स्क्रब टाइफसको ‘हटस्पट’ दार्मामा आठजनाको मृत्यु, विज्ञ टोलीद्वारा अध्ययन

आइतबार, १८ असोज, २०८३
प्रिन्ट संस्करण

सल्यान- स्क्रब टाइफसको हटस्पटका रूपमा रहेको सल्यानको दार्मा गाउँपालिकामा मात्र आठजनाको मृत्यु भएको छ । साउन दोस्रो हप्ताबाट फैलिएको स्क्रब टाइफसबाट दार्मामा आठ र छत्रेश्वरीमा एक गरी सल्यानमा नौजनाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

असारको अन्तिमसातातिर ज्वरोका बिरामीको चाप बढेको र साउनको दोस्रो साता टाइफस संक्रमणको चेकजाँच गर्दा स्क्रब टाइफस पुष्टि भएको दार्मा गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक यज्ञबहादुर बस्नेतले बताए ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी प्रकाश भट्टका अनुसार जिल्लामा आइतबारसम्म ४६१ महिला र १३२ पुरुष गरी ५९३ जनामा संक्रमण पुष्टि भएको छ । रोग नियन्त्रण महाशाखा टेकु र कर्णाली प्रदेशको विज्ञ टोली बुधबार दार्मा पुगेको थियो ।

रोग नियन्त्रण महाशाखा टेकुबाट तीनजना विज्ञ र कर्णाली प्रदेशबाट ल्याब टेक्नेसियनसहितको तीन गरी ६ जनाको टोली दार्मामा पुगी भौगोलिक अवस्था तथा टाइफस फैलिनुका कारणबारे अनुसन्धान  गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले बताए ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार दार्मा, कपुरकोट, कुमाख, छत्रेश्वरी, कालीमाटी, बागचौर र बनगाड कुपिन्डे सबै पालिकामा संक्रमण देखिएको छ । संक्रमणको अध्ययन तथा संक्रमितको उपचारका लागि इडिसिडीबाट डा. हेमराज पाण्डेको नेतृत्वमा तीनजना सरुवा रोग विशेषज्ञ र अन्य तीनजना प्राविधिकको टोली सल्यान पुगेको थियो ।  

सुझावित समाचार