बर्खाको समयमा मानिसलाई टाढाको गन्तव्य घुमघाम गर्न कठिन हुन्छ । यस्तो वेला घुमफिर गर्ने भनेकै नजिकको गन्तव्यमा हो । काठमाडौं बस्नेहरू नजिकै रहेका ठाउँ जान सक्छन् । जस्तो– चिसापानी, घ्याम्पेडाँडा, शिवपुरी राष्ट्रिय निकुञ्ज, नगरकोट, धुलिखेल, झोरजस्ता गन्तव्य उपयुक्त हुन सक्छन् ।
नगरकोट : उचाइमा रहेको यो ठाउँ पहाडी–हिमाली दृश्य हेर्न र सूर्योदय हेर्नका लागि उपयुक्त छ । काठमाडौंबाट झन्डै २० किलोमिटर दूरीमा यहाँ पुग्न सकिन्छ । भक्तपुर दरबार स्क्वायर, सिद्धपोखरी, मुहान पोखरीलगायत क्षेत्रको यात्रा गर्दै यहाँ पुग्न सकिन्छ । कतिपय पर्यटक चाँगुनारायणबाट हाइकिङ गर्दै नगरकोट जान्छन् ।
चन्द्रागिरि हिल्स : चन्द्रागिरिको उचाइबाट काठमाडौं नियाल्नुको मज्जा बेग्लै छ । केबलकार सञ्चालन हुने भएकाले यहाँ बिहान पुगेर बेलुकी फर्कन
अप्ठ्यारो छैन । यहाँको मौसम सधैँ शीतल हुन्छ ।
चोभार : भिडभाड र गर्मी छल्न कतिपय मानिस चोभार जाने गरेका छन् । कीर्तिपुर दरबार तथा टौदह चोभारआसपासका अन्य घुम्नलायक गन्तव्य हुन् । अलि टाढा जाने हो दक्षिणकाली पनि पुग्न सकिन्छ ।
सुन्दरीजल : काठमाडौंनजिकको अर्को गन्तव्य सुन्दरीजल हो । १७ किलोमिटर यात्रापछि पुग्न सकिने यस क्षेत्रमा शिवपुरी राष्ट्रिय निकुञ्जको स्वच्छ हावासँगै बागमती नदीको कञ्चन पानी बग्छ । विभिन्न चराचुरुंगी हेर्दै यहाँको सुन्दरता अवलोकन गर्नुको मज्जा बेग्लै छ । यद्यपि, विगतमा धेरै दुर्घटना निम्तिएकाले यहाँ पौडी खेल्न निषेध गरिएको छ ।
झोर : बिहान गएर बेलुकी फर्कन मिल्ने अर्को गन्तव्य झोर पनि हो । वर्षामा यहाँको झरनामा नुहाउनुको मज्जा बेग्लै छ ।
घ्याम्पेडाँडा : बिहान गएर बेलुकी फर्कन सकिने अर्को ठाउँ भक्तपुरकै घ्याम्पेडाँडा हो । यहाँस्थित पाइलट बाबा आश्रम धार्मिक पर्यटकहरूको रोजाइमा पनि पर्छ । डोलेश्वरनाथको मन्दिर पनि यस क्षेत्रआसपास नै पर्छ ।
चिसापानी : एक रात वास बस्ने हो भने शिवपुरी राष्ट्रिय निकुञ्जको चिसापानी भ्रमण राम्रो हुन्छ । सुन्दरीजलबाट केही घन्टा हिँडेर यहाँ पुग्न सकिन्छ । यात्राका क्रममा तपाईंले ठाउँ–ठाउँमा पानीका मुहान र खोला देख्नुहुन्छ । कहिलेकाहीँ जंगली जनावर पनि भेटिन्छन् । त्यसैले यो यात्रा एक्लै नभएर समूहमा गर्नु उचित हुन्छ । चिसापानी पुगेर एक रात बिताएर भोलिपल्ट फर्कंदा रमाइलै हुन्छ ।
