उद्यमशीलता र योगको अन्तरसम्बन्ध

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण

राज्यको अर्थतन्त्र सबल बनाउने मूल कुरा औद्योगीकरण हो भन्ने उदाहरण हुन् छिमेकी चीन र भारत । चीन विश्वकै ठुलो र भारत तेस्रो अर्थतन्त्र बन्दै छ । हाम्रो देशमा उद्यमशीलतामा कमी आई पराधीनता बढेको छ । पछिल्ला निर्वाचनमा मुलुकको अवस्था बदल्ने कुरा चुनावी एजेन्डा बनाइने गरिएको छ । अवस्था बदल्नकै लागि जेन–जी पुस्ताले आन्दोलन गर्यो ।

वर्तमान सरकारले हेटौँडा कपडा उद्योगलगायत रुग्ण उद्योग पुनः सञ्चालनमा ल्याएको र संस्थानको आम्दानी वृद्धि भएको तथ्यले देशको शून्य उत्पादनउन्मुख अवस्था बदलिएर उत्पादनउन्मुख भएको संकेत गरेको छ । सरकार परिणाममुखी काम गर्न अग्रसर रहन्छ कि भन्ने आशा जगाएको छ ।

विगतमा कृषि उत्पादनका कुरा धेरै गरियो, तर उत्पादन गर्ने माटोमा ध्यान दिइएन । पर्यटनलाई आरोग्यमुखी बनाउने चर्चा भए, उद्यमशीलता प्रवर्द्धन गर्ने–गराउने मन कसरी उद्यमउन्मुख बनाउने भन्नेतिर सोचिएन । राम्रालाई हाम्रा बनाउने नीति र पारदर्शी पद्धतिको आधारमा संस्थागत संरचनाले काम गर्ने वातावरण सिर्जना गर्नेतर्फ चर्चै भएन । जसले गर्दा विकास गफमा सीमित भयो र देश शून्य उत्पादनउन्मुख हुँदै गयो । युवा पुस्ताको शरीर स्वदेशमा भए पनि मन विदेशतिर उड्न पुग्यो ।

स्वदेशमा अवसर नपाएर बिदेसिनु बाध्यता एउटा कुरा हो । स्वदेशमा राम्रो कमाइ र अवसर भएका पनि बिदेसिएका छन् । यो गम्भीर चिन्ताको विषय हो । राज्यले लगानीमैत्री वातावरण सिर्जना गर्दै युवाहरूको उडिरहेको मनलाई स्वदेशमै अड्याएर उद्यमशीलताउन्मुख गराउन सक्ने योगको अर्थ र महत्व बुझाएर साधना गर्ने अवसर नदिँदा युवा र पुँजी विदेश पलायन भएर स्थिति चिन्ताजनक बन्यो ।

पछिल्ला दिनमा संस्थाहरूले योगध्यानका कक्षा र कार्यक्रम सञ्चालन गर्ने क्रम बढेको छ । गराउनेहरूको नियत राम्रै होला । तर, योग भनेर जे गराइएको छ, त्यो योग दर्शनसँग मेल खाँदैन । ती व्यायाम हुन्, योग होइन । व्यायामले शरीर स्वस्थ राख्न मद्दत गर्छ । शरीर प्राथमिक कुरा हो पनि । योगको महत्व व्यायामको भन्दा अझ धेरै छ । मानिस र जनावरको शरीरमा समानता छ, तापनि मानिसमा मात्र चेतना विस्तार गर्ने क्षमता हुन्छ । चेतना विस्तार गर्ने माध्यम हो योग ।

योग के हो भन्ने कुरा भागवत गीता अध्याय २ को श्लोक ४८, ५०, ५३, अध्याय ६ को श्लोक १, ४, ८, १५, २३, २८, ३२ हेरे प्रस्ट हुन्छ । जसको विस्तृत विवेचना तल गरिएको छ । बुद्धको पालासम्म आइपुग्दा लोकधर्मले गीता ओझेलमा पार्यो । जीवात्मा स्वर्ग जाने र नर्कमा पर्ने कहानी खडा गरेर धर्मका नाममा समाजमा अत्याचार गरेकाले बुद्धले अनात्मा र साक्षी शब्द प्रयोग गर्दै योगलाई शील, समाधि र प्रज्ञामा समेट्दै विपश्यना ध्यानको रूपमा सरल र व्यावहारिक बनाए ।

