तीन लाख ३० हजार रुपैयाँ तिरेर राँगोको मार !

सोमबार, ६ कार्तिक, २०८०
डिजिटल संस्करण

नवमीको दिन बलि दिइने राँगो मार हान्ने व्यक्तिको मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाे छ

म्याग्दीका एक युवाले तीन लाख ३० हजार रुपैयाँ तिरेर विजयादशमीको नवमीका दिन राँगोको मार हानेका छन् । 

म्याग्दीको रघुगंगा गाउँपालिका– २ मा रहेको भगवती कोत मन्दिरमा प्रत्येक वर्ष नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न बोलकबोल हुने गरेको छ । यस वर्ष रघुगंगा– २ सिजलगाउँका एकेन्द्र भण्डारीले तीन लाख ३० हजार रुपैयाँ बुझाएर राँगोको मार हानेका छन् ।

आइतबार राति भएको खुला बढीबढाउमा भण्डारीले सबैभन्दा बढी बोलकबोल गरेका थिए । उनले कोत मन्दिरमा विधिपूर्वक पूजाआजा गरेपछि रागोको मार हानेका छन् ।

भण्डारीले आइतबार नै कबोल रकम भगवती कोतमन्दिर पूजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसकेका थिए । पूजा समितिले सरकारी राँगाको बढीबढाउ सुरुवाती मूल्य ६७ हजार रुपैयाँ राखेको थियो । सरकारी राँगो मार हानेका भण्डारीलाई पूजा समिति र स्थानीयवासीले अभिनन्दन गरेका छन् ।

यसअघि ०७९ को नवमीमा तीन लाख १५ हजार, ०७८ को नवमीमा तीन लाख, ०७६ मा दुई लाख ८० हजार रुपैयाँमा सरकारी मारको बढीबढाउ भएको थियो । 

नवमीको दिन बलि दिइने राँगो मार हान्ने व्यक्तिको मनोकांक्षा पूरा हुने जनविश्वासका रहेकाले पूजा व्यवस्थापन समितिले बोलकबोलबाट मार हान्ने व्यक्तिको छनोट गर्ने गरेको समितिका सचिव कृष्णबहादुर शाहीले जानकारी दिए ।

हरेक वर्ष सरकारी मार हान्न आकांक्षा राख्नेहरूको संख्या र बोलकबोल रकम बढ्दै गएको पूजा व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष थानबहादुर भण्डारीले बताए । 

तत्कालीन बाइसे–चौबिसे राज्यकालदेखि नै यहाँको कोत मन्दिरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरूले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ ।

See More On

सुझावित समाचार