विकास अर्थशास्त्री मिसेल टोडारोले विकासलाई उच्च आर्थिक वृद्धि गरी आर्थिक असमानता घटाउँदै निरपेक्ष गरिबी अन्त्य गर्ने एक बहुआयामिक प्रक्रिया हो भनेका छन् । भारतीय अर्थशास्त्री अमर्त्य सेनले विकास भनेको सबैखाले परतन्त्र हटाउन मानवीय क्षमता विकसित गर्ने प्रक्रिया हो भनेका छन् । ऋषि र बुद्धले मानवीय क्षमता विकसित गर्ने कुरामा जोड दिँदै पहिला मानिसले आफ्नो असली स्वरूप चिन्नुपर्ने औँल्याउँदै चिन्नका लागि ज्ञान र विधि बताइदिए ।
हामी सबै मानिसको शरीर जड र चेतन दुई विपरीत कुराको बेमेल गठबन्धन हो । जड शरीरले म, मेरो, मैले भन्ने अहंकार उत्पन्न गर्छ । बेमेल गठबन्धनबाट बनेको शरीरले उत्पन्न गर्ने अहंकारले दुःखमा पार्छ । ऋषि र बुद्ध पनि पहिला हामी सामान्य मानिस जसरी नै जन्मिएका हुन् । उनीहरूले दुःखको अनुभूति गरे र दुःख निवारणको उपायको खोजीमा ध्यान दिए ।
ऋषिहरूले मनलाई आत्मामा स्थित गरेर ध्यानमा बस्ने विधिको विकास गरे । मन आत्मामा स्थित गर्नु योग हो । महर्षि रमणका अनुसार मानिसको मूल स्वरूप आत्मा हो । आत्मानुभूति गर्नु नै आत्मज्ञान हो । आत्मा समाधि (ध्यान) हो । मानिस सदा समाधिमा हुन्छ । अहंकारले ढाकिदिएको हुनाले उसले भुलेको हो । अहंकार नाश भएपछि आत्मा स्वतः प्रकट हुन्छ । केवल पहिचान गरे मात्र पुग्छ । आत्मज्ञान नयाँ कुरा होइन, हरेक मनुष्यभित्र छ । आफैँले आफैँलाई म को हुँ भन्ने प्रश्न गरी मनलाई आत्मा विचार गर्न लगाएपछि अहंकार विलय भई आत्मानुभूति हुन्छ ।
महर्षि रमणले बलेको दियोको उदाहरणबाट आत्मसाक्षात्कारको सरल विधि दिएका छन् । हावा चल्यो भने दियोको ज्योति डगमगाउँछ, हावा चलेको छैन भने ज्योति स्थिर हुन्छ । ज्योति मन हो, हावा विचार हो । विचार चल्न छाडेपछि मन स्थिर र शान्त हुन्छ । मनमा उठ्ने विचार कसलाई उठेका हुन् भन्ने प्रश्न मनलाई गर्दै साक्षीभावले विचारलाई हेर्दा विचार शान्त हुन्छन् । यहीँबाट आत्मा पहिचानको सुरुवात र समाधिको पहिलो स्पर्श हुन्छ । समाधिको पहिलो स्पर्शको अनुभव हल्का, कोमल, शान्त हुन्छ ।
विचार त गहिरो निद्रामा पनि हुँदैनन्, तर त्यो बेहोसीको अवस्था हो । समाधिमा साधक जागरुक रहन्छ । समाधिको पहिलो स्पर्श पूर्ण जागरुकतामा हुन्छ । सुनिन्छ, जानिन्छ, विचारमा बगिँदैन, शान्ति र आनन्द अनुभूति हुन्छ, तर सुखले उत्तेजित गराएजस्तो समाधिको आनन्दले उत्तेजित भइएको हुँदैन ।
