महिनावारी रोकिने वेला देखिन्छन् यस्ता समस्या

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण

महिनानावारी रोकिनु नै मेनोपज हो । मेनोपज अर्थात् महिनावारी सुक्नु भनेको एक वर्षसम्म महिनावारी नहुनु वा कहिल्यै महिनावारी नहुनु हो । नेपाली महिलाको औसत ५० वर्षको उमेरमा मेनोपज हुन्छ । अप्रेसन गरेर डिम्बासय निकालेको महिलाको हकमा त्यो भन्दाअघि पनि मेनोपज हुन सक्छ । मेनोपजका कारण खलल पसिना आउने, निन्द्रा नलाग्ने, स्वभावमा परिवर्तन हुने, योनी सुख्खा हुने, पिसाब रोक्न गाह्रो हुने, यौन चाहनामा कमी आउने, गोप्य अंग पोल्ने, दुख्ने, हिँड्दा–हिँड्दै सन्तुलन बिग्रिने, रिंगाटा लाग्नेजस्ता समस्या देखिन्छ । कतिपय महिलामा हर्मोन कम हुन्छ । यसले छाला चाउरिने, कपाल झर्ने समस्या पनि हुन्छ । 

मेनोपजका लागि तयारी नै महत्वपूर्ण कुरा हो । कुनै पनि महिलाले एउटा उमेरमा पुगेपछि मेरो महिनावारी सुक्छ, मेरो जीवनमा अलि परिवर्तन आउँछ भनेर मानसिक रूपमा तयारी हुनुपर्छ । एउटा समयमा पुगेपछि यसको शारीरिक व्यायाम गरिरहनुपर्छ । आफूलाई मन पर्ने काम गर्नुपर्छ । कुनै पनि काममा व्यस्त भएमा यसको लक्षण कम हुन्छन् । सकारात्मक सोच्ने र सोहीअनुसार समय बिताउने गर्यो भने थप समस्या कम हुन्छ । धेरै नै समस्या देखिएमा औषधि सेवन पनि गर्नुपर्छ । औषधि खाएर पनि लक्षण कम गर्न सकिन्छ । मेनोपजको समयमा धेरै गुलियो, धेरै चिल्लो खानुहुँदैन । भटमासबाट बनेको खानेकुरा अलि धेरै खाने गर्नुपर्छ । सागपात धेरै खाने, पानी धेरै पिउने, दुध पिउनाले पनि यसबाट हुने समस्या घटाउन सकिन्छ ।

महिलाको महिनावारी सुक्न सुरु भयो भन्ने कुरा श्रीमान्ले सबैभन्दा पहिला बुझ्नुपर्छ । यो वेलामा महिलाहरू यौनसम्पर्कका लागि तयार नहुन सक्छन् । स्वभावमा परिवर्तन आउँछ । चिन्ता गर्ने, रिसाउने, झर्किने, रुने, कराउने गर्न सक्छन् । त्यसैले यस्तो वेला परिवार, श्रीमान्ले मानसिक रूपमा सान्त्वना, हौसला, दिनुपर्छ । यो चाहेर हुने होइन, नचाहेरै हुन्छ भनेर सोच्नुपर्छ ।

मेनोपज आफैँमा रोग होइन, त्यसैले सबैलाई औषधि चाहिँदैन । तर, लक्षणले दैनिक जीवनमा असर गरिरहेको छ भने उपचारबाट धेरै राहत पाउन सकिन्छ । हर्मोन रिप्लेसमेन्ट थेरापीले हट फ्ल्यास, राति पसिना र केही अन्य लक्षणमा प्रभावकारी राहत दिन सक्छ । तर, सबैका लागि यो उपयुक्त हुँदैन । चिकित्सकसँग आफ्नो स्वास्थ्य अवस्था र जोखिमबारे छलफल गरेर मात्र औषधि प्रयोग गर्नुपर्छ । 

कतिपयले यस्तो वेलामा मानसिक चिकित्सककहाँ लगेर पनि उपचार गराइरहेका हुन्छन् । यो स्त्रीरोगसँग सम्बन्धित विषय हो । यसमा डाक्टर, स्वास्थ्य संस्था, मिडिया, घरपरिवार र राज्यको भूमिका धेरै हुन्छ । यसका कारण दैनिक जीवनयापनमै प्रभाव पार्यो भने उपचारका लागि अस्पताल नै जानुपर्छ । 

यो समस्याको बारेमा सुसूचित गर्न राज्यका विभिन्न निकायको भूमिका हुनुपर्छ । विशेषज्ञ, सामाजिक कार्यकर्ताको पनि भूमिका हुन्छ । बुझाउने क्रममा यसको उपचार हुन्छ भन्नुपर्छ । उपचार गर्ने विभिन्न तरिका पनि छन् । 

(गौतम प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्)

सुझावित समाचार