बढे रुघाखोकी र ज्वरोका बिरामी

आइतबार, २५ असोज, २०८३
प्रिन्ट संस्करण
  • अस्पतालका ओपिडी पुग्नेमध्ये कान्ति बालमा सयभन्दा बढी, वीरमा चार सय, टिचिङमा ३५० भन्दा बढी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन सयभन्दा बढी र निजामतीमा तीन सयजति फ्लुका बिरामी

१५ दिनयता उपत्यकाका अस्पतालहरूमा ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । ज्वरो, रुघाखोकी तथा भाइरल फ्लुसम्बन्धी बिरामीको चाप बढेको अस्पतालहरूले जनाएका छन् ।

कान्ति बाल अस्पतालका निर्देशक डा. रामहरि चापागाईंले १५ दिनयता उपचारमा आएकामध्ये अधिकांश रुघाखोकी र ज्वरोका बिरामी रहेको बताए । ‘अघिल्लो सातासम्म त ज्वरो र रुघाखोकीलगायत फ्लुसम्बन्धी बिरामीको संख्या अत्यधिक थियो, केही दिनयता बिस्तारै कम हुँदै गएको छ, तर अहिले पनि आउनेमध्ये अधिकांशको समस्या ज्वरो र रुघाखोकी नै छ,’ उनले भने, ‘हाल दैनिक तीन सय बिरामी आइरहेकामा दुई सयभन्दा बढीमा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या छ, जुन विगतका वर्षभन्दा धेरै हो ।’ निर्देशक चापागाईंका अनुसार एक साताअघि त यी समस्या भएका बिरामी दैनिक तीन सयभन्दा बढी आउँथे ।

लगातारको वर्षा र त्यससँगै मौसममा देखिएको परिवर्तनका कारण फ्लुका बिरामी बढेका निर्देशक चापागाईं बताउँछन् । ‘मौसम एकनास छैन, कहिले अत्यधिक गर्मी हुने, कहिले जाडो हुने, अझ पानी परेपछि वातावरणमा फरक पर्छ,’ उनले भने, ‘अत्यधिक उष्णता र मुसलधारे वर्षापछि संक्रमणजन्य तथा सरुवा रोग बढ्छन्, कान्ति अस्पतालमा फ्लुका बिरामी बढेका छन् ।’ विद्यालयमा सामाजिक दूरी कायम गर्न गाह्रो हुने भएकाले बालबालिकामा सरुवा रोग फैलिने डर बढी हुने उनले बताए ।

काठमाडौंकै नयाँ बानेश्वरस्थित निजामती अस्पतालले पनि उच्च ज्वरो आउने, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्नेजस्ता लक्षण भएका बिरामी बढेको जनाएको छ । यहाँको ओपिडीमा दैनिक आठ सयदेखि एक हजार बिरामी आउनेमा तीन सयजतिमा उल्लेखित समस्या देखिने गरेको जनाएको छ । यो अस्पतालमा बालबालिकादेखि वृद्धवृद्धासम्म आउनेमा ज्वरो र रुघाखोकीसम्बन्धी समस्या लिएर आउने आधा बालबालिका नै छन् ।

त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि फ्लु भाइरलका बिरामी बढेका छन् । अस्पतालका निर्देशक डा. सन्तवीर महर्जनका अनुसार दैनिक ओपिडीमा दुई हजार दुई सय बिरामी आउने गरेकामा तीन सयजतिमा ज्वरो र रुघाखोकीसम्बन्धी समस्या देखिने गरेको उनले बताए । ‘अहिले रुघाखोकी, ज्वरो, घाँटी दुख्नेलगायत समस्या बोकेर आउने बिरामी बढेका छन्,’ उनले भने, ‘गर्मीबाट जाडो सुरु हुने वेला भएकाले बिरामी बढेका छन्, अझ यसपटक लगातार वर्षा हुँदा देखिएको मौसम परिवर्तनले यसमा भूमिका खेलेको छ ।’

त्रिवि शिक्षण अस्पताल (टिचिङ)को तथ्यांक पनि उस्तै छ । अर्थात् भाइरल फ्लुका बिरामी बढेका छन् । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसयराका अनुसार हाल दैनिक एक हजारहाराहारी बिरामी आउँदा ३५० बिरामी ज्वरो, रुघाखोकीलगायत भाइरलजन्य संक्रमणका छन् । ‘अहिले रुघाखोकी र ज्वरोका बिरामी बढेका छन्,’ उनले भने, ‘मौसम परिवर्तनको समय भएकाले पनि बिरामी बढेका हुन् ।’