सासलाई आवलम्बन बनाइने विपश्यना ध्यानमा मनलाई सास भित्र आएको र बाहिर गएको हेर्न लगाएर एकाग्र र शान्त बनाइन्छ । शान्त मनलाई शरीरमा उत्पन्न हुने सुखद, दुःखद र न्युट्रल संवेदना साक्षी भावले निरीक्षण गर्न लगाइन्छ । अनि मनको प्रतिक्रिया गर्ने स्वभाव बदलिएर समतामा रहनुको साथै संवेदना आफैँ उत्पत्ति र आफैँ विलय हुने ज्ञान हुन्छ । ज्ञानले संवेदनाको अनित्यता र क्षणभंगुरता अनुभूति गराई प्रज्ञा जगाउँछ । प्रज्ञाले मनलाई संवेदनामा प्रतिक्रिया गर्न रोक्छ र संवेदना संस्कारमा परिणत हुन नपाउँदै आफैँ बिलाएर जान्छ । नयाँ संस्कार बन्न पाउँदैन र भित्र सञ्चित पुराना संस्कारलाई बल मिल्दैन र शिथिल हुँदै क्रमशः निर्जरा हुँदै जान्छन् । दुःखको कारण संस्कार हो । अज्ञानताले संस्कार बन्छ । ज्ञानले संस्कार बन्न दिँदैन र दुःखबाट मुक्त भइन्छ ।

संस्थाहरूले भागवत गीता र बुद्धको नाम लिने तर तिनको मर्मविपरीत सहभागीको मनलाई मनकै कल्पना र संगीतमा नचाएर क्षणिक सुखभोग गराएका छन् । वास्तविक योग बुझ्नबाट वञ्चित भए । सबैभन्दा डरलाग्दो कुरा योगको नाममा विनालगानीको कल्पना बिक्री गरिएको छ । ऋषिहरूले जीवन समर्पण गरेर पत्ता लगाएको र आज पनि उत्तिकै महत्वपूर्ण रहेको ऋषिज्ञानमा मिलावट गरिएको छ ।

बन्धन र मुक्ति दुवैको माध्यम मन नै हो । विपश्यनाचार्य सत्यनारायण गोयन्काले मन जंगली हात्ती हो, विपश्यना ध्यानले पाल्तु बनाउँछ भनेका छन् । भगवत गीताले पनि मन मानिसको ठुलो शत्रु र नजिकको मित्र दुवै हो भन्दै ज्ञान, भक्ति र कर्मको त्रिवेणीरूपी योगमा मन डुबुल्काएपछि मन मित्र बन्ने उपदेश दिएको छ । सरकारले विपक्षी दलका नेता र समस्त जनताको मनमा उद्यमशीलताको भाव जागृत गरेपछि मात्र देश औद्योगीकरणको दिशामा अग्रसर हुनेछ र केही दशकभित्रै देशको अवस्था बदलिनेछ । त्यसका लागि योग के हो भन्ने बुझ्न र बुझाउन जरुरी छ ।

कर्महरूमा कुशलता योग हो र योगमा मनलाई बुद्धिसँग युक्त गरिन्छ (गीता २/५०) । योगीले जे गर्छ, सही गर्छ । सही गरेपछि पाप–पुण्यको ख्याल गर्नुपर्दैन । योगीले बाहिर के मानक छ भनेर हेर्दैन । ऊ स्वयं मानक बन्छ । आफ्नो हस्ती आत्माभित्र छ भन्ने बुझेको योगी त्यही भित्री विन्दुमा स्वप्रकाशित हुन्छ, स्वयं जान्दछ र निष्काम हुन सक्छ । समता र निष्कामता सँगसँगै हिँड्छन् । 

