व्यावसायिक विश्वास नबढेसम्म लगानीको वातावरण बन्दैन : अध्यक्ष अग्रवाल

शनिबार, १७ असोज, २०८३
डिजिटल संस्करण


बुटवल। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले लगानी र व्यवसाय विस्तारका लागि अहिले सबैभन्दा ठूलो आवश्यकता व्यावसायिक विश्वास (बिजनेस कन्फिडेन्स) निर्माण गर्नु रहेको बताएका छन्। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम उपलब्ध भए पनि व्यवसायीमा आत्मविश्वासको कमी हुँदा नयाँ लगानी र परियोजना विस्तार हुन नसकेको उनको भनाइ छ।

रुपन्देही व्यापार संघको २५औँ साधारणसभाको शनिबार बुटवलमा उद्घाटन गर्दै उनले लगानीको वातावरण निर्माणका लागि सरकारले नीति स्थिरता, सरल कर प्रशासन, पारदर्शी नियमन, छिटो सेवाप्रवाह र लगानी सुरक्षाको प्रत्याभूति तत्काल सुनिश्चित गर्नुपर्ने बताए।

बारम्बार हुने नीति तथा कर प्रणालीको परिवर्तनले दीर्घकालीन लगानी प्रभावित भइरहेको भन्दै उनले लगानीकर्तालाई ढुक्क हुने वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने बताए। ‘नीति, विधि र प्रवृत्ति’ तीनै पक्षमा एकैपटक सुधार नभएसम्म आर्थिक सुधारले अपेक्षित गति लिन नसक्ने उनको भनाइ थियो। कानुन बनाएर मात्रै नपुग्ने भन्दै उनले त्यसको कार्यान्वयन गर्ने सरकारी संयन्त्रको प्रवृत्तिमा समेत परिवर्तन आवश्यक रहेको बताए।

लुम्बिनीलाई पर्यटन र लगानीको केन्द्र बनाउन सकिने
अध्यक्ष अग्रवालले भगवान् बुद्धको जन्मस्थल लुम्बिनीलाई केवल पर्यटकीय गन्तव्यका रूपमा नभई विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने बताए। यसबाट स्थानीय अर्थतन्त्रमा ठूलो मूल्य अभिवृद्धि गर्न सकिने उनको भनाइ छ।

भारतसँगको सीमावर्ती व्यापारका कारण लुम्बिनी क्षेत्रलाई क्रसबोर्डर ट्रेड तथा लगानी हबका रूपमा विकास गर्ने सम्भावना रहेको उनले बताए। भैरहवा–बुटवल करिडोरलाई आधुनिक औद्योगिक तथा व्यापारिक करिडोरका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै उनले त्यसका लागि विद्यमान ऐन, कानुन र नीतिगत अवरोध हटाउनुपर्ने बताए।

रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले कोरोना महामारी र जेनजी आन्दोलनपछि उद्योगी–व्यवसायीले थप चुनौतीको सामना गर्नुपरेको बताए। बजारको सुस्तता, लगानीको असुरक्षा, उच्च भाडादर, दोहोरो कर, अस्थिर बैंक ब्याजदर, खुला सीमा तथा मुख्य बजार क्षेत्रमा सवारी पार्किङको समस्यालगायतका विभिन्न अवरोधका कारण व्यावसायिक गतिविधि प्रभावित भइरहेको उनले बताए।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकार सधैँ व्यवसायीको साथमा रहेको बताउँदै उद्योगी–व्यवसायीका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइन्।

संघका पूर्वअध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले पछिल्लो समय उद्योगी–व्यवसायीमा बढ्दै गएको निराशा चिर्न आवश्यक रहेको बताए।

संघका पूर्वअध्यक्ष मोतिलाल पाण्डेले संघको हितविपरीत कुनै गतिविधि हुन नदिन सबै एकजुट हुनुपर्ने धारणा राखे। संघलाई यहाँसम्म ल्याइपुर्याउन सबैको भूमिका रहेको उल्लेख गर्दै उनले पूर्वअध्यक्षको हैसियतमा आफू सधैँ संघको विकासमा प्रतिबद्ध रहने बताए।

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले सीमावर्ती नाकाबाट अवैध रूपमा कर छलीका सामान भित्रिँदा यहाँका उद्योगी–व्यवसायी वर्षौँदेखि समस्यामा रहेको बताए। भन्सारमा करको दर नघट्दासम्म यहाँका उद्योगी–व्यवसायीले भारतीय सीमावर्ती क्षेत्रका व्यवसायीसँग प्रतिस्पर्धा गर्न नसक्ने उनको धारणा थियो।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले स्थानीय सरकारले उद्योगी–व्यवसायीलाई संरक्षण र सहजीकरण गर्नुपर्नेमा विभिन्न बहानामा आतंकित पार्ने काम गरेको आरोप लगाए।

त्यस्तै, संघका महासचिव प्रकाशराज पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघले गरेका विभिन्न कार्यक्रम तथा आगामी योजनाबारे जानकारी गराए। उनका अनुसार हाल संघमा २ हजार ६ सयभन्दा बढी व्यवसायी आबद्ध छन्।

संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारी, प्रथम उपाध्यक्ष ऋषिराम पाण्डेलगायतले बदलिँदो समयसँगै नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्नुपर्नेमा जोड दिए। उनीहरूले संस्थागत सुशासन र व्यावसायिक वातावरण निर्माणका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे।

सुझावित समाचार