- कठिनाइका बिचमा पनि सौन्दर्य खोज्ने र ससाना खुसीमा रमाउने जीवनको पाठ त्यही यात्राले सिकायो
माघको अन्तिम साता, हिमालको काखमा अवस्थित कर्णाली क्षेत्रको चिसोले हड्डीसम्म चिस्याउने समय, त्यही समयमा कार्यालयको कामको सिलसिलामा जुम्ला जाने योजना बन्यो । म, जगतजंग रावल, धर्मेन्द्र शाही र रतन बिक गरी चारजना, दुईवटा मोटरसाइकलमा मुगुबाट यात्रा सुरु गर्यौँ ।
यात्रा सुरु गर्दा उत्साह निकै थियो, तर बाटोले त्यो उत्साहलाई पटक–पटक परीक्षा लियो । मुगु–जुम्लाको कच्ची सडक कतै धुलाम्मे, कतै चिप्लो, कतै उकालो त कतै ओरालो । ठाउँ–ठाउँमा जमेको हिउँले मोटरसाइकलको सन्तुलन बिगार्थ्यो । कतिपटक त हामीले मोटरसाइकल धकेल्दै बाटो पार गर्नुपर्यो । कठोर भौगोलिक अवस्था र मौसमसँग जुध्दै अगाडि बढ्नु आफैँमा चुनौतीपूर्ण थियो ।
‘यात्रा सजिलो हुन्थ्यो भने कथा बन्ने थिएन,’ जगतजंग हाँस्दै भन्नुहुन्थ्यो । उनको त्यो भनाइले थकानका बिच पनि हामीलाई उत्साहित बनाइरह्यो ।
जुम्लातर्फ जाँदै गर्दा कालिकोट र जुम्लाको सिमानास्थित नाग्मा बजारमा खाजा खान रोकियौँ । चिसो मौसममा कर्णालीमा माछा दुर्लभ हुने भएकाले महँगो पर्ने रहेछ । प्लेटको सट्टा केजीका हिसाबले किनेर हामीले दुई केजी माछा र चिउरा खायौँ । चिसो मौसम, लामो यात्रा र स्थानीय स्वादको संगमले त्यो खाजा अझै स्मरणीय बनायो ।
बेलुका अबेर जुम्ला पुग्यौँ । साथीहरूले चिनेको होटेलमा बास बस्यौँ । मुगुभन्दा जुम्लाको चिसो अझ कडा महसुस भयो । चिसोले बाहिर निस्कनै गाह्रो हुने वातावरणमा होटेलको न्यानोपनले केही राहत दियो ।
भोलिपल्ट बिहान जुम्ला बजार, चन्दननाथ मन्दिर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत क्षेत्र घुम्यौँ । बजारमाथिको गुम्बाबाट पूरै जुम्ला बजार नियाल्दा त्यहाँको प्राकृतिक सौन्दर्य र विकास दुवै झल्किन्थ्यो । कालोपत्रे सडक, सुविधा सम्पन्न होटेल, पक्की भवन तथा उच्च शिक्षाको पहुँचले जुम्लालाई साबिक कर्णाली अञ्चलको विकसित जिल्लाका रूपमा चिनाउन पर्याप्त थियो । दुर्गम भनेर चिनिने कर्णालीमा यस्ता परिवर्तन देख्दा मनमा आशा पनि जाग्थ्यो ।
कार्यालयको काम सकेर तेस्रो दिन मुगु फर्किने क्रममा हामीले एउटा योजना बनायौँ– तातोपानीमा नुहाउने । ‘जुम्ला आएर तातोपानी नगई फर्किनु त अधुरो यात्रा हो,’ धर्मेन्द्रले भने । उनको सुझावमा सबै सहमत भयौँ । त्यसैअनुसार हामी तातोपानी गाउँपालिका जर्मी पुग्यौँ । पहिलो नजरमै त्यो ठाउँले मन तान्यो । तिला कर्णाली नदी आफ्नै लयमा बगिरहेको थियो । नदीपारि सेताम्मे हिउँ, अनि वारी– तातोपानीका पोखरी र धाराहरू, जहाँ पानी उम्लिरहेको जस्तो देखिन्थ्यो । प्रकृतिको यस्तो अनौठो संयोजन मैले पहिलो पटक नजिकबाट अनुभव गर्दै थिएँ ।
नुहाउन टिकट काटेर हामी सानो पोखरीजस्तो बनाइएको स्थानमा पस्यौँ । लुगा खोल्दा चिसोले शरीर काँप्थ्यो, तर तातोपानीमा खुट्टा राख्नेबित्तिकै शरीरले अर्कै अनुभूति गर्यो । बाहिरको चिसो र भित्रको तातोपन– जस्तो दुईविपरीत संसार एउटै ठाउँमा भेटिएका हुन् । केही क्षणमै शरीर तातोपानीसँग अभ्यस्त हुँदै गयो र एक प्रकारको आनन्द महसुस हुनथाल्यो । रतन विक यसअघि पनि तातोपानीमा नुहाइसकेका थिए । उनी निकै हलुका र ताजा महसुस गर्दै बाहिर निस्किए । ‘यसमा नुहाएपछि छाला, मांसपेशी तथा जोर्नीसम्बन्धी रोग निको हुन्छ भन्ने आमविश्वास छ,’ उनले भने, त्यसैले यहाँ सधैँजसो भिड लाग्ने गर्छ ।’