चित्लाङ : अर्को नजिकको गन्तव्य चित्लाङ हो । यहाँ पनि उत्कृष्ट रिसोर्टहरू उपलब्ध छन् । हिउँदमा काठमाडौंबाट निकै छोटो समयमै थानकोट हुँदै चित्लाङ पुग्न सकिन्छ । वर्षामा बाटो बिग्रने भएकाले पर्यटकहरू दक्षिणकाली, मार्खु हुँदै चित्लाङ पुगेर एक रात वास बसेर फर्कने गर्छन् । मार्खुमा बोटिङ गर्नुको मज्जा बेग्लै छ ।
त्रिशूली वा सुकुटे : दुई दिनको यात्राका लागि त्रिशूली वा सुकुटे नदीसपास पनि जान सकिन्छ । बर्खाको समयमा खोलाको आवाज सुनेर छुट्टै आनन्द लिन सकिन्छ । रिभरसाइडमा सुरक्षित स्विमिङ पुलहरू पनि सञ्चालनमा छन् ।
धुलिखेल : यहाँबाट विभिन्न हिमशृंखलाहरू अवलोकन गर्न सकिन्छ भने वास बस्नका लागि सुविधासम्पन्न होटेलहरू छन् ।
एग्रो टुरिजम : पर्यटन व्यवसायीहरू वर्षात्को समयमा एग्रो टुरिजमको प्रवद्र्धन गर्न सकिने बताउँछन् । काठमाडौंनजिकका ककनी, भक्तपुरलगायतका ठाउँका खेतीयोग्य जमिनमा कृषि क्षेत्रमा चासो राख्नेहरूलाई घुमाउन सकिन्छ । पानी कम पर्ने, ग्रिनरी, नेचुरल वाटर फल देख्न नपाइने दुबईजस्ता मध्यपूर्वी देशका पर्यटकहरू वर्षायाममा परिवारसहित नेपाल आउने गरेका छन् । उनीहरू यहाँका फाँट, झरना र रिभरसाइडमा डुल्न मन पराउँछन् ।
नेपालमा बाह्रै महिना घुम्न सकिन्छ : राजन सिम्खडा पर्यटन व्यवसायी
नेपालको पर्यटन क्षेत्रमा करिब ३० वर्षअघि नारा बनाइएको थियो– ‘नेपाल फर अल सिजन’ । नेपालमा ट्राभल गर्न नमिल्ने कुनै पनि महिना छैन । किनभने, हरेक महिनाजस्तो फेस्टिभल छ, हामीसँग । त्यसमा विभिन्न खानाका परिकारहरू पाक्छन् । ‘नेपाल इज वल्र्ड अफ इथ ओन’ पनि भनिएको छ । हाम्रो आफ्नै संसार छ ।
जस्तो– उपल्लो डोल्पातिर गयो भने दुबईजस्तो मरुभूमिको फिल हुन्छ । पोखरा, चितवनतिर मलेसिया, बालीतिर गएजस्तो फिल हुन्छ । अब अलिकति माथितिर हिमाली क्षेत्रमा गयो भने स्विट्जरल्यान्डभन्दा राम्रा ठाउँहरू छन् ।
जस्तो– रारा, ‘सो प्रिटी एन्ड बिउटिफुल’ । वर्षाको समय यात्रा गर्दा देखिने ग्रिनरी, झरना, हरियाली फाँटहरूको ‘भ्यु’ अन्य समय देख्न पाइँदैन । त्यसैले हरेक सिजनको आफ्नो विशेषता छ ।
यद्यपि, बर्खामा घुम्न निकँस्दा केही कुरा ध्यानमा राख्नुपर्छ । जस्तो, मौसमको अवस्था, बाटोघाटोको अवस्था, स्वास्थ्यको अवस्था हेरेर जानुपर्छ । वर्षायाममा कतिपय कुरामा ध्यान दिनुपर्ने हुन्छ । जस्तो, कतिपय ठाउँमा जुका लाग्न सक्छ, बगेको पानी सीधै खाँदा समस्या हुन सक्छ । पहिरो–बाढी आदिले सडक अवरुद्ध भयो भने यात्रा केही लम्बिन सक्छ ।