मनोविद्को सुझाव
बालबच्चामा ग्याजेटको लत हाम्रो समाजको गम्भीर समस्या बनिसकेको छ । धेरै बच्चा घन्टौँसम्म मोबाइल वा कम्प्युटरमा बसेर गेम वा एप्लिकेसन खेलिरहेका हुन्छन् । उनीहरूले सामाजिक हुन बिर्सिदिन्छन् र भर्चुअल दुनियाँमा आफ्नो खुसी खोज्न थाल्छन् । बालबालिका मात्रै नभएर कतिपय वयस्कमा पनि यस्तो समस्या देखिएको छ । सामान्यतया जसको घरमा आमा–बुबा धेरै मोबाइल चलाउँछन्, उनीहरूका बच्चाले पनि धेरै मोबाइल चलाउने गरेको पाइएको छ । बच्चालाई स्याहार गर्ने र हुर्काउने विषयमा अभिभावकलाई पर्याप्त जानकारी नहुँदा वा उनीहरूसँग बच्चासँग बिताउने पर्याप्त समय नहुँदा यस्तो समस्या देखिने गरेको छ ।
लत विकास हुने कारण
धेरैजसो बालबालिकामा सानैदेखि यस्तो लत विकास भएको देखिन्छ । यसमा उनीहरूका अभिभावक नै दोषी छन् । बच्चाहरू चञ्चले हुन्छन् र धेरै किचकिच गरिरहन्छन् । प्रश्न सोधिरहन्छन्, विभिन्न कुरा माग्छन् र हैरान पार्छन् ।
उनीहरूका यस्ता गतिविधि झेल्नुभन्दा बरु मोबाइल वा ल्यापटप दिएपछि त्यही चलाएर शान्त बस्छ भन्ने कतिपय कतिपय बाबु–आमाको सोच हुन्छ ।
किनकि, उनीहरू पनि आफ्नै काममा व्यस्त भएका हुन्छन् । तर, कालान्तरमा मोबाइल वा ल्यापटप चलाउने बानी बच्चामा लतका रूपमा विकास हुन्छ र समस्या सिर्जना हुन्छ ।
बच्चाले भनेका कुरालाई आमा–बाबुले टार्न सक्दैनन् । त्यसैले बच्चाले हाँसेर, फकाएर, जसरी भए पनि मोबाइल वा ल्यापटप लिन्छ र गेमिङ वा अन्य एप्लिकेसन खेल्न थाल्छ ।
टिनएजमा गइसकेपछि बच्चाको यस्तो स्वभाव थप बढिसकेको हुन्छ र उसले विभिन्न बहाना बनाएर मोबाइल चलाएरै मात्र बस्छ । बच्चामा लागिसकेको स्वभावलाई टिनएजमा पुगेर हटाउन पनि गाह्रो हुन्छ, किनकि यतिवेला मोबाइल नचलाई बस्न नसक्ने अवस्थामा बच्चा पुगिसकेको हुन्छ ।
बच्चालाई मोबाइल होइन, अभिभावकको खाँचो हुन्छ । मोबाइलका भरमा छाडेर हुँदैन, बरु आफ्नो काम छाडेर भए पनि उसका लागि समय दिनुपर्छ ।
उमेर समूहअनुसार लत
कुनै विशेष गेमलाई मात्रै हामीले दोष दिएर पनि हुन्न । आजकल स्न्याप च्याट, इन्स्टा वा अन्य सामाजिक सञ्जालमा रमाउने बच्चाहरूको संख्या पनि ठूलो छ । साना बच्चाहरू युट्युब वा टिकटक बढी चलाउँछन् ।
२० वर्ष पार गरेकाहरूले ट्विटर, फेसबुक, टिन्डर, डेटिङ एप्सहरू चलाउने गरेको देखिन्छ । यसरी उमेर समूहअनुसार लत बनेको देखिन्छ । जेसुकै भए पनि यी कुराले बालबालिकाको सामाजिक जीवन विकास हुन नदिने, उनीहरूलाई समाजका गतिविधिबाट टाढा राख्ने र भर्चुअल दुनियाँमा रमाउने लत बसाल्ने गर्छ ।
समाधानका उपाय
- बच्चालाई मोबाइल वा ग्याजेट हेर्न दिएर आफ्नो काममा लाग्ने अभिभावकले के बुझ्नुपर्यो भने सानैदेखि बानी लाग्दा पछि झनै बढ्छ । बच्चालाई मोबाइल होइन, अभिभावकको खाँचो हुन्छ । मोबाइलको भरमा छाडेर हुँदैन, बरु आफ्नो काम छाडेर भए पनि उसका लागि समय दिनुपर्छ ।
- बच्चालाई सानैदेखि खेलाउने गर्नुपर्छ । विभिन्न इनडोर तथा आउटडोर गेमहरू खेलाउने र उनीहरूसँगै खेल्ने गर्नुपर्छ । बाहिर खेल्न पठाउने गर्नुपर्छ । मोबाइल स्टप नै गर्न नसकिए पनि निश्चित समय तोकेर थोरै बेर मात्र चलाउन दिनुपर्छ ।
- बच्चाले मोबाइलमा के चलाउँछ भन्ने पनि नियाल्नुपर्छ । भर्चुअल गेमहरू आफू पनि खेल्न हुँदैन र बच्चालाई पनि खेल्न दिन हुँदैन । कतिपय अवस्थामा बाबुआमाले खेलेको देखेरै बच्चाले पनि भर्चुअल गेम खेल्ने बानी विकास गरेको हुन्छ ।
- विद्यालयमा पनि यसबारे सचेतना क्लास दिनुपर्छ । अर्कोतर्फ, लकडाउनका कारण हाम्रा धेरै विद्यालयले अनलाइन शिक्षा सुरु गरे । अहिले अनलाइनमा पढाउनकै लागि धेरै अभिभावक आफ्ना बालबच्चालाई मोबाइल, ल्यापटप वा अन्य ग्याजेट किनिदिन बाध्य छन् । बच्चाले अनलाइन क्लास सकिएपछि त्यही ग्याजेटमा विभिन्न गेम खेल्ने र एप्लिकेसनहरू चलाउने गरेको पनि पाइएको छ । बालबच्चाले स्कुल समयबाहेक बाँकी समय किन ग्याजेट चलाउँछन् र कुन काममा प्रयोग गर्छन् भन्नेबारे विद्यालय र अभिभावकले ध्यान पुर्याउनुपर्ने देखिन्छ ।
असर के–के हुन्छ ?
- कुनै पनि कुरालाई राम्रोसँग ह्यान्डल गर्न सक्दैन । संयोजन कला कम भएर जान्छ ।
- मानिसहरूसँग मित्रता गर्न सक्दैन । सहकार्यको भावना कम भएर जान्छ । साथीभाइसँग पनि कम बोल्ने हुन्छ ।
- स्कुल तथा अन्य काममा परफर्मेन्स स्लो हुने, झर्को लाग्ने, आफूभन्दा ठूलाले भनेको नसुन्नेलगायत समस्या देखिन सक्छन् ।
- कतिपयमा खानामा पनि रुचि नहुने समस्या देखिन्छ । जसकारण उनीहरू हतारहतारमा जंकफुड खान्छन् ।
- धेरैजनामा निद्रा बिग्रने समस्या देखिएको छ ।