दीर्घरोगीले तिजमा के खाने, के नखाने ?

शुक्रबार, १० भदौ, २०७९
डिजिटल संस्करण

पोषणविद्को सुझाव

दिदीबहिनीहरूलाई अहिले तिजको दर खान भ्याइनभ्याई छ । पहिले गाउँमा दरको खिर, सेलरोटीजस्ता खाद्य पदार्थ खाने चलन थियो । अहिले विभिन्न परिकार बाहिरबाट ल्याउने चलन छ । माछा, मासु, लड्डु, पेय पदार्थहरूसँगै कतिपयले मदिरा पनि प्रयोग गर्ने गरेका छन् । 

अहिले पार्टी प्यालेसमा गएर दर खाने, रमाइलो गर्ने चलन बढेको छ । सकेसम्म घरमा पकाएका खाना खाएर रमाइलो गर्दा हुन्छ । दीर्घरोगीहरूलाई तेलमा तारेको र गुलियो खानेकुराले असर गर्छ । हामीले दरका परिकार कति ताजा र शुद्ध छ भन्ने कुरा पनि ध्यान दिनुपर्छ । बजारमा धेरैपटक प्रयोग भएका तेलमा परिकार बनाउने चलन छ । मिठाई, खुवाहरूसमेत बासी सडेगलेको तथा मिसावटयुक्त हुन सक्छ । यस्ता खाद्यान्न खरिद गर्दा ध्यान दिनुपर्छ । दीर्घरोगीले दर खाँदा अझै विशेष ध्यान दिनुपर्छ । 

उच्च रक्तचाप 
उच्च रक्तचाप भएका बिरामीले दरका परिकार खाँदा रातो मासु खानै हुँदैन । मासु खानै मन लागेमा सेतो मासु खानुपर्छ । माछा पनि तेलमा तारेको चिल्लो छ भने खान हुँदैन । अहिले दरमा मादक पदार्थ पनि खाने चलन छ । तर, उच्च रक्तचाप भएकाले मादक पदार्थ खानुहुँदैन, बरु फलफूलको जुस मिलाएर खायो भने राम्रो हुन्छ । त्यस्तै, गेडागुडी, सागसब्जीले पनि उच्च रक्तचाप भएका बिरामीलाई राम्रो गर्छ । 

मुटुका बिरामी 
बोसोयुक्त चिल्लो पदार्थ तथा तेलमा पकाएका खानेकुरा मुटुका बिरामीका लागि हानिकारक छ । धेरै चिल्लो र हाई सुगर भएको, पेय पदार्थ र मिठाई खानुहुँदैन । सिजनेबल फलफूल खाने, अम्बा, स्याउ खाने लोकल फलफूल गेडागुडी खाने गर्नुपर्छ । सागपात खायो भने राम्रो हुन्छ । ग्यास्टिक, अल्सरका बिरामीका लागि पनि बढी चिल्लोयुक्त दर हानिकारक छ । 

मिर्गाैलाका बिरामी 
नुन, दुग्धजन्य पदार्थ (चिज, बटर, घिउ), हरियो सागसब्जी कम खानुपर्छ । किनकि, सागसब्जीमा अक्जालेट र दुग्धजन्य पदार्थमा क्याल्सियम अत्यधिक हुन्छ । माछा, मासु, गेडागुडी सन्तुलित रूपमा कमभन्दा कम लिनुपर्छ । 

मधुमेहका बिरामी
शरीरमा गएर ग्लुकोजको रूपमा परिणत हुने खानेकुरा मधुमेह (सुगर)का बिरामीले खान हुँदैन । धेरै गुलियो हुने फलफूल पनि खान हुँदैन । घिउ, चिनी मिसाएको खानेकुरा त झन् सुगर भएका मान्छेले बन्दै गर्नुपर्छ । बजारमा आएका लड्डु, पेडाजस्ता मिठाईयुक्त खानेकुरा झुक्किएर पनि खान हुँदैन । गुलियो नहुने फलफूल, गेडागुडी, सागसब्जी खाँदा सुगरका रोगीलाई फाइदा गर्छ । दर खान जाँदा सुगरका रोगीले चिनी नहालेका खाने कुरा खाँदा अझ राम्रो हुन्छ । 

कोलेस्ट्रोलका बिरामी 
कोलेस्ट्रोल भएका बिरामीले पनि दरका परिकार खाँदा ध्यान पु¥याउनैपर्छ । दर खाँदा सलाद, हरियो सागसब्जी, फलफूल र पानी प्रशस्त खानुपर्छ । चिल्लो पदार्थ खानुहुँदैन । 

युरिक एसिडका बिरामी 
उहाँहरूले अमिलो गेडागुडी, जाँडरक्सी, रातो मासु कम खानुपर्छ । खाँदैनखाने होइन । मिलाएर खानुपर्छ । युरिक एसिड भएपछि खानैहुँदैन भन्ने होइन । टमाटर, चिल्लो कम गर्नुपर्छ । 

सुझावित समाचार