चोलेन्द्रको बयान– बार पदाधिकारीले न्यायाधीशमा भाग र मुद्दामा स्वार्थ देखाएका थिए

बुधबार, १५ भदौ, २०७९
डिजिटल संस्करण

निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बार एसाेसिएसनका पदाधिकारीहरूले आफूसँग न्यायाधीशको कोटा माग गरेका बताएका छन्। महाभियोग सिफारिस समितिमा बयानका क्रममा जबराले आफ्नो चेम्बरमै आएर न्यायाधीश बनाउन भाग खोजिएको र मुद्दामा स्वार्थ देखाइएको दाबी गरेका हुन्।

नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेलले न्यायाधीश माग गरेका तथा सर्वोच्च अदालत बार एसोसिएसनका बहालवाला अध्यक्ष पूर्णमान शाक्यले मुद्दामा स्वार्थ देखाएकाे उनले बताए। यी विषयमा आफू असहमत हुँदा बार एसोसिएसन आन्दोलनमा उत्रिएको उनको दाबी छ। वरिष्ठ अधिवक्ता शम्भु थापाले अन्तर्वार्तामै आफूहरूबाट न्यायाधीशहरूले घुस लिने गरेको बताएका प्रसंग उल्लेख गर्दै जबराले यसलाई कसरी बुझ्ने भनी प्रश्न गरे।

यस्तो छ चोलेन्द्रको बयानकाे अंश :
नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेलले न्यायाधीश माग गर्नुभएको थियो। चण्डेश्वरले मेरो चेम्बरमै आएर माग्नुभएको थियो। बहालवाला सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले पनि मुद्दामा स्वार्थ देखाएका थिए। वरिष्ठ अधिवक्ता चण्डेश्वर, अधिवक्ता लीलामणिले न्यायाधीश माग गर्नुभयो, पूर्णमान शाक्यको पनि मुद्दामा स्वार्थ थियो। मैले नमानेपछि आन्दोलन गरे। यो विषय बोल्दा पनि हुने, नबोल्दा पनि नहुने ? म आरोपित मात्र भएर बस्नुपर्ने ? वरिष्ठ अधिवक्ता शम्भु थापाले त अन्तर्वार्तामै हामी न्यायाधीशलाई घुस खुवाउँछौँ, न्यायाधीश घुस खान्छन् भनेर भन्नुभयो। यसलाई कसरी बुझ्ने ? जनताले के बुझ्ने ?

सुझावित समाचार