भाइरल ज्वरो आउँदा के गर्ने ?

शनिबार, ३ असोज, २०८३
डिजिटल संस्करण

भाइरसको संक्रमणपछि देखिने ज्वरोलाई ‘भाइरल ज्वरो’ भन्ने गरिन्छ । इन्फ्लुएन्जा (फ्लु), राइनोभाइरस, एडेनोभाइरसलगायत विभिन्न प्रकारका भाइरस यसको कारण हुन सक्छन् । मौसम परिवर्तन हुने समय तथा अत्यधिक चिसो वा गर्मीका वेला भाइरसहरू छिटो फैलिने भएकाले यस्ता संक्रमण बढ्न सक्छन् । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू भाइरल संक्रमणबाट तुलनात्मक रूपमा बढी प्रभावित हुन सक्छन् ।

अहिले भाइरल संक्रमण बढिरहेको देखिन्छ । यसको प्रभाव एक हप्तादेखि १० दिनसम्म रहन सक्ने देखिन्छ । तर, ‘भाइरल ज्वरो’ आफैँमा कुनै एउटा निश्चित रोगको नाम भने होइन । भाइरसको संक्रमणपछि देखिने ज्वरोलाई बुझाउन बोलीचालीमा यो शब्द प्रयोग गरिन्छ । यसअन्तर्गत रुघाखोकी, फ्लु, कोभिडजस्ता भाइरल संक्रमणलाई जोड्ने गरिन्छ ।

टेकु अस्पताललगायत विभिन्न अस्पतालमा आउने बिरामीमा फ्लु र कोभिडको परीक्षण गर्ने गरिएको छ । अहिले भाइरल संक्रमण बढिरहेको अवस्थामा बालबालिकामा समेत कोभिडका संक्रमित भेटिएका छन् । परीक्षणबाट भाइरल ज्वरोको कारण फ्लु हो कि कोभिड हो भन्ने छुट्याउन सकिन्छ । रुघाखोकी र ज्वरो आउने सबै अवस्थालाई भाइरल ज्वरो भनेर बुझ्नुहुँदैन । नेपाली समाजमा बोलीचालीका क्रममा डेंगुसमेत ‘भाइरल ज्वरो’ भन्ने शब्दभित्र पर्ने गरेको पाइन्छ । त्यसबाहेक अन्य संक्रमणका कारण पनि ज्वरो आउन सक्छ ।

रुघाखोकी र ज्वरो बर्सेनि देखिने समस्या हुन् । सामान्य रुघाखोकी, हल्का खोकी, हाच्छ्युँ आउने, नाकबाट पानी बग्ने तथा सामान्य रूपमा जीउ दुख्नेजस्ता लक्षण भएमा घरमै आराम गर्ने, पर्याप्त झोलिलो पदार्थ पिउने र स्वास्थ्यको निगरानी गर्ने गर्न सकिन्छ । तर, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, निरन्तर ज्वरो आउने वा शरीर दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, खाना खान मन नलाग्नेजस्ता लक्षण देखिएमा ढिला नगरी अस्पताल गएर स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ ।

यदि हल्का खोकी लाग्ने, हाच्छ्युँ आउने, नाकबाट पानी बग्ने वा सामान्य जीउ दुख्नेजस्ता लक्षण मात्र छन् भने घरमै बसेर पर्याप्त आराम गर्ने, प्रशस्त मात्रामा झोलिलो खानेकुरा तथा पानी पिउनुपर्छ । एक हप्तादेखि १० दिनसम्म घरमै सतर्कता अपनाएर बस्नुपर्छ । यदि १० दिनसम्म पनि ज्वरो निको भएन वा निम्न जटिलताहरू देखिएमा तुरुन्तै अस्पताल गएर स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ । सास फेर्न गाह्रो हुने वा छाती दुख्ने भएमा, अत्यधिक जीउ दुख्ने, ज्वरो निरन्तर आउने, वाकवाकी लाग्ने, बान्ता हुने वा खान मन नलाग्ने (रुचि घट्ने) भएमा अस्पताल गएर परामर्श लिनुपर्छ । 

भाइरल ज्वरोले आक्रमण गरेपछि व्यक्तिगत सरसफाइका बारेमा विशेष ध्यान दिनुपर्छ । साबुनपानीले नियमित रूपमा दैनिक तीन–चारपटक हात धुनुपर्छ । भिडभाडमा जानुहुँदैन । हात नधोई आफ्नो मुख र हात नछुने, खोक्दा, हाच्छ्युँ गर्दा सधैँ रुमालले मुख छोप्नुपर्छ । 

(पुन सरुवा रोग विशेषज्ञ हुन् । उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत छन्)

See More On

सुझावित समाचार