वीर अस्पतालमा पनि दैनिक फ्लुका चार सय बिरामी आउने गरेका छन् । बुधबारको तथ्यांकअनुसार ३८० हाराहारी फ्लुका बिरामी आएका थिए । अन्य दिन पनि औसत चार सयको हाराहारीमा आउने गरेको अस्पतालका टेलिमेडिसिन सेन्टर प्रमुख डा. प्रकाश बुढाथोकीले जानकारी दिए । उनले पछिल्लो १५ दिनमा फ्लुका बिरामी बढेको बताउँदै सावधानी अपनाउन अनुरोध पनि गरेका छन् । ‘यसबिचमा लगातार वर्षा भयो, त्यसले मौसम र मानव स्वास्थ्यमा केही न केही प्रभाव पार्छ, त्यसैको प्रभाव हो,’ उनले भने, ‘अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामीको संख्या धेरै नै छ, दैनिक ३५० देखि चार सयसम्म फ्लु तथा भाइरलसम्बन्धी बिरामी आउँछन् ।’

बाढीपहिरोको असर : वीर र टिचिङमा नियमित आउने बिरामी आधाले घटे
त्रिवि शिक्षण अस्पतालमा दैनिक औसत तीन हजार आठ सयदेखि चार हजार दुई सयसम्म बिरामी आउँथे । तर, लगातार वर्षाका कारण हाल बिरामीको संख्या ह्वात्तै घटेको छ । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसयराका अनुसार बाढीपछि बिरामीको संख्या दैनिक एक हजार हाराहारीमा सीमित छन् ।

‘बाढीभन्दा अघि ओपिडीमा चार हजार दुई सय बिरामी आउँथे, तर अहिले ह्वात्तै घटेका छन्,’ उनले भने, ‘सोमबार एक हजारहाराहारी आएकामा मंगलबार ७५० र बुधबार ६५० बिरामी आए ।’ उनका अनुसार रसुवा र नुवाकोटका बिरामी निकै कम आइरहेका छन् । त्यस्तै, देशका ठुला राजमार्गहरू पहिरो र कटिङका कारण बन्द भइरहेकाले टाढाबाट आउने बिरामीको संख्या पनि घटेको छ ।

वीरमा पनि बिरामीको संख्या पहिलेको तुलनामा घटेको छ । दैनिक एक हजार आठ सयदेखि दुई हजार दुई सयसम्म बिरामी आउँथे । तर, पछिल्लो समय घटेको अस्पतालका टेलिमेडिसिन सेन्टर प्रमुख डा. प्रकाश बुढाथोकीले बताए । ‘दैनिक आउने बिरामीको संख्या आधाले घटेको छ, मुख्य त बाटोघाटो राम्रो नहुँदा उपत्यकाबाहिरका बिरामी निकै कम आइरहेका छन्,’ उनले भने, ‘रसुवा र नुवाकोट क्षेत्रबाट आउने बिरामीको संख्या त झन् न्यून छ ।’

यसकारण बढे फ्लुका बिरामी : डा. सरोज गौडेल, फिजिसियन
nullगर्मीबाट हामी चिसो मौसममा प्रवेश गर्दै छौँ । यो वेलामा फ्लुका बिरामी स्वाभाविकै बढ्छन्, साथै वरपरको वातावरणीय प्रदूषण र धुलो–धुवाँका कारण पनि फ्लु तथा भाइरलजन्य रोग लाग्छ । भाइरल फ्लुबाट बच्ने उपाय भनेको मास्क लगाउने, तातो झोलिलो खानेकुरा खाने, फ्लु भ्याक्सिन लगाउने गर्न सकिन्छ । भ्याक्सिनले एक वर्षसम्म फ्लु हुन दिँदैन । यसबाहेक शारीरिक व्यायाम गर्नुपर्छ । नियमित निद्रा पूरा गर्नुपर्छ । भाइरलजन्य रोगहरू सर्ने भएकाले अरू भाइरलको जीवाणु भएका बिरामीबाट टाढा बस्नुपर्छ । तीन–चार दिनसम्म पनि ज्वरो कम भएन भने डाक्टरको सल्लाह लिनुपर्छ । भाइरलको ज्वरो सामान्यतया चार–पाँच दिनसम्म रहन्छ । त्यसपछि आफैँ निको हुन्छ । अहिले डेंगु संक्रमण पनि बढिरहेको छ । त्यसैले सचेत हुन जरुरी छ । 
 

सुझावित समाचार