काठमाडौं महानगरले अवैध संरचना भत्काउने काम दसैँँमा पनि नरोक्ने

आइतबार, १६ असोज, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले अवैध ढंगबाट निर्माण गरिएका भौतिक संरचना भत्काउने क्रमलाई दसैँका वेला पनि जारी राख्ने भएको छ । ६ भदौयता ५६ स्थानका एक सय ३५ संरचना भत्काइएको महानगरले दसैँको बिदामा पनि अवैध संरचना भत्काउने कामलाई निरन्तरता दिने महानगर प्रमुख बालेन्द्र साहले जानकारी दिएका छन्। 

कामपाले अवैध रूपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम नरोकिने भन्दै यसलाई दसैँँको समयमा पनि निरन्तरता दिने कामपा नगर प्रहरी निरीक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन् । ‘कानुनी रूपमा अवैध ठहर भएका सबै संरचना भत्काउने काम निरन्तर गरिनेछ । त्यसका लागि कामपाले नक्साअनुरूप वैध–अवैध यकिन गरिरहेको छ,’ उनले भने । 

अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधान हुनाका साथै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । हाल बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ । ती सबै किसिमका संरचनालाई कानुनी दायरामा ल्याउने तयारी छ । 
काठमाडौं महानगरपालिकाले अवैध रूपमा निर्माण भएका र निर्माण भएअनुरूप प्रयोजन नभएका संरचना भत्काउन थालेसँगै अन्य स्थानीय तहले पनि यसलाई कार्यान्वयन गर्न थालेका छन् । कीर्तिपुर नगरपालिकाले गत ९ भदौदेखि नक्साविपरीत निर्माण भएका संरचना भत्काउन थालिसकेको छ । सात दिनको सूचना सार्वजनिक गर्दा पनि नागरिकले आनाकानी गरेपछि अवैध रूपमा निर्माण भएका संरचना भत्काउन थालिएको कीर्तिपुर नगरपालिकाकी उपप्रमुख एवं प्रवक्ता शुभलक्ष्मी शाक्यले जानकारी दिइन् ।  

भक्तपुरको थिमी नगरपालिकाले पनि अवैध संरचना हटाउने काम सुरु गरिसकेको छ । काठमाडौं उपत्यकामा मात्रै होइन, उपत्यकाबाहिरका स्थानीय तहले पनि यसलाई बिस्तारै अनुसरण गर्न थालेका छन् ।

मेयर साहविरुद्ध नाराबाजी

काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीयले शनिबार साँझ प्रदर्शन गरेका छन् । स्थानीयले मसाल जुलुस निकाल्नुका साथै मेयर बालेन साहको पुत्ला पनि दहन गरेका छन् ।

महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन् । स्थानीयले डोजर आतंक बन्द गर, नेवाः एकता जिन्दावाद, नेवाः विरोधी होसियारजस्ता नारा लगाएका थिए । स्थानीयको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन सायमी पनि पुगेका थिए ।

सुझावित समाचार