पछि हामी प्राकृतिक धारातिर गयौँ, जहाँ तातोपानी जमिनबाटै निस्किरहेको थियो । त्यो पानी शरीरमा पर्दा झन् फरक अनुभूति भयो—जस्तो प्रकृतिले आफैँ उपचार गरिरहेको होस् । त्यही वेला मेरो मनमा प्रश्न आयो– के यो साँच्चै औषधि जस्तै हुन सक्छ ? मैले सोधेँ, ‘के यो वास्तवमै रोग निको पार्ने क्षमता भएको पानी हो ?’ जगतजंगले जवाफ दिए, ‘मुगुका धेरै मानिस जोर्नी दुख्ने, कम्मर दुख्ने र बाथ रोग भएकाहरू यहाँ आउँछन् र निको भएर फर्किन्छन् भन्ने उदाहरण छन् ।’
उनको जवाफले स्थानीय अनुभव र विश्वासको गहिराइ झल्कायो । वैज्ञानिक रूपमा पुष्टि भए/नभएको भन्दा पनि यहाँको जनजीवनमा यसको प्रभाव स्पष्ट देखिन्थ्यो ।
समुद्री सतहदेखि करिब २२०० मिटर उचाइमा अवस्थित जर्मी तातोपानी नाग्माबाट करिब एक घण्टाको दूरीमा पर्छ भने जुम्ला सदरमुकामबाट पनि करिब त्यत्तिकै समय लाग्छ । सल्फरलगायत विभिन्न खनिज तत्व मिसिएको यस पानीलाई स्थानीयले ‘चमत्कारी धारा’ भन्छन् । त्यहाँ बिहानदेखि बेलुकासम्म भिड लाग्ने रहेछ । महिला र पुरुषका छुट्टाछुट्टै धाराहरू रहेका छन् । व्यवस्थापन पनि सन्तोषजनक देखिन्छ । स्थानीय सरकारले टिकट प्रणाली लागू गरेको रहेछ, जसले संरक्षणसँगै स्थानीय आर्थिक गतिविधिलाई पनि टेवा दिएको अनुभूति हुन्छ ।
मैले काठमाडौंमा बस्ने मित्र डिल्ली चनरालाई फोन गरेँ, जो यही क्षेत्रका स्थानीय हुन् । ‘तातोपानी हाम्रो गर्व हो,’ उनले भने, ‘हामी यसको संरक्षण र प्रचारमा लागिरहेका छौँ ।’
उनको भनाइले स्थानीयहरूको स्वामित्व भावना र प्रतिबद्धता स्पष्ट पार्थ्यो । वरिपरि होटेल, पसल र घरभाडा सञ्चालनमा आएका छन् । दैनिक सयौँ आगन्तुक आएर नुहाउँदारहेछन गर्दछन् । विशेष गरी कार्तिकदेखि माघसम्म बढी भिड हुने गरेको बताइन्छ । जाडो मौसममा तातोपानीको महत्व झनै बढ्ने रहेछ ।
त्यो दिन शनिबार भएकाले झनै चहलपहल थियो– कोही नुहाउँदै, कोही घाम ताप्दै, कोही तस्बिर खिच्दै । त्यहाँको जीवन्त वातावरणले त्यो ठाउँलाई केवल नुहाउने स्थान मात्र नभई सामाजिक र सांस्कृतिक भेटघाटको केन्द्रका रूपमा पनि स्थापित गरिरहेको अनुभूति भयो ।
त्यो दृश्यले स्पष्ट संकेत गर्थ्यो– यो सानो गाउँ अब स्वास्थ्य र पर्यटनको संगम बन्दै गएको छ । प्राकृतिक स्रोतको सदुपयोग गर्दै स्थानीयले जीविकोपार्जनका नयाँ सम्भावना खोजिरहेका छन् ।
मुगु फर्कँदै गर्दा फेरि नाग्मामा रोकियौँ र कर्णालीको माछाको स्वाद लियौँ ।
फेरि कच्ची बाटोमा मोटरसाइकल गुड्न थाल्यो । तर, यसपटक थकान कम महसुस भयो । सायद तातोपानीको न्यानोपन अझै शरीरमा बाँकी थियो । मन पनि हलुका थियो, जस्तो कुनै बोझ हटेको होस् ।
त्यो यात्रा केवल गन्तव्यसम्म पुग्ने मात्र थिएन, त्यो अनुभव थियो प्रकृतिको, मित्रताको र आत्मिक सन्तुलनको । कठिनाइहरूका बिचमा पनि सौन्दर्य खोज्ने र ससाना खुसीमा रमाउने जीवनको पाठ त्यही यात्राले सिकायो ।