अनेक प्रकारका विषय सुनेर विचलित हुने बुद्धि आत्मस्वरूपमा स्थिर गरेर योग प्राप्त हुन्छ (गीता २/५३) । कामना र विक्षिप्त वुद्धि सँगसँगै हिँड्छन् । समताले निष्कामना ल्याउँछ । निष्कामना आएपछि करुणा आउँछ । निष्काम र करुणा सहयात्री हुन् । योगमा धारणा, ध्यान र समाधीले केन्द्रीय अर्थ राख्छ । स्वयंलाई जान्नु अध्यात्म र वास्तविक समतामा स्थापित हुनु समाधि हो ।

चेतनाले ध्यानको गहिराइमा पुर्याउँछ । पदार्थतिर मन गयो भने ध्यान अवरुद्ध हुन्छ । पदार्थसँग जोडिएको मन आत्मातिर मोडेपछि ध्यान लाग्छ । कुटस्थ आत्मा उच्चतम कुरा हो । आत्मामा ध्यानस्थ हुँदा अहंकार कुटस्थ हुन्छ र मानिस आत्मस्थ हुन्छ । आत्मस्थ नै युक्त कहलाउँछ । 

दुःखको संयोगबाट वियोग हुनु नै योग हो (गीता ६/२३) । दुःखको कारण छाडिदिए दुःखको संयोगबाट वियोग भइन्छ । जानेपछि दुःखको कारण छोडिन्छ । जान्नु नै योगाभ्यास हो । जानेपछि हातले छोड्न पर्दैन स्वतः छाडिन्छ । सुविधा मिल्ला कि भन्ने भ्रमले गर्दा दुःख पक्रिएको हुन्छ । भ्रम टुटेपछि ज्ञानबाट स्वतः छोडिन्छ । गुरुले सत्य देखाउँदैन, झुट देखाइदिन्छ । अहंकार नै दुःखको कारण हो । झुटो धारणा अहंकार हो ।

हामी सबै एउटै माटोले बनेका छौँ भन्ने सत्यमा अडिग रहनु योग हो । आफू र अरूमा दुःखको अन्तर देख्ने योगी हुन सक्दैन, होइन । सुख प्रदर्शन गर्दा अरू दुःखी बन्ने, अरूको सुख देखेर जल्ने र जितले पनि अरूलाई दुःखी बनाउने हुँदा सुख हिंस्रक हुन्छ । सुखपछि दुःख आइहाल्छ । सुखदुःख द्वेत हुन्, एउटा छ भने अर्को पनि सँगसँगै हुन्छ । गहिरो दुःखमा भएकालाई सुख चाहिन्छ । योगीले सुखदुःखलाई समभावले हेर्छ र माथि उठेको हुन्छ ।

योगी, वैरागी र सन्न्यासी भनेका घरपरिवार छोडेर गेरु वस्त्र धारण गरी सांसारिक व्यवहार नगर्ने मान्छे हुन् भन्ने कुरा झुटो हो । अहं आत्मामा प्रतिष्ठित गरेको व्यक्ति योगी हो । कामवासना, ईर्ष्या, द्वेष, मोह, आसक्ति, तृष्णाजस्ता रागरहित भएको व्यक्ति वैरागी हो । फलको आशा नराखी कर्म गर्ने सन्न्यासी हो । यी कुरा घरगृहस्थीमा रहनेलाई नै बढी जरुरी हुन्छ । आयआर्जन गर्नु गृहस्थीको मुख्य धर्म हो । सही कर्ममा डुब्नु नै ध्यान हो । गर्ने–गराउने सर्वेसर्वा मन हो । मन टुक्रिएर दुःख बढेको हुँदा योगले मन एकीकृत गराउँदै उद्यमशीलताको दिशामा एकाग्र बनाउँछ ।

यसका लागि सरकारले अध्यात्म र योगलाई पाठ्यक्रममा समेटी विद्यार्थीको पहुँचमा पुर्याउने र सबै नेपालीले अनिवार्य योग गर्नुपर्ने नीति तय गरी अनलाइनमार्फत घरमै बसेर योग साधना गर्ने बन्दोबस्त मिलाइदिए मात्र पुग्छ । नीतिगत प्रबन्धमा धेरै बजेट खर्चिनुनपर्ने र अन्य कुरामा छचल्किएर व्यवधान खडा गर्ने जनताको मन सदुपयोग भई वर्तमान सरकारको पालामा देशले काँचुली फेर्नेछ ।

See More On

सुझावित समाचार