खाजा खान गएका विनोदको होटेल साहुबाटै हत्या

शुक्रबार, २९ बैशाख, २०८०
डिजिटल संस्करण
खाजा खान गएका विनोदको होटेल साहुबाटै हत्या

धादिङको गल्छी गाउँपालिका–८ का विनोद थापा मगर

चक्कुले जथाभावी प्रहार गरी लडाएपछि मोटरसाइकलले घाँटी र टाउको किचियो

धादिङको गल्छी गाउँपालिका–८ का विनोद थापा मगरको हत्यामा होटेल साहु नै संलग्न रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रले होटेलमा खाजा खान गएका २५ वर्षीय विनोदलाई सानदार होटेल एन्ड लजका निरज पण्डितले चक्कु प्रहार गरी ज्यान लिएको जानकारी दिए ।

‘बुधबार राति करिब १२ बजेतिरको घटना हो । ग्राहकको रूपमा होटेलमा आएका विनोद र होटेल सञ्चालकबीच सामान्य भनाभन भएपछि घटना भएको रहेछ । चक्कु प्रहार गरी घाइते बनेका मगरको उपचारका क्रममा ज्यान गएको हो,’ एसपी मिश्रले भने, ‘विनोदको हत्या गरेको आरोपमा निरज पण्डित पक्राउ परेका छन् ।’ निरजसँगै होटेल सञ्चालक सरस्वती पण्डित र होटेलमा रहेका अन्य चारजनालाई पनि नियन्त्रणमा लिइएको उनले बताए । हत्या सम्बन्धमा परिवारले उजुरी दिएपछि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।’ 

विनोदको हत्यापछि आक्रोशित पीडित पक्षले बिहीबार बिहान सानदार होटेलमा आगजनी गरेका थिए । ‘आन्दोलन गर्नेहरूले आगो लगाउँदा होटेलको एउटा कोठाको बिस्तरा जलेको छ । आगो नियन्त्रणमा लिई थप क्षति हुनबाट जोगायौँ । होटेल साहुकै गाडीमा तोडफोड भएको छ,’ मिश्रले भने ।

होटेलमा खाना खाएको पैसाका विषयमा सामान्य भनाभन भएको र त्यसले उग्र रूप लिँदा हत्याको घटना भएको विनोदसँगै गएका कमल थापा मगरले जानकारी दिए । ‘सानदार होटेलमा खाजा खान गएका थियौँ । खाजाको बिल ११ सय भएको रहेछ । १५ सय दिएर चार सय फिर्ता माग्दा होटेल साहुनी सरस्वती पण्डितले पहिलेको २३ सय बाँकी छ भनेर लफडा निकालिन्,’ कमलले भने, ‘विनोदले पहिलेको बाँकी छैन, छ भने खाता देखाउनू भन्दा छोरा बोलाउँछु, पख् तँलाई जानेको छु भनेर सरस्वतीले विनोदलाई हातपातसमेत गरिन् ।’

उनका अनुसार त्यतिवेलासम्म विनोदले होटेल साहुको छोरा निरज सँगै पढेको साथी हो, आएपछि कुरा गरौँ न, बाँकी भए तिरौँला भनेका थिए । ‘तर, निरज आउनेबित्तिकै मलाई हात हाल्यो र धकेलेर टेबलभन्दा पर पुर्‍याइदियो । अहिले म पनि घाइते छु । आमाले त्यो विनोद होइन, यो हो भनेर विनोदलाई देखाएपछि निरजले विनोदलाई करङ वरिपरि चक्कुले हान्यो,’ उनले भने । छुट्याउन जाँदा निरजले फेरि आफूलाई धकेलेर फालेको कमलले बताए । ‘निरजले विनोदलाई ढोकामा लगेर चक्कुले फेरि पेटमा हान्यो । दोस्रोपटकको चक्कु प्रहारबाट भने विनोद बेस्सरी घाइते बन्यो र रोडमा पछारियो । विनोदको खुट्टालगायत अंगमा मोटरसाइकल चढाएर घाँटी र टाउकोमा हान्यो । निरजबाट जसोतसो बचाएर उपचारका लागि गल्छीकै स्वास्थ्य संस्था हुँदै काठमाडौं ल्यायौँ । तर, विनोदलाई बचाउन सकिएन,’ उनले भने । 

See More On

सुझावित समाचार