कास्कीको पोखरा महानगरपालिका–६, लेकसाइडस्थित फेवातालमा फसेका सातजना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
असोज १७ गते साँझ अचानक आएको हावाहुरी र वर्षाका कारण चितवनबाट पोखरा घुम्न आएका सातजना सवार प्याडल बोट डुंगा बाँध्ने डोरीको जालोमा परेपछि तालमै अलपत्र परेका थिए।
घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट खटिएको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो।
यसैबिच, पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक पुरुषको शव सशस्त्र प्रहरीका गोताखोरले फेला पारेका छन्।
सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४, खसीबजार बस्दै आएका २५ वर्षीय नरेश विक असोज १७ गते साँझ बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहित विपत् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो।
खोजीका क्रममा गोताखोर टोलीले तालको करिब २५ फिट गहिराइबाट विकको शव फेला पारेको हो। शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
घटनाबारे सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका हुन्।