खानामा फलफूल अनिवार्य चाहिन्छ

मंगलबार, २५ असोज, २०७९
डिजिटल संस्करण
खानामा फलफूल अनिवार्य चाहिन्छ

सावित्रा भण्डारी, फुटबल खेलाडी

हाम्रो शरीरलाई स्वस्थ राख्न सन्तुलित भोजन र ‘एक्सरसाइज’ अत्यावशयक छ । मेरो प्रायः दिउँसोको समयमा फुटबलको नियमित ट्रेनिङ हुने गर्छ । त्यस्तै, बेलुकाको खाली समयमा ‘वर्कआउट’ गर्ने गर्छु । यसमा दौड र स्ट्रेचिङ मुख्य हुन् । नियमित खेलमा व्यस्त भइरहने भएकाले अन्य व्यायामका लागि समय पुगिरहेको हुँदैन ।

यद्यपि, सकेसम्म अन्य विभिन्न व्यायाम गर्ने गर्छु । यसले मेरो शारीरिक सुगठनमा सघाउ पुर्याउँछ । सन्तुलित भोजन लिन पनि उत्तिकै आवश्यक छ । अन्य समयमा भन्दा खेलका दौरान पौष्टिक आहारको बढी नै आवश्यकता हुन्छ । त्यसैले प्रतियोगिताको समयमा बिहान चना, अन्डा, दूध र ब्रेड खान्छु ।

त्यस्तै, खानामा फलफूल अनिवार्य समावेश गर्छु । यसबाहेक अभ्यासका दौरान जुस पिउने गर्छु । खानेकुरा यही हुनुपर्छ भन्ने छैन, तर त्यसमा पौष्टिक तत्व अनिवार्य समावेश हुनुपर्छ भन्ने मेरो मान्यता हो । 

खेलाडीले प्रशस्त पानी पिउन अत्यावश्यक छ । शारीरिक परिश्रम बढी हुने र पसिना आउने भएकाले सामान्यभन्दा खेलका दौरान हाम्रो शरीरमा पानीको आवश्यकता बढी हुन्छ ।

शरीरमा पानीको कमी भएमा मांसपेशीमा असर पुग्ने भएकाले प्रशस्त पानी पिउनुपर्छ । म स्वास्थ्यबारे एकदमै सजग छु । स्वादका हिसाबले पनि मलाई फास्टफुड खान मन पर्र्दैन । 

सुझावित समाचार