नेपाली आकाशबाट बाहिरिन थाल्यो मनसुन

सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीका पश्चिमी भूभागका धेरै ठाउँ र गण्डकीका पश्चिमी भूभागका थोरै  ठाउँबाट बाहिरियो मनसुन, केही दिनमै पूरै बाहिरिने

आइतबार, १८ असोज, २०८३
प्रिन्ट संस्करण

नेपाली आकाशबाट मनसुन बाहिरिन सुरु भएको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार शनिबार सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीका पश्चिमी भूभागका धेरै ठाउँ र गण्डकीका पश्चिमी भूभागका थोरै ठाउँबाट मनसुन बाहिरिएको हो । मनसुनी वायु कमजोर हुँदै गएकाले केही दिनमा पूरै बाहिरिने आकलन रहेको मौसमविद् सञ्जीव अधिकारीले बताए । ‘मनसुन बाहिरिँदैमा पानी पर्न रोकिने होइन । पश्चिमी वायुका कारण पनि पानी पर्छ,’ अधिकारीले भने ।

नेपालमा सामान्यतया १३ जुनमा मनसुन भित्रिन्छ भने २ अक्टोबरमा बाहिरिन्छ । यसपटक सरदर मिति नाघिसक्दा पनि मनसुन बाहिरिसकेको छैन, पश्चिमी भूभागबाट मात्र बाहिरिएको छ । यस वर्ष मनसुन सरदरभन्दा ६ दिन ढिलो भित्रिएको थियो ।

पश्चिमी वायु सक्रिय, तर ठुलो पानी पर्ने सम्भावना छैन
नेपालमा मनसुनी वायु कमजोर हुनुका साथै बाहिरिन थालेसँगै पश्चिमी वायु सक्रिय हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै भूभाग, गण्डकी र लुम्बिनीका पश्चिमी भूभागमा पश्चिमी वायु सक्रिय छ । कोशी, मधेश, बागमतीका सबै भूभाग र गण्डकी र लुम्बिनीका पूर्वी भूभागमा भने मनसुनी वायुको आंशिक प्रभाव छ ।

मौसमविद् निष्ठा निरौलाले समग्रमा बिहीबारसम्म ठुलो पानी पर्ने सम्भावना नरहेको, तर हल्कादेखि मध्यम वर्षा भने हुने बताइन् । वर्षा देशभर नभई ठाउँविशेषमा हुने देखिन्छ ।

दिउँसो न्यानो रहे पनि साँझबिहान भने चिसो रहने उनले बताइन् । यद्यपि, छिनछिनमा मौसममा फेरबदल हुने भएकाले पूर्वानुमानको आधिकारिक जानकारी लिन विभागले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार आइतबार कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षाको आकलन छ ।

सोमबार कोशी, बागमती, गण्डकी तथा लुम्बिनीका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । यसबाहेक अन्य पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको आकलन छ भने सबै तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

See More On

सुझावित समाचार