागुपदार्थ दुव्र्यसनीमा फस्ने गर्छन्
डिप्रेसनका लक्षण
- कम सुत्ने, साथीहरूसँग बस्न मन पराउने, उनीहरूको मात्र विश्वास गर्ने
- भविष्यको बारेमा चिन्ता गर्दागर्दै कुलतमा फस्ने
- भोक नलाग्ने, एक्लै बस्न मन पराउने, झर्किने, रिसाउने, डराउने
- अरूभन्दा सबै कुरामा सक्षम भइसकेँ भन्ने आभास हुने
कस्तो मार्गदर्शन गर्ने ?
किशोरावस्थामा आउने चुनौतीहरू सामना गर्नका लागि अभिभावक र शिक्षक–शिक्षिकाको मार्गदर्शन आवश्यक पर्छ । अभिभावकले किशोर–किशोरीका कुरा सुनिदिने, सँगै बसिदिने, दैनिक क्रियाकलापमा संलग्न गराउने, प्रशंसा गर्ने, प्रोत्साहन गर्ने, अरूसँग नदाँज्ने, धेरै गालीगलौज नगर्ने, टीकाटिप्पणी नगर्ने गर्नुपर्छ । सानोमा नदेखिएका कतिपय समस्या किशोरावस्थामा देखिन सक्छन् । आनिबानी र व्यवहारमा अचानक परिवर्तन देखिए मनोविद्सँग सल्लाह लिनुपर्छ ।