बुद्धले आफ्नै मनलाई साक्षीभावमा राखेर आफैँले फेर्ने सास र आफ्नै शरीरमा उत्पन्न हुने संवेदना हेर्न लगाएर ध्यानलाई अझै तथ्यात्मक, बोधगम्य, सरल र फलदायी बनाए । त्यसरी हेर्दा संवेदना आफैँ उत्पत्ति र आफैँ विलय हुने बोध हुन आउँछ र संवेदनामा प्रतिक्रिया गरेर संस्कार बनाउने मनको स्वभाव पल्टिन्छ । शान्त मनले साक्षीभावबाट सत्यको साक्षात्कार गरेपछि मन शुद्ध र निर्मल हुन्छ । मन शुद्ध र निर्मल हुनु मनको चञ्चल स्वभाव नाश भएर बोधमा परिणत हुनु हो । बोधमा परिणत हुने शुद्ध र निर्मल मन नै आत्मा हो । बोध नै जीवन हो, जान्नु नै जिउनु हो भन्ने बुद्ध उपदेश समस्त मानवजातिका लागि कल्याणकारी छ । बोध र आत्मा शब्दिक रूपमा फरक देखिए पनि सार एउटै हो । त्यो हो चेतनाको अनन्तता ।
आफ्नो मौलिक अधिकार अरूबाट हनन भयो भने संविधान र कानुनले रक्षा गर्छ । मानिसको असली शत्रु मानिसभित्रै रहेका काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य हुन् । यी शत्रुले भित्रभित्रैबाट मानिसलाई बन्धनमा पारेका हुन्छन् । यी शत्रु र यिनको बन्धन बाहिर देखिँदैनन् । यी शत्रुलाई संविधान र कानुनले कारबाहीको दायरामा ल्याउन सक्दैन । यी शत्रुले नराम्रो घटना घटाएपछि मात्र कानुनले खोजी गर्छ । घटना घटिसकेपछिको खोजी अर्थपूर्ण हुँदैन, मन बुझाउने बाटो मात्र हुन्छ । यी शत्रुलाई चिन्ने, विनाश गर्नबाट रोक्ने र शत्रुको संकेतलाई मानवीय क्षमता विकास गर्ने अवसरको रूपमा उपयोग गराउने काम बोधले गर्छ । त्यसैले, बोध नै जीवन हो र जान्नु नै जिउनु हो भनिएको हो ।
विकास भनेको प्रविधिको आविष्कार र प्रयोग मात्र होइन रहेछ, मानवीय क्षमता विकसित हुन दिनु नै असली विकास रहेछ भन्ने कुरा विकसित राष्ट्रले बोध गरेको देखिन थालेको छ । विकसित युरोपियन देश स्विडेनले विगतमा विद्यार्थीको पठनपाठनमा भारी उपकरणको प्रयोगलाई विकासको रूपमा बुझ्ने गर्थ्यो । अहिले भारी उपकरणको प्रयोगले पठन सिपमा बाधा पुर्याएको निष्कर्षमा पुगेर कलम र कागजमा फर्किएको छ । सरकारले ६ वर्षमुनिका बालबालिकाका लागि डिजिटल सिकाइलाई ठुलो मात्रामा रोक लगाएको छ । प्रि–स्कुलमा अनिवार्य डिजिटल उपकरणको आवश्यकतालाई अन्त्य गर्दै छापिएका पुस्तक खरिद गर्न निर्देशित गरेको छ ।
संसारलाई डिजिटलाइज्ड गर्ने होडले बालबालिकालाई वास्तविक संसारबाट अलग गरेको भनेर चिन्ता र सरोकार व्यक्त गर्दै खोजमूलक अनुसन्धान प्रतिवेदन सार्वजनिक हुने गरेका छन् । स्मार्ट फोन र सामाजिक सञ्जालको बढ्दो प्रयोगले युवामा चिन्ता, ध्यान घट्ने, र मानसिक अवस्था कमजोर पार्ने तथ्य बाहिर आएको छ ।
विज्ञान तथा प्रविधिको विकासले शिखर चुमेको आजको युगलाई एआई (कृत्रिम बुद्धिमता) को युग पनि भन्ने गरिन्छ । तर, एआईको पुरानो पुस्ताले नयाँ शक्तिशाली पुस्ता बनाउन योगदान गर्दै जाँदा मानिसको बुझाइ र नियन्त्रणभन्दा बाहिर गएर मानवलाई नै क्षति पुर्याउन सक्ने आकलन गर्दै विश्वका दुई प्रमुख एआई कम्पनी एन्थ्रोपिक र ओपनएआईका प्रमुख एआईको विकासको गतिलाई सुस्त बनाउनुपर्ने निष्कर्षमा पुगेका छन् ।
