मौसम परिवर्तनमा देखिन्छन् यस्ता रोग

बिहिबार, ३० भदौ, २०७९
डिजिटल संस्करण

डाक्टरको सुझाव

शेरबहादुर पुन सरुवा रोग विशेषज्ञ (शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु)

फ्लुले गलाउँछ 

मौसम परिवर्तनको समय धेरैमा देखिने सरुवा रोगमध्ये फ्लु एक हो । यसमा पहिले ज्वरो आउने र खोकी लाग्ने हुन्छ । त्यसपछि टाउको दुख्ने, जिउ कटकट खाने, घाँटी खसखस गर्नेजस्ता लक्षण देखिन्छन् । कसैको नाकबाट पानी बग्ने पनि हुन्छ । यो रोग प्रायः अगस्ट–सेप्टेम्बरमा नै फैलने गर्छ । कतिपयलाई फ्लु भएपछि आफैँ निको भएर जान्छ । तर, कतिपय अवस्थामा यसले अन्य जटिलता पनि निम्त्याउन सक्छ । जस्तो, निमोनियाकै कारक बनिदिन पनि सक्छ । मास्क लगाउने, साबुनपानीले हात धुने, हाछ्ँयु गर्दा अथवा खोक्दा  रुमाल प्रयोग गर्ने । रुमाल नभए हातको बाहुलाले छोपेर हाछ्युँ गर्दा पनि हुन्छ । 

कोल्ड डायरिया 
योचाहिँ विशेषगरी बच्चामा देखिन्छ । हामी जाडोयाममा जाँदै गर्दा धेरै बच्चामा झाडापखाला लाग्न सक्छ । यस रोग निम्तिनुका कारण धेरै भए पनि मुख्य कारण रोटा भाइरस हो । पाँच वर्षमुनिका बालबालिकामा झाडापखालाबाट मृत्यु गराउने मुख्य कारकमध्ये यो रोग एक हो । यसबाट बच्ने उपाय भनेको बालबालिकालाई रोटा भाइरसको खोप लगाइदिने हो । 

नेपालमा बालखोप कार्यक्रमअन्तर्गत अहिले यसको खोप समावेश छ । खोप नहुँदा यो रोग विगतमा प्रकोपका रूपमा फैलिने गरेको थियो । 

नोरो भाइरस 
यो बिस्तारै जाडो महिना लाग्दै गर्दा देखिने रोग हो । योचाहिँ वयस्कमा बढी देखिन्छ । सामूहिक भोज खाँदा वाकवाकी लाग्ने, बान्ता हुनेलगायत समस्या देखिन्छ ।  यसबाट बच्न स्वस्थ र राम्रोसँग पकाएको खानेकुरा मात्रै खाने, व्यक्तिगत सरसफाइमा जोड दिने गर्नुपर्छ ।

स्क्रब टाइफस 
स्क्रब टाइफस मुख्यतः असार–साउनमा देखिन्छ । तर, अझै पनि यो रोगको जोखिम कम भइसकेको छैन । यो माइट नामक किर्नाको टोकाइबाट सर्ने रोग हो । माइट किर्ना झाडी र घाँसमा बस्ने भएकाले पनि वर्षात् र हरियाली नसकिएको यो याममा जोखिम रहन्छ । त्यस्तै, माइट किरा मुसामा बस्ने र मुसा हिँडिरहँदा घरका कोठामा खस्ने हुन सक्छ । त्यसैले घरमा मुसा आउने वातावरण सिर्जना हुन दिनुहुँदैन । 

घरको सरसफाइ गर्नुपर्छ । बच्नका लागि लुगा पूरै बाहुला भएको लगाउने, भुइँमा र घाँसमा बस्दा पनि लुगा बिछ्याएर बस्ने गर्नुपर्छ । यो रोग लागेमा उच्च ज्वरो आउने, कसैको शरीरमा रातो–रातो दाना देखिने, टाउको अति नै दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, आँखाको सेतो भाग रातो हुनेलगायत समस्या देखिन्छन् ।

सतर्कताका उपाय

डा. विमल शर्मा चालिसे प्रमुख कन्सलटेन्ट फिजिसियन(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु)

अहिले वर्षाको समय छ । गर्मीबाट हामी बिस्तारै जाडोयामतर्फ जाँदै छौँ । चिसो सुरु हुने वेलामा भाइरसको सक्रियता बढ्न थाल्ने भएकाले पनि संक्रमण धेरै फैलिन्छ । मानिसमा चिसो लाग्ने, रुघाखोकी, सामान्य ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने, शरीर दुख्नेलगायत समस्या देखिन्छन् । 

- जाडोयाम सुरु हुने वेलामा पनि कतिपयले गर्मीकै जस्तो रहनसहन र खानपिन गरिरहेका हुन्छन् । मौसम परिवर्तन हुने यो समय चिसोबाट जोगिनुपर्छ । न्यानो कपडा लगाउने, चिसो चिज नखाने, मनतातो खाने गर्नुपर्छ । 

- रोगअनुसारको भ्याक्सिन नियमित लगाइरहेका व्यक्तिले उक्त कार्यलाई निरन्तरता दिनुपर्छ । 

- बालबालिका, वृद्धवृद्धा, दीर्घरोगको औषधि सेवन गरिरहेका, दमका रोगी, गर्भवती महिलालाई रोग लाग्ने सम्भावना बढी हुन्छ । उनीहरू सतर्क बस्नुपर्छ । 

- कुनै पनि समस्या तथा रोगका लक्षण देखिएमा तुरुन्तै चिकित्सकसँग परामर्श लिने ।

सुझावित समाचार