यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि

शनिबार, २४ असोज, २०८३
प्रिन्ट संस्करण

एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । किनभने त्यसपछि एक वर्षसम्म लक्षणहरू दोहोरिँदैन । कुनै बिरामीले दुई–तीन महिना वा बिचमै औषधि खान छोडिदिए भने त्यसपछि झनै लक्षण बढेर आउने हुन्छ । लक्षणहरू फेरि दोहोरिन्छन् । झनै गाह्रो हुन्छ । पहिले देखिएका लक्षणहरूभन्दा झनै भयाभह रूप लिने हुन्छ । त्यही लक्षण नदोहोरियोस् भन्नका लागि नै एक वर्षसम्म औषधि खानुपर्छ । एन्जाइटी र डिप्रेसनभन्दा कडा खालको अवस्था अर्थात् साइकोसिस वा स्किजोफ्रेनियाको केसमा दुई वर्षसम्म औषधि खानुपर्ने हुन्छ । त्यही भएर बिरामीले बिचमै औषधि छोड्नुहुँदैन ।

औषधि खान छाडेमा बिरामीमा कहिलेकाहीँ लक्षण नदेखिन पनि सक्छ । जस्तै– हामीले औषधि दिएको दसजनामध्ये सातजनालाई नदेखिन पनि सक्छ । तीनजनामा देखिन सक्छ । त्यो तीनजना को हो ?, के हो ? हामीलाई जानकारी नहुन पनि सक्छ । त्यसैले नियमित रूपमा औषधि खानु नै राम्रो हो ।

औषधि छोडेमा देखिने लक्षणहरू पहिलेकै जस्तो हुन्छ । डिप्रेसनको केस छ भने मन उदास हुने, केही गर्न मन नलाग्ने, नकारात्मक सोचाइ मात्र आउनेजस्ता लक्षण नै देखिन्छन् । लक्षण नयाँ आउने होइन, तर नियमित रूपमा औषधि खाइरहने हो भने लक्षणहरू फेरि देखिने सम्भावना अत्यन्तै कम हुन्छ । औषधि छाडेर काउन्सिलिङ गर्दा मात्र पनि बिरामी ठिक हुँदै जान सक्छ । काउन्सिलिङमा बस्ने, उपचारको प्रक्रियामा ध्यान दिने हो भने झनै राम्रो हुन्छ । तर, नेपालमा ती कुरालाई फलो गर्ने बिरामीको संख्या कम नै छ । 

लक्षण अलिअलि मात्र पनि देखिएको छ भने जुन मनोचिकित्सक कहाँ उपचार गराइएको थियो, उनलाई नै देखाउँदा राम्रो हुन्छ । लक्षण देखिएको छैन, सबै कुरा राम्रो छ भने नदेखाउँदा पनि फरक पर्दैन । केही काम गर्न मन नलाग्ने वा हीनताबोध महसुस हुने, सानो कुरामा पनि छिटो चिडचिडापन आउने, जीवन र भविष्यप्रति निराशापन आउनेजस्ता लक्षण देखिएको छ भने जति सकिन्छ छिट्टै परामर्श लिँदा राम्रो हुन्छ ।

(झा, मानसिक अस्पताल, पाटनमा कार्यरत छन् ।)

सुझावित समाचार