पछिल्लो समय नेपालमा समाजसेवा र अध्यात्म जोडेर संस्था दर्ता गर्ने, ऋषि र बुद्धको नाम लिने, उपनिषद् र वुद्ध दर्शनमा आफ्ना मनगढन्ते कुरा मिसाएर आधुनिक गुरु हुँ भन्ने दाबी गर्दै सशुल्क शारीरिक क्रिया र नाचगान गराएर योग ध्यान हो भन्ने अहंकारी प्रवृत्ति मौलाउँदै गएको छ । संस्थाको नाम र कार्यक्रममा विज्ञान शब्द जोड्ने, राम्रो नगरे नराम्रो रहिरहन्छ, विचार सकारात्मक बनाउनुपर्छ र हाम्रो संस्थाले समयलाई भगवान् मान्दै ऊर्जा ध्यानबाट मानिसलाई भगवान् बनाउँछ जस्ता आकर्षक शब्द प्रयोग गर्दै योग हो भनेर शारीरिक क्रिया गराउने एक प्रवृत्तिको सिकार हुन पुगेको छ, पंक्तिकार । चक्र विज्ञान, बोध विज्ञान, लय विज्ञान योग प्रशिक्षकको कोर्स पूरा गर्दै पचासौँ हजार रुपैयाँ र तीन वर्षको अमूल्य समय अवधि खर्चिंदा पनि खास उपलब्धि हासिल भएन । वेद, उपनिषद्, बुद्ध दर्शन र बुद्ध, नागार्जुन शंकराचार्य जिद्दु कृष्णमूर्ति महर्षि रमण सन्त कविर चिनियाँ दार्शनिक लाओत्सुलगायतको दर्शन केलाएर एउटै निष्कर्ष निकाल्ने आचार्य प्रशान्तका अनलाइन कक्षा युट्युबमा सुन्दा र भगवत् गीता अष्टावक्र गीता स्वयं अध्ययन र विपश्यना ध्यान साधना निरन्तर गर्दै आउँदा सही कर्म छनोट गरेर निरन्तर कर्ममा जुट्नु नै ध्यान हो भन्ने बुझिन आयो । जीवनमा खुसी, आनन्द छायो र निजी इच्छा अन्त्य भई सर्व कल्याणको कार्यमा निष्कामतापूर्वक अग्रसर हुने प्रेरणा जागृत भयो ।
सर्वोच्च अदालतको न्यायाधीशदेखि राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसदलाई योगको नाममा व्यायाम र प्राणायाम गराएको यो प्रवृत्ति पछिल्लो समयमा काठमाडौं महानगरपालिकामा प्रवेश गर्दै सामाजिक सञ्जाल फेसबुकमा आरोग्य युग प्रारम्भ भएको घोषणा गरेको छ । ऋषि र बुद्धले कुटीमा बसेर पत्ता लगाएको श्रेष्ठ ज्ञान र ध्यानको विधि सर्वत्र फैलिएको छ । तर, अहंकारी प्रवृत्तिलाई ठुलो धाम छुट्टै ठुलो सम्प्रदाय खडा गर्नुपरेको छ । अनि पुराना अनुयायीलाई पनि पटक–पटक कार्यक्रममा सहभागी होऊ भन्छ । पंक्तिकारलाई पनि बोलायो यो प्रवृत्तिले, त्यतिवेला मेरो बुबाको श्राद्ध परेकाले आउन असमर्थ भएँ भन्दा त लाजले नआएको होस् भनेर म्यासेन्जरमा अपमान गरेको छ ।
बहिर्मुखी भई विचार शृंखला चलाएर चञ्चल भएको मनलाई भित्रतिर नियाल्न लगाउनेबाहेक अन्य कुनै प्रयास नगर्नु ध्यान हो । सहज आसनमा शिर, गर्धन र मेरुदण्ड सीधा पार्दै बसेर शान्त मनले भित्र अवलोकन गर्दा विचारहरू छाटिँदै जान्छन् र मन आत्मामा बिलाउँछन् । मन बिलाएपछि मनको केन्द्रमा बस्ने अहंकार स्वतः बिलाउँछ ।