पछिल्लो समय बुटिकमा गएर डिजाइनअनुसारका कपडा अर्डर गर्नेको संख्या बढ्दै गएको छ । बुटिकमा सबैखाले उमेर समूहका ग्राहक आउने गरे पनि विशेष गरी युवतीहरूको संख्या ठूलो हुने गरेको बुटिक सञ्चालकहरू बताउँछन् । बजारमा धेरै प्रकारका रेडिमेड कपडा पसल उपलब्ध हुँदाहुँदै किन जाने त बुटिक ?
कायरा बुटिककी सञ्चालक रोजिना श्रेष्ठ भन्छिन्, ‘बुटिकमा तयार गरिने कपडा र रेडिमेडमा फरक हुन्छ । जो मान्छेलाई फेसनेबल कपडा लगाउने रहर हुन्छ, उसलाई बुटिक राम्रो माध्यम हुन सक्छ, किनकि यहाँ फेसन डिजाइनर बसेको हुन्छ । उसले मानिसको हाइट, मोटाइ, शरीरिक डिजाइन सबै हेरेर उसैको रोजाइअनुसारको कपडा तयार गर्छ ।’
आफ्नो बुटिकमा प्रायजसो फेसन कन्सस ग्राहकहरू आउने गरेको उनको अनुुभव छ । ‘केही बढी खर्च गरेर भए पनि राम्रो डिजाइनको लगाउनुपर्छ भन्नेहरू बुटिकमा आउने हो,’ उनले भनिन्, ‘मैले बुटिक सञ्चालन गरेको ११ वर्ष भयो । कायरा बुटिक एउटा ब्रान्ड भइसकेको छ । प्रायः मेरोमा आउनेमध्ये क्वालिटीमा कम्प्रमाइज नगर्ने ग्राहकहरू हुनुहुन्छ ।’
डिजाइनअनुसार कपडामा लाग्ने खर्च फरक हुने उनले बताइन् । ‘मेरोमा कुर्ता–सुरुवाल १० हजारमाथि र लेहेंगा १५ हजारमाथिका उपलब्ध छन् । डिजाइन र त्यसमा लाग्ने मिहिनेत हेरेर फरक–फरक मूल्य पर्ने गरेको छ । हामी ग्राहकको चाहना हेरेर मिडियम र हाई रेन्जका डिजाइन गर्छौं ।’
फेसन डिजाइनर रोविन परियारले काठमाडौंको शान्तिनगरमा रोबिन क्रिएसन सञ्चालन गरिरहेका छन् । नेपालीहरू पछिल्लो समय फेसन कन्सस हुन थालेको उनको अनुुभव छ । ‘पहिले–पहिले युवापुस्ता मात्रै आउँथे । अहिले पनि ठूलो संख्या त युवतीकै छ, तर अन्य उमेर समूहका मानिस आउने क्रम पनि बढेको छ,’ उनले भने, ‘विशेष गरी चाडपर्व र बिहे–व्रतबन्धमा मानिसहरूको भीड हुन्छ । पुरुषले विवाहमा दौरा–सुरुवाल, कुर्ता र कोटको अर्डर धेरै गर्छन् भने महिलाले सारी, लेहेंगा, गाउन, वनपिस, टप्स, कुर्तालगायत अर्डर गर्ने गरेका छन् ।’ त्यस्तै, बच्चाका लागि पास्नी तथा व्रतबन्धमा पनि विशेष कपडाको अर्डर आउने गरेको उनले बताए ।
कलर कम्बिनेसनमहत्वपूर्ण
‘बुटिकमा कपडा सिलाउँदा महँगो पर्न जान्छ भन्ने छाप पनि कतिपयमा छ, तर खासमा त्यस्तो होइन,’ रोबिनले भने, ‘बुटिकमा पनि आफूलाई राम्रो लाग्ने डिजाइनका कपडा मिडियम रेन्जमै तयार गर्न सकिन्छ । बाहिर किन्दाभन्दा थोरै महँगो पर्ला, तर स्टाइलिस हुन्छ ।’
कलर कम्बिनेसन मिलाएर लगाउँदा साधारण कपडामा पनि महिलालाई सुन्दर देखिने रोजिना बताउँछिन् । ‘महँगो लगाउँदैमा राम्रो देखिन्छ भन्ने विश्वास म गर्दिनँ । ठिक्क रेन्जका डिजाइन पनि हामी बनाउँछौँ । कलर कम्बिनेसन र फिनिसिङले ठिक्क रेन्जको कपडामा पनि मानिसलाई स्मार्ट देखाउँछ,’ उनले भनिन् ।
यसकारण बुटिक
- बजारमा उपलब्ध रेडिमेड कपडाको साइज सबैलाई फिट नहुन सक्छ । कतिको शरीर दुब्लो हुन्छ, कतिको पातलो । कतिलाई टाइट लगाउन मन पर्छ त कतिलाई खुकुलो । त्यसैले फिटिङ कपडा लगाउन चाहनेले बुटिक रोज्छन् ।
- आफूलाई मन परेका डिजाइनका क्याटलग लिएर पनि बुटिक पुग्न सकिन्छ । र, आफ्नो चाहनाअनुसार म्याच गर्ने कलर छनोट गरी ड्रेस तयार पार्न सकिन्छ ।
- बुटिकमा आफ्नो बजेटअुनसार नै ड्रेस तयार पार्न सकिन्छ । कम रकम हुनेहरूका लागि मिडियम र राम्रै चाहनेका लागि त्यही प्रकृतिको ड्रेस बनाउन सकिन्छ ।
- डिजाइनबारे अलमलमा परेका ग्राहकलाई बुटिकमा रहेका डिजाइनरले कस्तोखाले कपडा म्याच गर्छ भनेर सुुझाव पनि दिन्छन् ।