सर्लाहीको बागमतीमा जंगली हात्ती मृत फेला

आइतबार, १८ असोज, २०८३
डिजिटल संस्करण

सर्लाही/आइतबार बिहान सर्लाहीको बागमती क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ । बागमती नगरपालिका–४, बरम बाबा सामुदायिक वन नजिकै स्थानीयको पर्वर खेतमा एउटा बयस्क जङ्गली हात्ती मृत फेला परेको हो । बिहान खेतमा पर्वर टिप्न पुगेका स्थानीयले बिच खेतका हात्ती मरेको फेला पारेका थिए । मध्यराति हात्ती कराएको आवाज सुनेको ठाउँमा मरेको अवस्थामा हात्ती फेला परेको सोही स्थानका स्थानीय समेत रहेका कार्यवाहक मेयर कृष्ण लामाले जानकारी दिए ।

मेयर लामाले उक्त स्थानमा राती हात्ती कराएको सुनिएको बताए । यहाँ हरेक वर्ष धान, मकै खेतीको सिजनमा चितवन र पर्सा निकुञ्जबाट जङ्गली हात्तीको बथान आउने गरेको र गए राती पनि त्यही होला भन्ने लागेको उनले बताए ।

उनले भने, ‘राती जाने कुरा पनि भएन हात्ती आएको ठाउँमा, बिहान त हात्ती मरिसकेको रहेछ।’ बिहानै हात्ती मरेको स्थानीय प्रहरी प्रशासन र वन कार्यालयलाई जानकारी गराइएको उनले बताए ।

घटनास्थल पुगेका सवडिभिजन वन कार्यालय मुर्तियाका प्रमुख सुवास योगीले अन्दाजी ३० देखी ३५ वर्षको बयस्क पोथी हात्ती मरेको फेला परेको बताए ।

हात्ति मृत्युको एकिन कारण नखुले पनि विषाक्त खानाका कारण हात्ती मरेको हुन सक्ने उनको आशंका छ । के कति कारणले हात्ती मरेको हो ? यकिन हुन त परीक्षण नै गर्नुपर्छ । उनले भने, 'घटनास्थलको प्रकृति र बाहिरी अवस्था हेर्दा हात्तीले विषाक्त खानेकुरा खाएको जस्तो देखिन्छ ।'

हात्ती मरेको स्थान आसपासमा खेत माडीएकाे र अन्दाधुन्द हिँडेको देखिएको छ । पीडामा छट्पट्टीएर हात्ती खेतमा रन्थनिएर दगुरेको स्थानीयको अनुमान छ । वन कार्यालयबाट पुगेका अधिकारीहरूले घटनास्थल र मृत हात्तीको मुचुल्काको काम गरिरहेको बताए । मुचुल्का प्रकृया पुरा गरी हात्तीको सद्गत गरिने सवडिभिजन मुर्तियाका प्रमुख योगीले जानकारी दिए ।

अहिले यहाँ मरेको हात्ती हेर्न स्थानीयको ठुलो भिड लागेको छ । केहीले मरेको हात्तीलाई फुल अक्षेता तथा धुपदीप गरेर श्रद्धाञ्जली अर्पण गरेका छन् । 
 

सुझावित समाचार