चट्याङ आकाशबाट खराब मौसमका वेलामा जमिनमा खस्ने एक प्रकारको विद्युतीय करेन्ट हो । मनसुनभन्दा अगाडिको समय र पूर्वमनसुनमा चट्याङ पर्ने गर्छ । अझ भनौँ दैनिक रूपमा नै चट्याङ पर्ने गर्छ । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एक–आपसमा ठोक्किँदा चर्को आवाजसहित अत्यधिक भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जाने प्रक्रिया नै चट्याङ हो ।
जहाँ जमिन तात्ने प्रक्रिया धेरै हुन्छ, त्यहाँ चट्याङ धेरै पर्छ । त्यसैले, अफ्रिकन देशमा चट्याङ धेरै पर्छ । नेपालको पूर्वी भागमा चट्याङ धेरै पर्छ । बादलका कण एक–आपसमा घर्षणको कारण पानी पर्न सक्दैन, घर्षण हुन्छ र चट्याङ पर्छ । आकाशमा बादलको हलचल र एक–आपसमा टकराव तथा घर्षण हुँदा एक किसिमको विद्युतीय करेन्ट उत्पन हुन्छ । त्यो करेन्टलाई वैज्ञानिक भाषामा विद्युतीय अणु ‘प्रोटन’ भनिन्छ । उक्त प्रोटन अणुहरू पृथ्वीमा भएको ‘न्युटल’ अणु प्राप्त गर्नका लागि जमिनतर्फ चुम्बकीय गतिले प्रहार हुन्छ, यही कारण चट्याङ पर्छ । विशेषतः जमिन तात्नु र पानीको बाफ वरिपरि हुनु चट्याङ पर्नुको सहज हुने अवस्था हो ।
वैज्ञानिक अध्ययनअनुसार एकपटक चट्याङ पर्दा १० हजार एम्पिएर र त्योभन्दा बढी करेन्ट उत्पन्न हुन्छ । यो करेन्टको धार आकाशबाट पृथ्वीको सतहतिर केन्द्रित भई प्रवाहित हुन्छ । त्यसैले कुनै मानिस वा प्राणी यसको संसर्गमा आए तुरुन्तै मृत्यु हुन्छ ।
चट्याङबाट बच्ने सबभन्दा उत्तम उपाय घरभित्र बस्नु नै हो । घरभित्र बस्दा पनि टेलिभिजन/टेलिफोन आदि विद्युतीय उपकरण बन्द गर्ने, पानीका धारा सबै बन्द गर्ने, नचलाउने, झ्यालको छेउ, भित्तामा अडेस लगाएर नबस्नेलगायत सावधानी अपनाउनुपर्छ ।
घरबाहिर भएमा गाडीभित्र झ्यालढोका बन्द गरी बस्ने, स्विमिङ पुलमा भएमा पानीभित्र भए पानी बाहिर निस्कने, रुख वा अग्ला वस्तु भए त्यसको नजिक नबस्ने, चौरमा भए सकेसम्म थोरै क्षेत्रफल हुने गरी घुँडाले भुइँमा टेकेर टाउकोलाई निहुराएर दुवै हात टाउकोमाथि राखी बस्ने गर्नुपर्छ । फोन, कम्प्युटर, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने, विद्युतीय तरंग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने जस्ता काम गर्नुपर्छ ।
बिजुली चम्केको आधा घण्टासम्म पानी परेको क्षेत्रको १० माइलको परिधिमा कतै ननिस्कने, सकेसम्म घरभित्रै झयालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने, खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्ने र अग्लो पहाड, ढिस्को र रुखमुनि नबस्ने, बिजुलीको तारमुनि बस्न्हुँदैन ।
सहरका पक्की घरमा फलामे डन्डीहरू प्रयोग गरेर बनाइएको हुन्छ, घरको छानामा (लाइटनिङ एरेस्टर) चट्याङ भगाउने यन्त्र जडान गर्ने वा राम्रोसँग अर्थिङ गर्नु उचित हुन्छ ।